७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणगढ मुग्लिन सडकमा यसरी भइरहेको छ काम (फोटो फिचर)

नारायणगढ मुग्लिन सडक खण्डमा डोजरले पहाड काट्दै। तस्बिर: रमेशकुमार पाैडेल

 चितवन–राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ मुग्लिन सडक खण्ड मंगलबारबाट साढे चार घण्टा बन्द हुने भएको छ। बिहान साढे १० बजेबाट दिउँसो तीन बजेसम्म बाटोमा सबै खालका गाडी चल्न रोक लगाएर के काम हुन्छ त ? यसरी गाडी रोकेर पहाडै पन्छाउने काम भइरहेको छ।

मुग्लिन नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा रहेको पहाड र काली खोला नजिकको अर्को ढिस्को फोर्न बाटो बन्दै गर्नुको विकल्प नरहेको अधिकारीहरु बताउँछन् । लगभग ५० मिटरभन्दा अग्लो पहाडको चुचुरोमा पुगेर दुईवटा मेशिनले पहाड काट्ने काम गर्छन्। उनीहरुले काट्न थाल्दा धुलो मात्रै उड्दैन ठूला ठूला ढुंगाहरु सडकमै बजारिन आउँछन् ।

त्यसैले पहाड काट्ने बेलामा बिरामी बोकेका एम्बुलेन्स बाहेक सवै खालका गाडीहरु चल्न बन्देज लाग्ने छ। मंगलबारबाट मोटरसाइकलसमेत चल्न रोकिएको छ । काम हुने बेलामा ओहर दोहर गर्नु सुरक्षाका दृष्टिले पनि उचित नहुने भन्दै विशिष्ट व्यक्तिका गाडीसमेत सो बेलामा रोकिने छन्।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ। दुई वर्षभित्र निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिल महिनामा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर भूकम्प, नाकाबन्दी लगायतका कारण देखाउँदै सो समय थप गरेर सन् २०१७ को सेप्टेम्बरसम्म निर्माण सक्ने लक्ष्य राखिएको छ। तर पनि काम निकै सुस्त हुने गरेको छ।

नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवका अनुसार अहिलेसम्म ५० प्रतिशत काम पूरा हुनु पर्नेमा जम्मा ३४ प्रतिशत मात्रै सम्पन्न भएको छ ।  सो सडक ३६ किलो मिटर लामो छ । त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ । सो दूरी पार गर्न अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ। आउँदो चैत्रभित्र पहाड काट्ने काम सकिए निर्माण सहज हुने ठेकेदारहरुले बताएका छन्।

प्रकाशित: १९ पुस २०७३ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App