४ आश्विन २०७७ आइतबार
समाज

अन्नबाट पनि बन्छ कला

भोकाएको मानिसलाई चन्द्रमा देखाएर कविता लेखाउँदा रोटी लेखे रे। अघाएको मानिसलाई रोटी दिए के लेख्लान्? दुई साता अघि आकासमा धेरैले 'सुपरचन्द्रमा' नियाल्दै गर्दा भक्तपुरका किसानहरु मठमन्दिर अगाडि चन्द्रमाजस्तै चम्किला  अन्नका कलाकृति पस्किँदै थिए। भर्खरै भकारीमा धान भिœयाएका यहाँ किसानले भुटेको अन्नद्वारा मठ, मन्दिर र भगवानका विभिन्न आकृति कोर्दा पूर्णिमाको रात आकासमात्र होइन, जमिन पनि झिलिमिली बन्यो।

आकासमा धेरैले 'सुपरचन्द्रमा' नियाल्दै गर्दा भक्तपुरका किसानहरु  नगरमा रहेका मठमन्दिर अगाडि चन्द्रमाजस्तै चम्किला अन्नका कलाकृति पस्किँदै थिए। 

घरघरमा उसिनेको पिँडालु खाएर 'सकिमना पुन्ही' मनाएका उनीहरुले धान, मकै, भटमास लगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्केट रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाए। भुटेका गेडागुडी र मिठाईका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्यायो। सोमबार साँझदेखि अबेर रातसम्म सञ्चालित यस कला प्रदर्शनीले नगरबासीलाई उत्साह प्रदान गर्‍यो। पूर्ण चन्द्रको उज्यालोमा अन्नको आकृतिसँगै पालामा बालिएका दियोहरु आकासमा तारा जगमगाएका जस्ता देखिन्थे। आकास र जमिन एकैजस्तो लाग्थ्यो।

संस्कृतिविद् ओम धौभडेल किसानले आफूभित्र लुकेर रहेको कलालाई अन्नमार्फत् प्रस्तुत गर्ने यो दुर्लभ कलाकारिताले सबैको मन हर्ने सुनाउँछन्। अन्नले भकारी भरिएपछि किसानद्वारा सिर्जित यो कला अन्यत्र विरलै देख्नपाइने उनले बताए।

'सामान्य किसानले पनि अन्नका दाना खेलाउँदै विभिन्न आकृति बनाउँछन्,' उनले भने, 'धर्तीको थालमा कला पस्केसँगै उनीहरुको अनुहार पनि चन्द्रमाजस्तै हँसिलो हुन्छ।' यो चित्रकलाले यहाँका प्राचीन बैभव झल्काउने उनले सुनाए।

भुटेको अन्नद्वारा गणेशको आकृति बनाउँदै गरेका राजेन्द्र खायतु पूर्णिमाको दिन भुटेको अन्न खाली जमिनमा राख्दा राम्रो प्रभाव रहने बताउँछन्। त्यो दिन चन्द्रमाबाट अमृत निस्कने र त्यो अन्न खाएमा सुखशान्ति हुने उनको विश्वास छ। 'यही विश्वासमा किसानहरु आआफ्नो घरबाट भुटेको अन्न लिएर आउँछन्,' उनले भने, 'चित्र बनाएपछि त्यही रात उक्त कला प्रसादका रुपमा बाँडिने गरिन्छ।' 

यतिबेला यहाँका अधिकांश किसानका भकारी धानले भरिएका छन्। त्यही धानसँगै अरु अन्न मकै, भट्मास लगायत गेडागुडीसमेत मिलाएर बनाइएको यो कलाकृतिलाई नगर झनै सुन्दर देखियो।   भुटेका गेडागुडीको सुन्दर कलाकृति र त्यसबाट निस्केको मगमग महकले किसानबस्ती अघाएको भान हुन्थ्यो।

भक्तपुर टौमढीस्थित पाँचतले तथा भैरव मन्दिर अगाडि भुटेको गेडागुडीबाट बिस्केट जात्रामा उभ्याइने लिंगो र भैरवको रथको आकृति निर्माण गरिएको थियो। त्यसैगरी यातु गणेशमा पनि भुटेको मकै, भटमासबाट भुइँमा देवताको आकृति बनाइएको थियो। जिल्लामा रहेका अन्य मन्दिरका अगाडि पनि अन्नबाट विभिन्न विम्ब निर्माण गरिएको थियो। समुदायमा रहेका गुठी, दाफाभजनले आआफ्नो टोलमा रहेको देवदेवीको मन्दिर परिसरमा निर्माण गरिएका आकृतिको अगाडि भजनकीर्तन समेत गरे। 

आधिकारिक रुपमा कुनै प्रतियोगिता नभए पनि कसको कला राम्रो भन्ने चर्चा पछिसम्म चल्ने भएकाले किसानहरुले निकै मिहनेत गरेर आकृति कोर्ने गरेका छन्। 'उनीहरूले आफूलाई अरू कलाकारसँग दाज्ने तथा आफू बढी सक्षम भएको साबित गर्ने अवसर पनि हो यो,' संस्कृतकर्मी धौभडेल थप्छन, 'त्यसैले सबैमा विजेता बन्ने रहर पनि रहेको हुन्छ।'

ठूलो एकादशी मानिने हरिबोधनी एकादशीको पाँच दिनपछिको पूर्णिमा यहाँका किसानका लागि महŒवपूर्ण मानिन्छ। सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मानिने यो पर्व मौसमसँग सम्बन्धित छ। जाडो याम सुरु भएको संकेतका रुपमा यो पर्व मनाइने गरेको मान्यता  छ।

संस्कृतिकर्मी धौभडेलका अनुसार दशैंतिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा उर्जा प्राप्त हुने आधारले यो पर्व मनाउन थालेको सुनाउँछन्। 'उसिनेको पिँडालुले शरीर तताउँछ,' उनले भने, 'अन्नको कलाले मनलाई फुरुङ्ग बनाउँछ।'

प्रकाशित: ११ मंसिर २०७३ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App