६ वैशाख २०८१ बिहीबार
समाज

कसले गरिदेला चन्द्रीको उपचार ?

भूकम्पमा चर्चभित्र पुरिएर घाइते भएकी चन्द्री तामाङ रसाथमा उनको श्रीमान बै लामा तामाङ। चन्द्रीसंगै पुरिएका बैलामा पनि काम नसक्ने भएका छन् । तस्विर: शंकर श्रेष्ठ

धादिङ–भूकम्पको बेला भाँचिएको खुट्टाको उपचार गराउन नसक्दा धादिङ झार्लाङकी चन्द्री तामाङको अहिले बिजोक छ। भूकम्पको बेला चर्चभित्र च्यापिएर घाइते भएकी झार्लाङ–३ न्यन्चोकी चन्द्री अहिले एउटै ओछ्यानमा थलिएकी छन्।

गरिबी र आर्थिक अवस्था कमजोर भएर उपचारकालागि खर्च जुटाउन नसक्दा उनी थलिएरै बस्न बाध्य भएकी हुन्। उनको दाहिने खुट्टा भाँचिएको छ। हिँडडुल गर्न त परै जाओस् सुतेको ठाउँबाट यताउता सर्न समेत अरुकै साथ चाहिन्छ।

उपचारमा खर्च जुटाउन नसकेपछि तत्कालीन समयमा खुट्टाको अवस्थामा सुधार आएको भन्दै चितवन मेडिकल कलेजले घर पठाइदिए उनी फर्किर अस्पताल जान नसकेकी हुन्। अहिले भाँचिएको खुट्टामा थाङ्नो कपडा र बाँसको कप्टेरोमा लोक्ताले बाँधेर राखेकी छन् ।

 ‘आफू नेपाली बोल्न जान्दिन। छोराछोरी सानै छन्। बुढा पनि घाइते भए। मेरो लागि भनेर कसले वास्ता गरिदेओस्’, चन्द्री दुखेसो गर्छिन्। चन्द्रीसँगै उनका श्रीमान बै लामा तामाङ पनि घाइते छन् । बै लामा कान सुन्दैनन्। चन्द्री भन्छिन्, ‘उपचार त गर्न हुन्थ्यो । केले गर्ने ? कसरी अस्पताल जानी ? पैसा छैन ।’ भएकोजति पैसा सकिएपछि अहिले खर्च जुटाउने कुनै विकल्प नभएको उनी बताउँछिन् ।
 

‘ऋणधन गरौं, साहुले पत्याउँदैन । स–सानो ६ सुर्काे (आधा रोपनी) जग्गा छ त्यो पनि बेचौं बस्नी ठाउँ हुँदैन,’ उनले भनिन्। उपचारका लागि कुनै विकल्प नभएपछि चन्द्रीको परिवारमा जस्ताको टहरोभित्र भाँचिएको खुट्टा समाएर बस्न बाध्य भएको छ।

चन्द्रीका श्रीमान बै लामा ले भने, ‘साढे तीन महिनासम्म अस्पतालमा नै बसेर उपचार गरियो तर श्रीमतीको खुट्टा निको भएन । अस्पतालले सुधार भएको भनेर घर पठाइदियो तर अब हामी कहाँ जाने ?’ अस्पतालबाट निस्किएपछि फलोअपका लागि फेरी आउनु भनेको भएपनि त्यहाँसम्म पुग्ने पैसा नहुँदा अस्पताल नगएको बैलामाले बताए ।

गरिबीका कारण तामाङ दम्पत्तिको ३ जना बालबच्चाको पनि विचल्ली भएको छ । ‘घरमा कमाएर ल्याउने बाबु कान नसुन्ने भए, आमा एउटै ओछ्यानमा थलिइन्, पालनपोषण गर्ने मान्छेको उपचार नहँदा बालबच्चाको समेत विचल्ली भएको स्थानीय प्रेम तामाङले बताए ।  

२०७२ साल बैशाख १२ गतेको भूकम्पमा चर्चको गारो भत्किएर च्यापिँदा दाहिने खुट्टा भाँचिएको थियो । तत्कालीन समयमा भूकम्पका घाइतेलाई सरकारले निःशुल्क उपचार गराउने भनेपनि चन्द्रीको उपचार भएन ।     चन्द्रीको घर उत्तरी धादिङको उच्च पहाडी क्षेत्रमा पर्छ । पुसको कठ्याङ्ग्रीदो जाडोमा जस्ताको टहरोमुनी विरामी दम्पत्ति र ३ बालबालिका कष्टसंग बसिरहेका छन् ।

प्रकाशित: १० पुस २०७३ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App