१६ चैत्र २०८० शुक्रबार
समाज

धरानमा विमानस्थल निर्माण प्रक्रिया पुनः सुरु

प्रस्तावित धरान १७, डाँडाघोपास्थित विमानस्थलकाे जग्गा ।

धरान–नगरबासी र उपमहानगरपालिकाले उच्च प्राथमिकता दिएपनि एक दशकदेखि थाँती रहेको धरान १७ डाँडाघोपास्थित धरान विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ। सरकारले विमानस्थल निर्माणकालागि दुई करोड बजेट विनियोजन गरेपछि नागरिक उड्यान प्राधिकारणले प्राथमिकता दिँदै प्रक्रिया अघि बढाएको हो।

यसअघि ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने क्षमताको स्टल विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो।अब भने एटिआर ४२ सम्मको विमान उडान र अवतरणका लागि एयरपोर्ट बनाउन अध्ययन सुरु हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा नेपाल सरकारले धरान विमानस्थलकालागि दुई शीर्षकमा बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये डिटेल सर्वे गर्न ५० लाख हो भने विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)लगायत अन्य आवश्यक निर्माणको काम गर्न डेढ करोड रुपैयाँ विनियोजन भएको हो।

प्राधिकरणले इआइएकालागि तालुक मन्त्रालयमा ‘टिओआर एण्ड स्कोपिङ डकुमेन्ट’ पेश गरिसकेको छ भने डिटेल सर्वेको काम चाँडै सुरु गरिने प्राधिकरणको एरोड्रोम इञ्जिनियरिङ विभागका इञ्जिनियर पुष्पराज न्यौपानेले जानकारी दिए। ‘इआइएकालागि मन्त्रालयमा टिओआर एण्ड स्कुपिङको डकुमेन्ट पेश भइसकेको छ, त्यो स्वीकृत भएपछि इआइएको काम सुरु हुन्छ’, विमानस्थलबारे उपमहानगरसँग छलफल गर्न धरान आएका इञ्जिनियर न्यौपानेले भने, ‘इआइएका लागि मन्त्रालयको स्वीकृत पर्खिनु परेपनि डिटेल सर्वेको काम चाँडै सुरु हुन्छ।’

करिब ५ वर्षअघि पनि धरानको विमानस्थल निर्माणका लागि डिटेल इञ्जिनियरिङ सर्वे भएको थियो। उक्त सर्वे ट्विनअटर जस्ता साना विमान उडान र अवतरणको क्षमता भएको विमानस्थलकालागि थियो। तर, अहिले स्थानीयस्तरबाट नै ठूलो क्षमताको विमानस्थलको माग भएको र त्यो भविष्यकालागि पनि उपयोगी तथा लाभदायी हुने भएकोले पुनः डिटेल सर्वे गरिन लागेको प्राधिकरणको भनाइ छ।

‘यहाँ जग्गा उपलब्ध हुन्छ, ठूलो क्षमताको विमान चल्न सक्यो भने जनतालाई सस्तो पनि हुने भएकोले भविष्यका लागि लाभदायी पनि हुन्छ’, इञ्जिनियर न्यौपानेले भने, ‘प्राधिकरण सकरात्मक छ, र प्रक्रिया पनि अघि बढिरहेकै छ। धरानबासीले धैर्यता राख्नुपर्छ ।’ यसअघिको सर्वेमा ७ सय ५० मिटर लम्बाई र २३ मिटर चौडाईको रनवे थियो। यसमा १६, १७ जना यात्रु बोक्ने क्षमताको ट्विनअटर विमान मात्र उडान र अवतरण हुनसक्छ । अब भने कम्तीमा ४२ जना यात्रु क्षमता भएको एटिआर ४२ विमान उडान र अवतरण गर्नसक्ने क्षमताको विमानस्थल बनाउन सर्वे हुन लागेको हो ।

यसअघिको सर्वेबाट ट्विनअटरकालागि १९ विघा जग्गा आवश्यक भएको देखिएको थियो भने ठूला जहाजकालागि कम्तीमा ४० विघा जमिन आवश्यक पर्नेछ। त्यसकालागि कम्तीमा १२ मिटर लम्बाई र ३० मिटर चौडाईको रनवे चाहिन्छ।

प्राधिकरणले विमानस्थल निर्माणका प्रक्रियालाई प्राथमिकता दिएसँगै उपमहानगरपालिकाले पनि सूचना अधिकृत भक्तिराज शर्मालाई एयरपोर्ट योजनाको सम्पर्क व्यक्ति तोकेको छ भने प्राविधिकतर्फ इञ्जिनियर देशकुमार राईलाई जिम्मेवारी दिइएको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । ‘विमानस्थल धरानको विकासको प्रमुख खुट्किलो हुन्छ भन्ने ठानेर प्राथमिकता दिएका छाैं।

प्राधिकरणले पनि विमानस्थल बनाउन बाधक छैनौं, साधक नै हुन्छौं भनेकोले आशावादी छौं’–उनले भने, ‘परिषद सकेपछि स्थानीय जनता, जग्गावालाहरुसँग सार्वजनिक सुनुवाई पनि गछौं ।’ उपमहानगरपालिकाले प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने ७ बिघा जग्गा विनासर्त दिन सर्वदलीय सहमति भइसकेको पनि उनले खुलाए । यतिको स्वामित्वमा भएको जग्गा, नम्बरी जग्गा र सुकुम्बासी बसेको जग्गाको उचित व्यवस्थापनको लागि पनि पहल भइरहेको कोइरालाले बताए।

धरान नगरपालिकाले २०६० सालदेखि नै सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत यति इन्कर्पोरेट प्रालिसँग मिलेर एयरपोर्ट बनाउने प्रक्रिया थालेको थियो । यसको लागि तत्कालीन नगरपालिकाको रोहबरमा धरान १७, डाँडाघोपाका स्थानीयले ६ महिनाभित्र विमानस्थल निर्माण कार्य सुरु नभए किनेकै भाउमा जग्गा फिर्ता गर्ने सर्तमा यतिलाई सस्तो मुल्यमा जग्गा बिक्री गरेका थिए। त्यहाँ यतिको ७ बिघा साढे ३ कट्टा साढे ५ धुर जग्गा छ।

तर, सरकारले यतिलाई विमानस्थल  बनाउन स्वीकृति दिएन । पछि नगरपालिका र नगरबासीको चर्को दबाबमा प्राधिकरण आँफै धरानमा एयरपोर्ट बनाउन कस्सियो । डिटेल सर्वे भएपछि त्यसको आधारमा २०६९ बैशाख १७ गते जग्गा लगायत अन्य प्रावधानहरु पूरा गर्ने गरी विमानस्थल निर्माणको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्रीस्तरीय निर्णयसमेत भएको थियो।
 

प्रकाशित: १७ पुस २०७३ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App