६ चैत्र २०८० मंगलबार
समाज

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

इटहरी- ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका रुपन्देही बुटबलका मीनबहादुर गुरुङ दुई वर्षदेखि बिरामी छन्। पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भोगिरहेका मीनबहादुरको हातखुट्टा गल्ने गर्छ। त्यसपछि उनी सिकिस्त हुन्छन्।

केही दिनअघि मात्र कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गरेर फर्किएका मीनबहादुर औषधि सेवन गरिरहेका छन्। औषधि सेवन गरिरहे पनि कुनै सुधार आएको छैन।

उनीजस्तै, सुनसरी धरान पाँच कन्याका तीर्थ तामाङ पनि क्षेत्रीय कारागारमै कैद सजाय भोगिरहेका छन्। ३३ वर्षीय तीर्थ क्षयरोगी हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेर दुई महिनाका लागि औषधि लिएर फर्किएका छन्। 'अब दुई महिनापछि फेरि उपचारका लागि जानुपर्छ,' उनले भने, 'त्यति बेलासम्म केही हदसम्म सुधार भए त राम्रो हुने थियो।'

पूर्वाञ्चल क्षेत्रीय कारागारमा एकपछि अर्को बिरामीको संख्या बढ्दो  छ। कर्तव्य ज्यान मुद्दामै कैद सजाय भोगिरहेका धनकुटा डाँडाबजारका कालीबहादुर याक्खा हातखुट्टा पोल्ने समस्याबाट पीडित छन्। थुप्रैपटक उपचार गर्न गइसके। सञ्चो भएको छैन। 'जतिपटक उपचार गर्न गए पनि सञ्चो हुँदैन। सहन नसक्ने गरी हातखुट्टा पोल्छ,' उनले भने।

कारागारको ब्लक नम्बर १ र २ गरी पाँच सयभन्दा बढी बिरामी छन्। जसमध्ये उच्च रक्तचापका ३६ र मधुमेहका ३० बढी गम्भीर बिरामी रहेको जेलर गणेश अधिकारीले बताए। उनका अनुसार एकजना एचआइभी/एड्सका रोगी र अर्का हेपटाइटिस सीका रोगी पनि सिकिस्त छन्। यस्तै, ४५ जना मानसिक रोगीमध्ये केही सिकिस्त छन्।

पूर्वाञ्चलको सबैभन्दा बढी क्षमताको कारागार भएकाले दुर्गम स्थानबाट झुम्कामा  कैदी स्थानान्तरण भएर आउने गर्छन्।

'दुर्गम स्थानबाटै गम्भीर बिरामीलाई उपचार गराउनकै लागि स्थानान्तरण गरेर ल्याउने गरिएको छ,' जेलर अधिकारीले भने, 'त्यसैले यहाँ आउनेको संख्या बढिरहेको पनि छ। गम्भीर बिरामीलाई उपचार खर्च अभावमा आइसियुमा राख्न सकिएको छैन।'

उनका अनुुसार गम्भीर बिरामीलाई आइसियुमा राख्न सिफारिस गर्दा खर्चले नसक्ने जनाउँदै फर्काइने गरिएको छ। क्षेत्रीय कारागारका लागि वार्षिक १४ लाख हाराहारी बजेट निकासा हुने गरेको छ। यही खर्चबाट प्रहरी र कर्मचारीलाई प्रोत्साहन भत्ता पनि दिनुपर्दा समस्या छ।

 कारागार प्रशासनले कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा कैदीबन्दीको उपचारका लागि वार्षिक एक करोड बजेट निकासा गर्नुपर्ने वा सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ। त्यसरी माग गरेपछि क्षेत्रीय कारागारबाट गम्भीर खालका ११ बिरामीलाई पनि काठमाडौं स्थानान्तरण गरिएको छ।

बिरामी बढिरहँदा अस्पतालसम्म पुर्‍याउन सवारीसाधनको समेत अभाव छ। एउटा पिकअप भ्यान चौबिसै घन्टा हाइअर्लटमा राखिने गरिएको छ। देशका विभिन्न अदालतले भनेका बेला त्यही गाडीमार्फत कैदीबन्दीलाई उपस्थिति गराउनुपर्दा समस्या बेर्होनुपरेको छ। क्षेत्रीय कारागारको ब्लक नम्बर १ र २ मा गरी अहिले एक हजार पाँच सय ५० कैदीबन्दी छन्। 

चार वर्षअघि १२ कैदीबन्दी सुरुङ खनेर भागेयता उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

६ महिनामा १२ को मृत्यु

क्षेत्रीय कारागारमा बिरामी बढी हुँदा ६ महिना अवधिमा १२ कैदीबन्दीको मृत्यु भइसकेको छ।

साउनदेखि पुस मसान्तसम्म ब्लक नम्बर १ का आठ र ब्लक– २ का चार कैदीबन्दीको मृत्यु भएको हो। जेल प्रशासनका अनुसार मृत्यु हुनेमा ब्लक– १ अन्तर्गत धनकुटा महाभारतका सर्वजित खत्री, सर्लाही बलराका रामसेवक सहनी र सुनसरी बक्लौरीका वीरेन्द्रकुमार राई छन्। त्यस्तै, नवलपरासी दाउन्नेदेवीका धनबहादुर सार्की, संखुवासभा मत्स्यपोखरीका कमलबहादुर गुरुङ, सुनसरी श्रीपुरका इद्रिस मिया र सर्लाही अत्रौलीका बम्बहादुर सुनुवारको मृत्यु भएको छ। ब्लक– २ अन्तर्गत धनुषाका रामलखन दास तत्मा, सप्तरी राजविराजका राजु यादव, भारत सीतामढीका अहमद हुसेन लहेरी र इस्माइल नादफको मृत्यु भएको छ।

प्रकाशित: ४ माघ २०७३ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App