७ वैशाख २०८१ शुक्रबार
समाज

तीन ठाउँमा मौसम मापक राडर

काठमाडौं- मौसम पूर्वनुमानलाई भरपर्दो र विश्वासिलो बनाउन अत्याधुनिक प्रविधिको मौसममापक राडर स्टेशन स्थापना कार्य अगाडि बढाइएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा पहिलोपटक मौसममापक राडर स्टेशन स्थापन गर्न लागेको हो।

अहिले नेपालमा भइरहेको मौसम पूर्वानुमान विश्वासिलो छैन्। भरपर्दो मौसम पूर्वानुमानमा समस्या भइरहेका बेला राडर स्टेशन स्थापना गर्ने कार्य अघि बढाइएको हो। तुरुन्तै मौसमको जानकारी दिने भएकाले यस्तो राडरलाई 'नाउ कास्टिङ' पनि भन्ने गरिन्छ।

‘राडरमार्फत गरिएको पूर्वानुमान अहिले भइरहेको भन्दा बढी विश्वासिलो हुन्छ,’ विभागका महानिर्देशक डा. ऋषिराम शर्माले भने, ‘तुरुन्तै मौसमको जानकारी आवश्यक परेको खण्डमा पनि राडरबाट सजिलै लिन सकिन्छ।’ उनका अनुसार राडरले माइक्रो बेवको ३६० डिग्री कोणमा २ सय किलोमिटर टाढासम्म तंरग फ्याँक्छ। यसरी फ्याँकेका तंरग बादलमा ठोकिएर फर्किन्छन्। फर्किएका तंरग कति टाढा, के मा अड्किएर फर्किए, वायुको चाप कस्तो छ भनेर कम्प्युटरमा तथ्यांक आउने र सोही तथ्यांक आधारमा विश्लेष्ण गरी पूर्वानुमान गरिन्छ। यस्तो पूर्वानुमान विकसित देशमा भइरहेको अभ्यासमध्येे बढी प्रचलित हो। राडरमार्फत प्राप्त तथ्यांक आधारमा कहाँ, कतिबेला र कति पानी पर्छ भनेर समेत ठ्याक्कै पूर्वानुमान गर्न सकिने मौसमविद् मणिरत्न शाक्यले बताए।

राडरको स्टेसन सुर्खेत, पाल्पा र उदयपुर राखिने निश्चित भएको विभागले जनायो। पाल्पा र उदयपुरमा केही ढिला भए पनि सुर्खेतको स्टेसन भने अर्को आर्थिक वर्षसम्म सञ्चालन आउने छ। ‘सुर्खेतको रातानाङ्ला डाँडामा राखिने स्टेसन निर्माण प्रक्रिया अघि बढिसकेको छ,’ महानिर्देशक डा. शर्माले भने, ‘अर्को आर्थिक वर्षसम्म उक्त स्टेसन सञ्चालनमा आउनेछ।’  उनका अनुसार पाल्पा र उदयपुरमा पनि सन् २०१८ सम्म निर्माण कार्य सम्पन्न हुनेगरी काम अघि बढिरहेको छ।

एउटा राडर स्टेसन स्थापना गर्न १५ देखि २० करोड रुपैयाँसम्म खर्च लाग्छ। सुर्खेतमा राडर स्थापनाका लागि विश्व बैंकले अनुदान र ऋणमा  रकम उपलब्ध गराएको छ। बाँकी दुईवटा स्टेसनका लागि भने नेपाल सरकारले बजेट विनियोजन गरेको विभागले जनायो।

स्टेसन सञ्चालनमा आएपछि मौसम पूर्वानुमान बढी विश्वासिलो हुने विभागको दाबी छ। स्टेशन सञ्चालन आएसँगै मौसमको अवस्था थाहा नभएर हुने हवाईजहाज दुर्घटनामा कमी आउने विभागले बतायो। त्यस्तै सम्भावित बाढी, पहिरोबाट बच्न पूर्वसतर्कता अपनाउन सहयोग मिल्नेछ। ‘स्टेसन सञ्चालनपछि मौसम पूर्वानुमान धेरै विश्वासिलो हुनेछ,’ शर्माले भने, ‘सबैभन्दा सकारात्मक पक्ष भने मौसमका कारणले हुने हवाईजहाज दुर्घटनमा शून्य हुनेछ।’ मौसमका कारण आधा बाटोमा गएर उडान फर्काउनुपर्ने बाध्यता पनि आउने छैन।

यस्तो राडर बढी वैज्ञानिक मानिन्छ। राडर सञ्चालनमा आएपछि हवाई उडानसँगै कृषि, पर्यटन, जलस्रोत,  यातायातलगायत क्षेत्रमा मौसमको सूचना लिन सहयोग पुग्नेछ।

त्यसैगरी विभागले मौसमलाई विश्वासिलो बनाउन अन्य अभ्यास पनि थप्ने कार्य अघि बढाएको छ। विभिन्न देशमा भइरहेका अभ्यासमध्ये बेलुन उडाएर गरिने मौसम पूर्वानुमान नेपालमा पनि सुरुवात गर्न कार्य अगाडि बढाइएको छ। त्यस्तै अहिले मौसम पूर्वानुमान ३ दिनको मात्रै हुन्छ। अब ५ दिनसम्मको पूर्वानुमान गर्नेगरी कार्य भइरहेको विभागले जनायो।

 

प्रकाशित: २२ पुस २०७३ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App