७ वैशाख २०८१ शुक्रबार
समाज

घ्यू चोर्ने दुलाहा जेल चलान

डोटी- तामझामका साथ बिबाहको तयारी चल्दै थियो। दोस्रो दिन जन्ती दुलहीको घरतर्फ जाने कार्यक्रम थियो। त्यसैले पनि तयारी तिब्र रुपमा चलिरहेको थियो। अन्तिम तयारीका लागि जन्ती जानेहरुपनि आ–आफ्नो तयारी गरिरहेका थिए।  घरभरी पाहुना, ईष्टमित्र, छरछिमेक र आफन्तहरुको भिड लागेको थियो। माहौल पुरै बिबाहमय् थियो।

त्यसैबेला अकस्मात आँगनमा प्रहरी आईपुगे। प्रहरीले दुलाहाको नाम लिँदै, ‘हेम पार्कीको घर यै हो ?,’ भनेर साधे।

भिडबाट आवाज आयो, ‘हो।’

त्यसपछि प्रहरीले दुलाहालाई पक्राउ गरेर लग्यो। उनी त्यसैदिन कारागार चलान भए।

यो घटना बुधबार दिपायल सिलगढी नगरपालिका–५, धामीगाउँमा भएको हो। प्रहरीले दुलाहालाई पक्राउ गरेपछि बिहिबार हुने भनिएको बिबाह रोकिएको छ।

भएको के रहेछ भने,  बिश्व खाद्य कार्यक्रमद्वारा संचालित ‘शिक्षाका लागि खाद्य कार्यक्रम’को दिपायल सिलगढी नगरपालिका–४ सिलगढी स्थित गोदामबाट २०६५ कार्तिक १० गते एक हजार दुई ६० किलो घ्यू चोरी भएको थियो।

सोही मुद्दामा दुलाहा हेम पार्की सहित, दिपायलल सिलगढी नगरपालिका–५ कै काले दमाई, ढाँट दमाई र जोगे पार्कीलाई डोटी जिल्ला अदालतले दोषि प्रमाणित गरेको थियो।  अदालतको २०६७ भदौ २३ गतेको फैसलाले चारै जनालाई दोषि प्रमाणित गर्दै जनही एक महिना १५ दिनको कैद सजाय सुनाएको थियो। उनीहरु मध्ये काले दमाई तत्कालै पक्राउ परिसकेका थिए । उनी सजाय काटेर यसअघि नै रिहा भैसकेका छन् ।

बाकी दुलाहा हेम सहित, ढाँट पार्की र जोगे पार्की फैसला भएको ७ बर्षदेखी नै अदालतको ‘फरार प्रतिबादी’ को सूचीमा रहेका थिए । त्यसैले प्रहरीले उनीहरुलाई जुनसुकै अबस्थामा फेला परेपनि पक्राउ गर्ने अदालतका आदेश थियो।

सोही अनुसार हेम पार्कीलाई बिबाहका लागि घर आएको भन्ने सूचनाका आधारमा प्रहरी उनको घरमा पुग्यो। उनी पक्राउ परे र कारागार चलान भए।

त्यसपछि अर्का ‘फरार प्रतिबादी’ को सूचीमा रहेका ढाँट दमाईलाई बिहिबार उनकै बुबाले अदालतमा पेश गरेका छन्। उनलाई पनि अदालतले प्रहरी मार्फत डोटी कारागारमा चलान गरेको छ। जोगे पार्की अझै फरार छन्।

 

प्रकाशित: २४ मंसिर २०७३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App