१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राजेश हमालको राउटे भेट्ने धोको अधुरै

समृद्ध मध्यपश्चिम अभियानका अभियन्तालाई राउटे समुदायका लागि कम्मल हस्तान्तरण गर्दै राजेश हमाल ।

सुर्खेत–मध्यपश्चिममा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई भेट्ने अभिनेता राजेश हमालको चाहना अधुरै रह्यो। राउटेको प्रतिक्षामा दुई दिनसम्म वीरेन्द्रनगरमा बसेका हमाल राउटे नआएपछि आइतबार काठमाडौं फर्किए। ‘राउटे समुदायको बारेमा धेरै सुनेको थिएँ, सुर्खेत आएका बेला भेटेर जाउँ भन्ने थियो’, हमालले भने, ‘उहाँ (राउटे समुदाय) अछाममा हुनुहुँदो रहेछ, भेट गर्न सकिएन।’

उनले राउटे समुदायको संस्कृति, पहिरन र कलादेखि आफू प्रभावित भएको बताए। ‘पत्रपत्रिका र टेलिभिजनमा उहाँहरुको संस्कृति, उहाँहरुले बनाउनु भएका आकर्षक काठका भाँडाकुडा र पहिरन देखेर म प्रभावित छु’, उनले भने, ‘लोपोन्मुख जाति भएकाले पनि राउटे समुदायलाई भेटेर उहाँहरुलाई नजिकबाट चिन्ने ठूलो धोको छ।’ हमालले समय मिलाएर फेरि राउटे समुदायलाई भेट्न आउने बताए ।

वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि शुक्रबार हमाललाई आयोजकले निम्त्याएको थियो । एक दिनको प्रस्तुतिका लागि आएका हमाल राउटेकै लागि थप एक दिन सुर्खेतमा बसे । ‘महानायकले राउटे भेटेर जान्छु भनेपछि शनिबार पनि उहाँ सुर्खेतमै बस्नुभयो, हामी राउटे खोज्न थाल्यौं’, मेलाका सांस्कृतिक संयोजक हरि विष्टले भने, ‘बन्दलगायतका कारणले अछामबाट राउटे समुदायलाई सुर्खेतसम्म ल्याउन सकेनौं ।’ विष्टका अनुसार हमालले समय मिलाएर अर्को पटक राउटे बस्तीसम्म पुग्ने गरेर आफू आउने बताएका छन् ।

हमालले राउटे समुदायका लागि भनेर केही उपहार पनि खरिद गरेका थिए । ‘भेट हुने वित्तिकै सो समुदायका मानिसहरुले उपहार माग्छन् भन्ने सुनेको थिएँ, त्यहीँ भएर जाँडोमा आवश्यक पर्ने कम्मल किने’ उनले भने, ‘मेरो प्रत्यक्ष भेट नभएपनि उहाँहरुसँग काम गर्ने संस्थालाई राउटे समुदायको बस्तीसम्म पुर्याइदिन आग्रह गरेको छु ।’

राउटे समुदायक आउन नसकेपछि उनले चार वटा कम्मल राउटे संरक्षण र प्रवद्र्धनमा सक्रिय समृद्ध मध्यपश्चिम अभियानलाई हस्तान्तरण गरे । ‘म आफै भेटेर यि उपहारहरु दिन चाहन्थे’, कम्मल हस्तान्तरण गर्दै हमालले भने, ‘भेट नभए पनि मैले दिएको उपहार उहाँहरुको बस्तीसम्म पुर्याइदिनु होला ।’

समृद्ध मध्यपश्चिम अभियानका अभियन्ता धर्मराज आचार्यले महानायक हमालले राउटे समुदायका लागि दिएका कम्मल राउटे बस्तीमै गएर वितरण गरिने बताए । समृद्ध मध्यपश्चिम अभियानले राउटे समुदायको तर्फबाट हमाललाई उनीहरुले बनाएका काठका डाडु र पन्यू उपहार दिएको थियो ।

प्रकाशित: ३ पुस २०७३ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App