७ वैशाख २०८१ शुक्रबार
समाज

बिहीबारदेखि नारायणगढ मुग्लिन सडक दिनहुँ चार घण्टा बन्द

निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्डमा देखिएका सवारी साधनको लस्कर।

चितवन–सडक विस्तारको कामलाई तिब्रता दिने भन्दै निर्माणधीन नारायणगढ– मुग्लिन सडक खण्ड आउज बिहीबारदेखि दैनिक दिउँसो चार घण्टा बन्द हुने भएको छ। राजधानी काडमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्ड मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

दुई वर्षसम्म निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर भूकम्प र नाकाबन्दीका कारण काम सक्ने अवधि सन् २०१७ को सेप्टेम्बरसम्म पुर्याइएको छ।

अर्को सूचना जारी नहुँदासम्म यो बन्द कायमै रहने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए। अघिल्लो वर्षपनि माघ २८ गतेदेखि यसरी नै सडक बन्द गरेर काम गरिएको थियो। जुन समय सीमा असारमा मात्रै हटेको थियो । एसियाली मापदण्डको दुई लेनको सडक बनाउनकालागि विस्तारको काम सुरु भएको हो।

सवारी साधन बन्द हुने समयमा वैकल्पिक मार्ग अपनाउन आयोजनाले अपिल गरेको छ। पूर्व जाने सवारी साधनलाई बैकल्पिक मार्गहरु छोटोसमेत हुने आयोजनाले जानकारी गराएको छ। तर बैकल्पिक मार्ग ठूला सवारी साधनकालागि उपयोगी भने खासै छैनन्। काठमाडौंबाट पूर्व जाने सवारी साधनले बनेपाहुँदै बर्दिवास निस्कने बीपी मार्ग प्रयोग गर्न सक्ने छन्। यसो गर्दा १७७ किलोमिटर कम दूरी हुने छ।

 तर बीपी राजमार्ग साना सवारी साधन र केही मात्रामा मझौला सवारी साधनका लागि मात्रै उपयुक्त छ । नौबिसे हुँदै पालुङ हेटौंडा निस्कने बाटो त्रिभुवन राजपथ नारायणगढ मुग्लिन सडक खण्ड प्रयोग गर्ने रुट भन्दा १०८ किलो मिटर छोटो पर्छ। तर त्रिभुवन राजपथ १० मिटरभन्दा कम लम्बाइका सवारी साधन र कम भार बोक्ने ट्रकहरुका लागि मात्रै उपयोगी भएको सडक आयोजनाले जानकारी दिएको छ।

 त्यस्तै साना सवारी साधन काठमाडौंबाट बल्खुहुँदै हेटौंडा निस्कन पनि सक्ने छन् । यसो गर्दा १४६ किलो मिटर कम दूरी हुने छ। दूरी कम भएपनि वैकल्पिक बाटोहरु जिर्ण र कम फराकिलो भएका कारण साना सवारी साधनको पनि रोजाइमा पर्दैनन्। पश्चिम जाने सवारी साधनहरुले मुग्लिनबाट पोखर हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर स्याङ्जा बुटवल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सक्ने छन् ।

 तर यो बाटो लामो हुने छ। काठमाडौंबाट मुग्लिन नारायाणगढ हुँदै बुटबल निस्कनभन्दा मुग्लिनबाट पोखरा, स्याङ्जा हुँदै सिद्धार्थ राजमार्गबाट बुटवल निस्कन ७१ किलो मिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । यो बाटो पनि साना र मझौला सवारी साधनहरुका लागि मात्रै उपयुक्त छ । केही मात्रामा ठूला सवारी साधनहरु पनि चल्न सक्ने अवस्था रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

सो सडकहुँदै दैनिक १० हजारसम्म सवारी साधन ओहर दोहर हुने अवस्था छ। तर सडकको अवस्थाले यो संख्या घट्दो छ । बन्द हुने समय अगावै लामो दूरीका सवारी साधनले बाटो पार गरी सक्ने हुँदा ११ बजेदेखि तीन बजेको समयमा छोटो दूरीका बस र मालवाहक ट्रकलाई अफ्ठ्यारो पर्ने अवस्था छ।

आयोजनाले निकालेको विज्ञप्ति अनुसार सो समयमा १५ सयका हाराहारीमा सवारी साधन ओहर दोहर हुने अनुमान छ। बाटो बन्द भएपछि यी सवारी साधनलाई प्रभाव पर्ने छ। दुई वर्षसम्म निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर भूकम्प र नाकाबन्दीका कारण काम सक्ने अवधि सन् २०१७ को सेप्टेम्बरसम्म पुर्याइएको छ।

समय थपिए पनि निर्माणको रफ्तार निकै कम छ। लक्ष्य अनुरुप काम हुन सकेको छैन। नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार गएको नोभेम्बर महिनासम्म ३० प्रतिशत काम पूरा भएको छ। यो अवधिसम्म लगभग आधा काम पूरा गर्ने लक्ष्य रहेको थियो। ३६ किलो मिटर सडक खण्ड पार पर्न पहिला सवा घण्टासम्म लाग्ने गरेकोमा अचेल कम्तिमा तीन घण्टा लाग्ने गरेको छ।

नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत एसियाली विकास बैंकको लगभग तीन अरब ऋण सहयोगमा सो सडक विस्तारको काम सुरु भएको हो । हाल पाँच मिटरसम्म चौडा रहेको सो बाटो विस्तारपछि नौदेखि ११ मिटरसम्म फराकिलो हुने छ। तर निर्माणमा ढिलाई हुँदा यात्रुले सास्ती पाउनका साथै ढुवानीमा परेको अफ्ठ्यारोले व्यपारमा समेत प्रभाव परेको छ ।
 

प्रकाशित: ७ पुस २०७३ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App