coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकसेवा आयोगमा अझै लाम!

काठमाडौं- लोकसेवा आयोगमा अनलाइनमार्फत आवेदन दिन सकिने प्रक्रिया सुरु भए पनि घन्टौं लाममा बस्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। फारम अनलाइनमा भरे पनि रकम तिर्ने बेला आवेदक घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ।

आयोगले विज्ञापनमार्फत विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ। अनलाइनमार्फत फारम भरेका आवेदक सोमबार आयोगको कार्यालयअगाडि रकम बुझाउन लामो लाममा देखिए।

आयोगमा सोमबार चारवटा लाइनबाट काम गराइँदै थियो। एउटा लाइन व्यक्तिगत विवरण प्रमाणित गराउनेको थियो। तीनवटा लाइन अनलाइन भरिएका दरखास्तको दस्तुर तिर्नका लागि थिए। यो दृश्य मंगलबारको मात्र नभई चारपाँच दिनयता नियमित देखिएको छ।

सिन्धुलीका विमल चौलागाईंले दुई घन्टा लाइनमा बसेपछि मेडिकल ल्याब टेक्नोलोजिस्ट पदमा दिएको दरखास्तबापतको दस्तु। एक हजार रुपैयाँ बुझाउन पाए। उनले दरखास्त फारम अनलाइनबाट भरे पनि रकम बुझाउन आयोगमै धाउनुपर्दा समस्या जस्ताको तस्तै रहेको बताए। उनले भने, 'फारम अनलाइनबाट भरेर के काम! आखिर पैसा बुझाउँदा दुई घन्टा लाइन बस्नै पर्‍यो।' रकम पनि अनलाइन वा नजिकको बैंकमार्फत बुझाउन पाए घन्टौं लाइन बस्नुनपर्ने उनको भनाइ थियो।

गुल्मी तम्घासकी यमुना ज्ञवालीले साढे दुई घन्टा लाइन बसेर दस्तुर बुझाउने पालो पाइन्। उनले विद्यालय निरीक्षक पदमा अनलाइनमार्फत फाराम भरेकी हुन्। फारामको पैसा तिर्न भने लोकसेवाको कार्यालय नै धाउनुपर्दा दिक्क लागेको उनले बताइन्। उनले भनिन्, 'अनलाइनले झनै झन्झट बनायो। यहीं लाइन लाग्न आउनुपरेपछि के अर्थ! अनलाइनबाटै तिर्ने व्यवस्था मिलाइदिएमा कसैलाई कष्ट हुँदैनथ्यो। कर्मचारी पनि व्यस्त हुनुपर्दैनथ्यो।' उनले समस्या पहिलेजस्तै भएको बताइन्, भनिन्, 'फारम किनेर भर्नु पर्दैन। अरू सबै उस्तै हो, के अनलाइन भरेको भन्नु!'मेडिकल अधिकृत, महिला विकास अधिकृत लगायतका पदका लागि अनलाइन फारम भरेपछि पैसा तिर्न घन्टौं लाइन बस्नुपरेको अरु आवेदकले पनि गुनासो गरे।

लोकसेवा आयोगले गत चैतदेखि अनलाइनमार्फत फारम भर्ने प्रक्रिया परीक्षणका रुपमा सुरु गरेको थियो। परीक्षण सफल देखिएपछि गत असोजबाट लोकसेवा आयोगका सबै कार्यालयले अनलाइनमार्फत फारम भराउने काम सुरु गरेका थिए।

आयोगकी सहप्रवक्ता गीताकुमारी हुमागाईंले अनलाइनको अवधारणाअनुसार सबै काम गर्न नसकिएको बताइन्। उनले भनिन्, 'हामी अनलाइनबाटै दस्तुर तिर्ने बनाउन अभ्यासको क्रममा छौं। हामी पनि अनुभूति गरेका छौं। दस्तुरका बुझाउन लाममा बस्नुपर्ने दुःखलाई मेटाउने प्रयास गर्दैछौं।' कुनै पनि नयाँ विधि लागू गर्दा सुरुमा व्यवस्थापन गर्न गाह्रो हुने उनले बताइन्। राजस्वको खातासँग सर्भर लिंक नमिलेका कारण पनि व्यवस्थापन गर्न कठिनाइ भएको उनले जानकारी दिइन्।

आयोगका नौवटा अञ्चल कार्यालय छन्। तर, सबै कार्यालयमा बैंक नभएकाले दस्तुर बुझाउन कठिनाइ भएको उनको भनाइ थियो। आयोगको प्राविधिक समूहले काम गरिरहेकाले निकट भविष्यमै अनलाइनबाट दस्तुर तिर्न सकिने व्यवस्था मिलाइने उनले बताइन्।

प्राविधिकमा पदपूर्ति गर्नै गाह्रो

अन्य पदमा आवश्यकभन्दा दसौं गुणा बढी आवेदन पर्ने गरेको अवस्थामा प्राविधिक पदमा भने योग्य जनशक्ति नभएर सबै पदपूर्ति हुन नसकेको अवस्था छ। गत वर्ष माग गरिएका प्राविधिक पदमा पदपूर्ति पूरा हुन नसक्दा यस वर्ष दोहोर्‍याएर माग गर्नुपरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७१/७२ मा नापी अधिकृत, माइनिङ इन्जिनियरिङ, हस्तरेखा विज्ञ, स्यानिटरी गरी २१ पदमा पूर्ति हुन नसक्दा फेरि माग गरिएको हो।

सामान्य प्रशासन मन्त्रालयमा विभिन्न सेवा समूहमा रिक्त  आठ सय ८९ प्राविधिक पदमा पदपूर्तिका लागि लोकसेवाले आवेदन माग गरेको छ। त्यसमध्ये प्रथम श्रेणीमा ६३, द्वितीय श्रेणीमा २ सय ४, शाखा अधिकृतमा ६ सय २४ प्राविधिक जनशक्ति माग भएको सामान्य प्रशासनका उपसचिव नमराज घिमिरेले बताए।

प्रकाशित: १४ मंसिर २०७३ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App