दुई वर्षअघिसम्म छिन्चु खोला र भेरी नदीको दोभान क्षेत्र पर्यटकहरुका लागि आकर्षकको केन्द्र थियो। नदी र खोला मिसिने ठाउँको ठूलो फाँट अहिले उजाड मरुभूमि जस्तो देखिन्छ।
दोभानमा फैलिएर बग्ने भेरी नदी थुनेर जथाभावी नदीजन्य पदार्थ संकलन गरिदाँ सुन्दर फाँट कुरुप देखिन्छ। बाँध बाँधेर भेरी नदीलाई एक छेउतर्फ फर्काएर नदीजन्य पदार्थको दोहन गरिँदा पनि सरोकारवाला निकायहरु नदेखेझै गरिरहेका छन्।
भेरीगंगा नगरपालिका–२ का वडाध्यक्ष नन्दबहादुर बुढाले वातावरणीय प्रभाव मूल्याङ्कनविनै भेरी र छिन्चु खोलाको दोभान दोहन भइरहेको बताए। ‘वातावरणीय प्रभाव मूल्याङ्कनमा दोभानलाई जोखिम क्षेत्र मानेर नदीजन्य पदार्थ निकाल्न नमिल्ने उल्लेख छ,’ वडाध्यक्ष बुढाले भने, ‘जोखिम क्षेत्रमै नदी फर्काएरै नदीजन्य पदार्थ संकलन गरिँदा पनि कसैले दोहन रोक्न चासो दिएका छैनन्।’ वडाध्यक्षका अनुसार भेरी नदी फर्काएर ठूला मेसिनरी औजारमार्फत नदीजन्य पदार्थहरुकोे दोहन भइरहेको विषयमा कार्यपालिका बैठकमा पटक–पटक आवाज उठाउँदा पनि सुनुवाई नभएको बताए।
‘ठेकेदारले सबै सेटिङ मिलाएको छु भन्छन्, त्यहीँ भएरै होला यहाँ नगरपालिका मात्रै होइन्, प्रहरी–प्रशासनले पनि नदेखेझै गरिरहेको छ,’ उनले भने, ‘मैले यो विषयमा पटक–पटक कार्यपालिका बैठकमा कुरा राखेको छु, सुनुवाई भएको छैन्।’
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्टले तोकेको क्षेत्रभन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न नपाइने बताए। ‘कहाँ–कहाँ उत्खनन् गर्न पाइने हो, अहिले कहाँ–कहाँ भइरहेको छ त्यो विषयमा मलाई जानकारी छैन्,’ नगर प्रमुख ढकालले भने, ‘आइइ प्रतिवेदन र संझौता गरेर दुई–तीन दिनपछि तपाईँलाई खवर गर्छु।’
उनले जिल्ला प्रशासन कार्यालयबाट नदीजन्य पदार्थको दोहन भइरहेको खवर आउने वित्तिकै अनुगमनका लागि कर्मचारी खटाइएको बताए। उनले कर्मचारी खटाएको बताए पनि अहिले के भइरहेको छ भन्ने बारेमा जानकारी नभएको बताए। ‘गुनासो आउने वित्तिकै कर्मचारी खटाएका थियौं, बीचमा के–के भयो जानकारी भएन्,’ उनले भने, ‘जानकारी लिएर मात्रै भन्न सक्छु।’
भेरीगंगा नगरपालिकाले छिन्चु खोलामा नदीजन्य पदार्थ संकलनका लागि स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा नदीजन्य पदार्थ संकलन गर्दा हाते औजार मात्रै प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ। त्यस विपरित कार्यपालिका बैठकले निर्माण कम्पनीसँग गरेको संझौतामा मेसिनरी सामाग्री प्रयोग गर्न मिल्ने लेखेको छ। तर कति संख्यामा कुन–कुन मेसिनरी औजार प्रयोग गर्ने भन्ने संझौतामा उल्लेख गरिएको छैन्।
यस विषयमा पनि आफूलाई जानकारी नभएको मेयर ढकालले बताए। ‘कार्यपालिका बैठकमा कति धेरै प्रस्तावहरु आउँछन् र निर्णय हुन्छन्,’ उनले भने, ‘ति सबै कुरा मलाई कण्ठ हुँदैन्।’ उनले बल्ल वातावरणीय अध्ययन प्रतिवेदन र संझौताको कपी आफूले अध्ययन गर्ने बताए। ‘अहिलेसम्म त्यसमा के देखिएको छ, अध्ययन गरेको छैन्,’ उनले भने, ‘कर्मचारीसँग मागेर दुई–चार दिनमा अध्ययन गर्छु।’
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन विपरित स्थानीय तहले नदीजन्य पदार्थ संकलनको संझौता गर्न पाउँदैनन्। प्रतिवेदनकै आधारमा नगरपालिकाले टेन्डर आव्हान ग¥यो। संझौता गर्दा छिन्चु खोलामा हाते औजार होइन्, ठूला स्काभेटर प्रयोग गरिएका छन्। नगरपालिकाले नदीजन्य पदार्थ संकलन गर्ने निर्माण व्यवसायीसँग भएको संझौताको आधिकारिक पत्रसमेत दिन आलटाल गर्दै आएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले जथाभावी दोहन रोक्न स्थानीय तहलाई निर्देशन दिइएको बताए। ‘नदीजन्य पदार्थको संरक्षण गर्ने, त्यसको उत्खनन् गर्नेलगायतका जिम्मेवारी स्थानीय तहलाई हुन्छ,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल अनाधिकृत भइरहेको उत्खनन् रोक्न र संलग्नहरुलाई कारवाही गरेर त्यसको जानकारी गराउन निर्देशन दिएको छु।’ सहायक प्रमुख जिल्ला अधिकारी मल्लले निर्देशन दिएपछि प्रमुख प्रशासकीय अधिकृतले त्यसलाई टेरेका छैनन्। सहायक प्रजिअले निर्देशन दिएको तीन दिन हुँदा पनि नदीजन्य पदार्थको अबैद्य उत्खनन् रोकिएको छैन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले स्थानीय तहसँग समन्वय गरेर अबैद्य भइरहेको उत्खनन् रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए। ‘इलाका प्रहरी कार्यालय छिन्चुलाई नगरपालिकासँग भएको संझौता मागेर त्यसविपरित कार्य भएको छ भने कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु,’ उनले भने, ‘संझौता भन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन् गर्न दिँदैनौं।’
प्रकाशित: ८ चैत्र २०७९ १२:२२ बुधबार