७ वैशाख २०८१ शुक्रबार
समाज

घर बनाउन इन्जिनियर खटाइँदै

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तीव्र बनाउन इन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने भएको छ। प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कार्यकारी समितिको बैठकले एकमहिने पुनर्निर्माण अभियानअन्तर्गत स्वयंसेवकका रुपमा सिभिल इन्जिनिरिङका विद्यार्थी खटाउने निर्णय गरेको हो। अभियानमा विभिन्न विश्वविद्यालय अन्तर्गत इन्जिनिरिङ संकायका कलेजमा सिभिल इन्जिनियरिङ अन्तिम वर्षका विद्यार्थी खटिनेछन्।

पुनर्निर्माण अभियान आगामी माघ २१ देखि फागुन २० सम्म चल्ने प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए। उनका अनुसार कार्यकारी समितिले विद्यार्थीलाई खटाउने व्यवस्था मिलाउन विश्वविद्यालयलाई निर्देशन दिन कुलपतिसमेत रहेका प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गर्नेछ।

भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा अगाडि बढेकामा चिन्ता व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आगामी वर्षाअघि धेरैजसो पीडितको घर निर्माण गर्नुपर्ने र निर्माणको प्रक्रियामा नरहेकालाई पनि घर बनाउने माहोल बनाउनेतर्फ लाग्न माताहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

कार्यकारी समितिले एकीकृत नमुना बस्ती विकास गर्न पुनर्निर्माणमा जागरण अभियान चलाउने, स्थानीय जनसहभागिता जुटाउने, स्वयंसेवक परिचालन गर्ने, समाज एकीकरण गर्ने, प्रचारप्रसार गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्ने कार्यमा सहकार्य गर्न धुर्मुस सुन्तली फाउन्डेसनजस्ता गैरनाफामूलक सामाजिक संस्थाबाट सहकार्य गर्न प्रस्ताव प्राप्त गर्ने, आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुसार रेट्रोफिटिङको लाभग्राहीको सूचीमा परेकाहरुको विश्लेषण गरी रकम वितरण अगाडि बढाउने, गुनासो व्यवस्थापन गर्नेलगायत निर्णय पनि गरेको छ।

प्रकाशित: २९ पुस २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App