२५ श्रावण २०७७ आइतबार
समाज

शान्तिको सन्देश छर्दै द्वन्द्वपीडित

वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै द्वन्द्वपीडित रम्वादेवी खत्री। तस्बिर: नगेन्द्र उपाध्याय

सुर्खेत- २०५५ असार २२ गते। खाना खाएर रम्वादेवी र दलबहादुर खत्री सुत्ने तरखरमा थिए। पाँच जना विद्रोही आँगनमा आइपुगे। रम्वादेवीको आँखैअघि विद्रोहीले श्रीमान दलबहादुरलाई खुकुरी हान्न थाले। उनी गाउँले गुहार्न गइन्। रम्वादेवीको गुहार कसैले पनि सुनेन् । सशस्त्र द्वन्द्वको बेलाको त्यो कहाली लाग्दो क्षण उनी अव सम्झिन पनि चाहन्नन् । रम्वादेवी जुन पक्षले सिउँदो पुछ्यो उनैसित हातेमालो गरेर बसिरहेकी मात्रै छैनन्, गाउँगाउँमा पुगेर मेलमिलाप र शान्तिको सन्देश पनि छरिरहेकी छन्।

‘बदलिएको दृष्टिकोण हाम्रो अघि बढ्ने बाटो’ कार्यक्रम अन्तर्गत सहभाजित सत्यहरुदेखि संयुक्त दायित्वसम्म (शेःयर) सेन्टरमा सहभागी भएपछि उनले द्वन्द्वमा आफूले पाएको पीडा भूल्न थालिन्। आफूजस्तै पीडितहरुलाई सान्त्वना दिने अभियानको सुरुवात गरिन्। ‘सुरुमा त म मात्रै पीडित हुँ जस्तो लाग्थ्यो, द्वन्द्वमा मेरो भन्दाबढी बढी पीडा भोगेका मानिसहरु मेरै समाजमा रहेछन्’ उनले भनिन्, ‘अहिले द्वन्द्वपछिको मेलमिलाप र शान्तिका लागि गाउँमा अभियान चलाइरहेकी छु।’

दशरथपुर–५ की रेश्मा विष्ट पनि सशस्त्र द्वन्द्वको बेला आफूले पाएको पीडा सम्झिन चाहन्नन्। माओवादी केन्द्रकी नेतृसमेत रहेकी उनी अहिले गाउँगाउँमा पुगेर शान्तिको सन्देश छर्दैछिन् । राज्य पक्षबाट पीडित रेश्मा जसले दुःख–यातना दियो तिनैसंग हातेमालो गरेर बसिरहेकी छन् । ‘तत्कालिन विद्रोही र राज्य पक्षबाट पीडित बनेका हामीहरु अहिले एउटै समूहमार्फत आफ्ना दुःख पीडाहरु साटासाट गर्ने गरेका छौं’ उनले भनिन्, ‘यसका साथै हामीजस्तै पीडामा रहेकाहरुलाई मेलमिलाप र शान्तिका बारेमा सन्देश छर्दै हिँड्छौं।’

रम्वादेवी र रेश्मा जस्तै सशस्त्र द्वन्द्वमा पीडा भोगेकाहरुले सशस्त्र द्वन्द्वमा भोग्नु परेको पीडा, शान्ति प्रक्रियापछिको अवस्था र मेलमिलाप र शान्तिको सन्देश छर्दाका फाइदाका बारेमा केही दिनअघि वीरेन्द्रनगरमा चित्रकला प्रदर्शन गरे। ‘ऊ त्यो घर मलाई विस्थापित हुन बाध्य पार्ने तत्कालिन राज्य पक्षका कार्यकर्ताको हो, यो घर चाहीँ मेरो’ आफूले कोरेको चित्रबारे जानकारी गराउँदै उनले भनिन्, ‘अहिले हामी मिलेर बसेका छौं, जे नहुनु थियो भयो, अब ति घाउ कोट्याउन चाहन्नौं।’ रेश्मा २०५७ देखि २०६५ सालसम्म गिरफ्तार जीवन बिताइन् । माओवादी कार्यकर्ताको रुपमा स्थानीय प्रशासनले पक्राउ गर्‍यो। सबै आस्थाका बन्दी शान्ति स्थापनासंगै रिहा भए । तर, उनी जेलमै बसिन् । दशरथपुरमा सेनाको बेसक्याम्प छ । दैनिकजसो सेना भेटिरहन्छन् । उनी भने विगतमा सेनाले दिएको यातना क्रमशः भुल्दैछिन् ।

पश्चिम तरंगाका पे्रमबहादुर शाहीले कोरेको चित्र कम्ती मार्मिक छैन् । द्वन्द्वकालमा भोगेको पीडा, त्यसपछिको दैनिकी र हालको अवस्थालाई समेटेर उनले कोरेको चित्रमा बाबुलाई माओवादी कार्यकर्ताले गाडेको स्थानसमेत देखाएका छन् । ‘राती अपहरण गरेर भोलिपल्ट घरनजिकको चौरमा ल्याएर फालेका रहेछन्, यो त्यही ठाउँ हो’ प्रेमबहादुर भावुक हुँदै सम्झन्छन्, ‘बाबुलाई गुमाउदा मेरो भविष्य चौपट भयो, पढाई छाडियो, भागेर इन्डिया (भारत) गइयो।’ उनी शान्ति स्थापनाको सुरुवातलगत्तै गाउँ फर्किए। ‘बुवालाई मार्न आदेश दिने यहाँ  गाउँ मै छन्’ उनले भने, ‘सबै पीडितहरुको अनुहार हेरेर चित्त बुझाउँछु, कति त्यही ‘इगो’ साँचेर बस्नु भनेर बुवाको हत्या गर्नेहरुसंग मेलमिलाप गरेरै बसेको छु।’

दुवै पक्षबाट पीडित बनेका उनीहरुले द्वन्द्वदेखि हालसम्मको अवधिलाई तीन खण्डमा विभाजन गरेर चित्र कोरेका छन् । ती सबै चित्रको सन्देश एउटै छ, शान्ति र मेलमिलाप । अनि, पीडितहरुलाई राहत दिएर छिटो संक्रमणकाल टुंग्याउन राज्यलाई दबाब पनि दिइएको छ । द्वन्द्वपीडितहरुले अब देख्न खोजेको केहो ? भन्ने कुरा चित्रले बोलेको प्रशिक्षक एवं चित्रकार प्रकाश थापाले बताए।

जिल्ला कार्यक्रम संयोजक नहकुल सञ्ज्याल शेःयर सेन्टरमा आवद्ध भएपछि द्वन्द्वपीडितहरु शान्ति र मेलमिलापमा अग्रसर भएको बताउँछन् । ‘पहिले एउटा पक्षबाट पीडित बनेको अर्को पक्षसँग नबोल्ने अवस्था थियो’ उनले भने, ‘अहिले दुबै पक्षका पीडितहरु एउटै समूहमा आवद्ध भएर शान्ति र मेलमिलापको सन्देश बाँड्दै हिड्न थालेका छन्।’

प्रकाशित: ११ पुस २०७३ १८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App