coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आहा! वसन्तपुरको 'मट्की चाय'

काठमाडौं- राजधानीको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा अचेल बढी भिडभाड देखिन्छ। यो भिड भूकम्पले भत्किएको निर्माणाधीन दरबार स्क्वायर हेर्न आउनेको भने होइन। कारण हो– यहाँ हालै सञ्चालनमा आएको 'जिवाई चाय पसल'।

पसलमा पाइने चियाको खास विशेषता हो– माटाको कप। भक्तपुरमा विशेष अर्डर गरी मगाइएका क्ले आकारका माटोका कपमा कलकत्ताको स्वादमा चिया सर्भ गरिन्छ यहाँ जसको ब्रान्डिङ 'मट्की चाय' का नामले गरिएको छ।

नयाँ किसिमको चियाको स्वादले यो पसल अहिले सहरमा ह्याङआउटको नयाँ स्पट बनिरहेको छ। जाडोयाममा माटोको कपमा मुखैमा बस्ने स्वादको 'चाय' जिवाई पसलको आकर्षण हो। त्यसमाथि पसलमा बजिरहने संगीत ग्राहक तान्ने माध्यम छँदै छ।

ग्राहक खुसी भएर आफूले चिया पिएको कपमै राम्रा प्रतिक्रिया लेखेर जान्छन्, साहुजी इनयात शाह त्यसलाई सिलिङमा सजाएर राख्छन्। यसले ग्राहक र पसल सञ्चालकबीच एउटै परिवारका सदस्यजस्तो भावनात्मक सम्बन्ध बढाउँछ।

असनकी प्रियंका श्रेष्ठ कमलपोखरीबाट बिहान कलेज सकिनासाथ 'चाय' पिउन साथी सुजिताका साथ जिवाई पुगिन्। प्रायः साथीसँग महँगो कफी सपमा कफी पिउने उनीहरु जिवाईको चियाको स्वाद लिएपछि नियमित त्यहीँ आउने गरेका हुन्।

'साथीहरुसाथ संगीतमय वातावरणमा माटोको कपमा चायको चुस्की लिँदा मनै शान्त हुन्छ,' २० वर्षीया प्रियंकाले नागरिकसँग भनिन्, 'माटोको भाँडोमा चिया पिउँदा   स्वास्थ्य राम्रो हुने भनिन्छ।'

पर्यटकीय क्षेत्र वसन्तपुर वरिपरि निकै लोकप्रिय 'ब्रान्डेड' कफी  सप छन् तर जिवाईको पसलमा भिड लागिरहन्छ। यसको अर्काे कारण सस्तोमा परम्परागत स्वादिलो कलकत्ते स्वादको 'चाय' नै हो।

'चायको स्वाद नै नयाँ छ,' कपमा सुजिताले लेखेको सुनाइन्, 'मैले कपमा बेस्ट चाय, न्यु ट्रेन्ड लेखिदिएँ। पसलेले सिलिङमा सजाउनुभयो,' उनले थपिन्, 'यसले   एकै परिवारझंै भावनात्मक सम्बन्ध गाँसिँदो रहेछ।'

सिलिङमा सजाइएका जुठो कपमा ग्राहकले विभिन्न प्रतिक्रिया लेखेका छन्– 'अ कप अफ टी चेन्ज अ डे', 'बेस्ट टी इन टाउन', 'बेस्ट चाय', 'गुड हेल्थ' ...।

जिवाई पसलमै 'चाय' का साथ 'ड्रिप कफी' पनि छ। पसलका प्रज्ज्वल खड्का अनुसार कफीभन्दा चिया पिउन आउने नै बढी छन्। स्वदेशी मात्र होइन, विदेशी पर्यटक पनि छेउकै ब्रान्डेड कफी सप छाडेर कुनातिरको जिवाई पसल पुग्छन्।

चिनियाँ नागरिक जु नेपेङ दुई सातादेखि नियमित 'चाय' पिउन जिवाई आइरहेका छन्। नेपेङ  चाइनिज इन्भेस्टिगेसन ग्रुप मेम्बर हुन् जुन समूह दरबार स्क्वायर वसन्तपुरको भूकम्पबाट क्षति भएको दरबार पुनर्निर्माणमा संलग्न छ।

'चाइनामा पनि माटोको भाँडोमा चिया पाइन्छ,' नेपेङ ले भने, 'तर पिउँदा खल्लो लाग्छ,' उनले अनुभव  सुनाए, 'जिवाईको जस्तो चायको स्वाद मैले जीवनमै लिएको थिइनँ।  त्यसैले दिनको तीन/चार पटकसम्म आउँछु।'

जिवाईका संस्थापक इनयात शाहले कलकत्ताको स्वादिलो 'मट्की चाय' को स्वाद नेपालमा ल्याएको जानकारी दिए। आफूले कलकत्तामा यो स्वाद मन परेकाले यहाँ 'चाय' पसल खोलेको पनि बताए। प्रतिकप ५० रुपैयाँ पर्ने यो चिया दिनहुँ साढे २ सय कप बिक्री हुने गरेको शाहले जनाए। 'भक्तपुरका सहदेव दाइले हाम्रो पसलका लागि विशेष क्ले कप बनाउनुहुन्छ,' इनयातले भने, 'सुरुका दिनमा कप व्यवस्थापन गर्न समस्या भए पनि पसल स्थापनाको एक महिनाको दौरानमा सबै मिल्यो।'  स्वदेशकै  चिया प्रयोग गरेर कलकत्ता स्वाद दिएको उनले सुनाए।

प्रकाशित: २२ पुस २०७३ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App