८ वैशाख २०८१ शनिबार
समाज

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

सुमन मल्ल

मुगु- मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।

जाडो छल्न आर्थिक अवस्था बलियो भएका स्थानीयबासीहरु सदरमुकाम गमगढी, छिमेकी जिल्ला जुम्ला र काठमाडौंसम्म बसाई सर्छन्। आर्थिक अवस्था कमजोर भएकाहरु भने मुगुको शिरानी चौर, पिप्लेडी र सदरमुकाम गमगढी आसपासका वस्तीहरुमा बसाई सर्छन्। जसका कारण मंसिरदेखि चैतसम्म यस क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द हुने स्थानीयबासीको भनाई छ।

अत्याधिक जाडोका कारण त्यस क्षेत्रका विद्यालय पुस १७ देखि माघ १७ सम्म विदा हुने भए पनि शिक्षकहरुले मंसिरमै वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरेका हुन्। 'एक त विद्यालयमा शिक्षक नै नबस्ने, बसे पनि आलोपाले बस्ने र विद्यार्थी पनि विद्यालय नआउने भएकाले विद्यालयको अभिलेखमा विद्यार्थी संख्या उल्लेख्य देखिन्छ तर विद्यालयमा उपस्थिति न्यून हुने गरेको छ,' एक स्थानीयले भने।

एकै गाउँको एक गाविस रहेको मुगु गाविसमा २ सय ९७ घरधुरी रहेपनि योबेला गाविसका स्थानीयबासीहरु जाडो छल्न र व्यपार व्यवसायका क्रममा गाउँबाट हिँडेपछि गाउँ परिषद्का बेलासमेत स्थानीयबासीको न्यून सहभागिता रहेको मुगु गाविसका सचिव गंगप्रसाद न्यौपानेले जानकारी दिए।

मुगु गाविस मात्रै होइन करानका चिताई, डोल्फु, कार्ती, किम्री, ताखा, खारी, पुअ, रिउस, दाउरा, सेरोग लगायतका दर्जनौं बस्तीमा रहेका विद्यालय बन्द छन्। मानव बस्ती सुनसान छ। स्थानीयका अनुसार यो क्षेत्रमा तीन महिनाजित मात्र विद्यालय सञ्चालन हुन्छ। हिउँदको समयमा जाडो छल्न स्थानीहरु चैत अन्तिमसम्म अन्यत्र बसाई सर्ने, वैशाखमा गाउँ फर्किए पनि जेठको पहिलो सातासम्म विद्यालयमा विद्यार्थी जाने र त्यसपछि यार्सा टिप्नका लागि असारको अन्त्यसम्म हिमालमै बस्ने, साउन भदौमा तिब्बतमा लाग्ने व्यापार मेलामा जाने तथा असोज कात्तिकमा दशैं पर्व हुने भएकाले शिक्षकहरु आ-आफनो घरमा जाने, अभिभावक र शिक्षक बीचमा समन्वय हुन नसक्दा वर्षमा विद्यालय मुश्किलले तीन महिनामात्र खुल्ने गरेको किम्री गाविसका कार्मावाङ्गजुक लामाले बताए।

प्रकाशित: १३ पुस २०७३ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App