१५ चैत्र २०८० बिहीबार
समाज

डमरु हुर्काउँदै धनगढीमा बाघ !

सांकेतिक तस्बिर।

विगत एक हप्तादेखि कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा रहेको मोहना करिडोरमा पोथी बाघले बच्चा (डमरु) हुर्काउन थालेको छ। दुई डमरुसहित सो क्षेत्रमा पोथी बाघ विचरण गर्न थालेको हो। भाले बाघबाट डमरुलाई जोगाउन पोथी बाघ धनगढी आइपुगेको हो।

भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न दुधुवा नेश्नल पार्क अन्तर्राष्ट्रिय जैविक मार्ग हुँदै मोहना करिडोरमा आइपुगेको हो। अहिले बाघ धनगढी उप–महानगरपालिका–३, स्थित आदर्श सामुदायिक वन, ज्ञान ज्योति सामुदायिक वन, प्रगतिशील सामुदायिक वन तथा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित अमरगोकुल सामुदायिक वन र गंगा जमुना सामुदायिक वन क्षेत्रमा डमरुसहित विचरण गरिरहेको छ।

दुई डमरुसहित पोथी बाघ एक सातादेखि मोहना तटीय क्षेत्रसँग जोडिएका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ।

‘एक सातादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मोहना–लालझाडी करिडोर हुँदै मोहना तटीय क्षेत्रमा आइपुगेको हो,’ संरक्षणकर्मी तथा धनगढी वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले भने, ‘मोहना तटीय क्षेत्रमा डमरुसहितको पोथी बाघले स्थान परिवर्तन गर्दै कहिले आदर्श सामुदायिक वन, कहिले ज्ञान ज्योति त कहिले प्रगतिशील सामुदायिक वनमा सिकार खोज्दै गरेको अवस्थामा देखिन थालेको छ।’

दुधुवा नेश्नल पार्कमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि पोथी बाघ डमरुसहित नेपालतर्फ आएको हुनसक्ने आँकलन गरिए पनि बाघ पहिलेदेखि नै नेपालतर्फको लालझाडी क्षेत्रमा भएकाले डमरु हुर्काउन बाघ यहाँ आइपुगेको हुन सक्ने स्थानीय बताउँछन्।

‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरुलाई बचाउन सुरक्षित स्थानको खोजी गर्दै यहाँ यहाँ आएको हुन सक्छ,’ ऐरले भने, ‘बाघको वासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरुलाई भाले बाघबाट बचाउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा अन्तर्राष्ट्रिय जैविक मार्ग हुँदै बाघ धनगढी क्षेत्रमा आइपुगेको हुनसक्छ।’

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने उनी सुझाउँछन्।

‘यस्तो बेला पोथी बाघले बढी समय डमरुको हेरचाहमै खर्चेको हुन्छ र भोकाएको पनि हुन्छ,’ उनले भने, ‘त्यसैले यो बेला बाघ आफ्नो अगाडि जे भेटे पनि सिकार गर्छ।’

बाघ बस्ती नजिकैको झाडीमा आएर कराउने गरेको बताउँदै उनले भने, ‘स्थानीय बाघको आवाज सुन्ने बित्तिकै मलाई फोन गर्छन्, उनीहरुलाई सुरक्षित रहन भनेको छु।’

मोहना नदीमा पछिल्लो समयमा स्थानीयले संरक्षण गर्न थालेपछि नदी किनारमा खर र झाडीले भरिएको छ। बाघ दुधुवा नेश्नल पार्कबाट मोहना–लालझाडी करिडोर हुँदै सोही खर र झाडीमा लुक्दै बस्ती नजिकै पुगेको स्थानीय बताउँछन्।

ठुलो बाघसँगसँगै साना दुई वटा बच्चाका पाइला पनि मोहना तटीय क्षेत्रमा देखिएको उनले बताए। ‘त्यसैले बाघसँगै दुई वटा डमरु पनि रहेको आँकलन हामीले गरेका छौँ,’ उनले भने। वर्षौँदेखि दुधुवा नेश्नल पार्कबाट बाघ नेपालतर्फको मोहना–लालझाडी करिडोर हुँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी बनाउने निर्णय गरेको गोदावरीको तेघरी जंगल हुँदै पूर्वतर्फको भावर क्षेत्रमा हिँडडुल गर्ने रुट रहेको ऐर बताउँछन्।

डमरु बचाउन तथा सिकारको खोजी गर्दै बाघ मोहना तटीय क्षेत्र धनगढीसम्म आइपुगेको हुनसक्ने कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले बताए।

उनले भने, ‘विगत एक हप्तादेखि बाघ कैलाली र कञ्चनपुरका सीमा क्षेत्र पर्ने मोहना तटीय क्षेत्रका सामुदायिक वनमा देखिएको छ।’

प्रकाशित: ११ चैत्र २०७९ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App