८ वैशाख २०८१ शनिबार
समाज

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

बाँस र जस्ताबाट निर्मित टहरामा पढ्दै भवानी माविका विद्यार्थी । चिसोका कारण सबै विद्यार्थी नआउँदा कक्षाकोठा रित्तोरित्तो छ । तस्बिरः रूबी राैनियार

नुवाकोट (ककनी)– माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् । चिसो सहन नसकेपछि विद्यार्थीले बाहिर घाममा पढाउन शिक्षक शिक्षिकालाई अनुरोध गर्छन् । तर, बाहिर बस्ने ठाउँ पनि छैन । शिक्षिका लक्ष्मी खरेलले भनिन्, ‘भुइँचालोपछि स्कुलको घाम ताप्ने ठाउँमा टहरा बनाइयो । अब त बाहिर बसेर घाम ताप्ने ठाउँ पनि छैन ।’ खरेलले चिसो बढेदेखि विद्यार्थी कक्षाकोठामै कामेर निलो हुँदा आफूले बोकेर समेत बाहिर निकाल्नुपरेको अनुभव सुनाइन् ।

सरकारले १९औं भूकम्प दिवस मनाइरहँदा भूकम्पले क्षतिग्रस्त ८ हजार विद्यालयका विद्यार्थी चिसोले बिजोग अवस्थाका कक्षाकोठामा पढ्न बाध्य छन्

सामान्य अवस्थामा कक्षा १ देखि ५ सम्म साढे दुई सय विद्यार्थीले खचाखच हुनेमा चिसो बढ्दै गएपछि मुस्किलले ४–५ विद्यार्थीमात्र कक्षामा हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामाले बताए ।
नौ सय विद्यार्थी अध्ययन गर्ने यो स्कुललाई सरकारले बेवास्ता गरेपछि अध्यक्ष लामाले पहल गरी गत असारतिर शिक्षा फाउन्डेसनको सहयोगमा बाँस र जस्ताको टहरो बन्यो । ‘अब त्यो टहरा पनि भत्केर जस्ताबाट शीत चुहिन्छ,’ अध्यक्ष लामाले नागरिकसँग भने, ‘हाम्रा जिल्लाका विद्यालय निरीक्षक र स्रोत व्यक्ति मिटिङ, गोष्ठीमै व्यस्त छन् ।’ उनले थपे, ‘राजधानीमा भूकम्प दिवास मनाइरहँदा हाम्रा विद्यार्थी कक्षाकोठाभित्रै चिसोले थर्र कामेर पढ्नुपरेको छ ।’ उनका अनुसार स्कुल स्थापना भएको ५७ वर्षको कुनै पनि जिल्ला शिक्षा अधिकारी टेकेका छैनन् ।
समस्या भवानी माविको मात्र होइन, राजधानीमा आइतबार सरकारले १९औं भूकम्प दिवस मनाइरहँदा भूकम्पले क्षति भएका ३१ जिल्लाका ८ हजार विद्यालयका विद्यार्थी चिसोले बिजोग अवस्थाका कक्षाकोठामा पढ्न बाध्य छन् ।
शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक एमनारायण श्रेष्ठले भूकम्पबाट प्रभावित ३१ जिल्लाका ८ हजार विद्यालय पूर्ण क्षति भएको जनाए । हालसम्म ४ सय स्कुलका कक्षाकोठा मात्र पुनर्निर्माण गर्न सकिएको उनले बताए । ‘भूकम्पले पूर्ण क्षति भएका ७ हजार ९ सय २३ विद्यालयमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ३ सय र शिक्षा विभागले सय गरी ४ सय विद्यालय पुनर्निर्माण भएका छन् ।’ उनले थपे, ‘सरकारी र गैरसरकारी संस्थाले चार हजार स्कुल बनाइदिने प्रतिबद्धता जनाएका छन् ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार बाँकी विद्यालय पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब रुपैयाँ आवश्यक छ । बजेट जुटाउन मुस्किल परेको श्रेष्ठले बताए । ‘गत वर्ष असारमा भएको दाता सम्मेलनमा पुनर्निर्माणका लागि ४ खर्ब दिने समझारी सरकार र दाताबीच भएको थियो,’ श्रेष्ठले नागरिकसँग भने, ‘हालसम्म सरकारले साढे तीन खर्ब प्राप्त गरिसकेको छ । सबै क्षेत्रको पुनर्निर्माण सक्न ९ खर्ब आवश्यक छ ।’ सरकारले निजी आवास पुनर्निर्माण पहिलो र शिक्षा क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखेकाले क्षति भएका स्कुल पुनर्निर्माण कार्य सम्पन्न गर्न स्रोत जुटाउने एकाइलाई चुनौती थपिएको उनको भनाइ छ । यस्तै अवस्था हो भने क्षति भएका सबै विद्यालय भवन पाँच वर्षभित्र बनाउने सरकारी लक्ष्य पूरा गर्न नसकिने उनले बताए ।
क्याप्सन
 

प्रकाशित: ३ माघ २०७३ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App