९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सुकुम्बासी बन्यो सोनिसको परिवार

भक्तपुर- आवास पुनर्निर्माणवापत पहिलो किस्ताको रकम पाउन थालेसँगै भक्तपुरका भूकम्पपीडितमध्ये कतिपय परिवारलाई अझै पीडा थपिएको छ। यस्तै एउटा परिवार हो गत वर्षको भूकम्पमा २२ घन्टापछि उद्धार गरिएका बालक सोनिसको परिवार। भूकम्पका बेला ५ महिनाका सोनिस अहिले २ वर्ष पुगिसकेका छन्।

सोनिसका आमाबाबुले अस्थायी टहरा बनाउनका लागि सरकारले दिएको १० हजार रुपैयाँ र गत वर्षको जाडोमा न्यानो कपडाका लागि प्रदान गरिएको १५ हजार रुपैयाँमध्ये कुनै पनि राहत रकम अहिलेसम्म पाउन नसकेपछि पीडामा परेका हुन्।

हालसम्म भूकम्पपीडित परिचयपत्र समेत पाउन नसकेपछि सोनिसको परिवार सरकारले दिएका सबै राहतबाट वञ्चित भएका हुन्। भक्तपुर नगरपालिका–४ मूलढोकास्थित भत्केको घरको जग्गाको लालपुर्जा आफूसँग नहुँदा सोनिसको परिवार भूकम्पपीडितको परिचयपत्रसँगै कुनै पनि राहत पाउनबाट वञ्चित भएका छन्।

सोनिसकी आमा रश्मिलाले भूकम्पपछि आफ्नो परिवार सुकुम्वासी भएको भन्दै नागरिकसँग दुःख बिसाइन्। मनको बह पोख्दै उनले भनिन्, 'वैशाख १२ अघि बस्न सम्म भए पनि एउटा घर थियो र आफ्नो भन्ने केही सम्पत्ति थियो। अहिले आफ्नो नाममा केही छैन, सुकुम्वासी नै भइयो।' उनका अनुसार अहिले उनीहरूको नाममा घरजग्गा केही पनि छैन। भूकम्पअघि उनीहरूको परिवारको भक्तपुर मूलढोका कमलविनायकको मुख्य सडकमै १ पैसा १ दाम क्षेत्रफलमा चारतले घर थियो।

रश्मिलाका अनुसार भूकम्पअघि त्यस चारतले घरमा चार दाजुभाइको परिवास संयुक्त रुपमा बस्थ्यो। हरेक तलामा एउटा परिवार गरी चार परिवार जसोतसो त्यो घरमा गुजारा गरिरहेका थिए। थोरै जग्गामा बनेको घरको एक तलाको एउटा कोठामा भए पनि जिन्दगी बिताइरहेका उनीहरू भूकम्पपछि घर न घाटका भए।

अहिले उनीहरू बसेको घरको जग्गा त्यसै छ। जग्गा चार दाजुभाइको संयुक्त भएकाले कसैले पनि टहरासम्म बनाउन पाएका छैनन्। 'टहरा बनाउँदा कसले बनाउन पाउने भन्ने विवाद भयो,' रश्मिलाले पीडा पोखिन्, 'यसैले डेराभाडा तिर्न नपर्ने गरी टहरा बनाएर बस्न पनि पाइएन।' चार जनाको उनको परिवार अहिले भक्तपुर नगरपालिका–५ देकोचास्थित एउटा घरमा भाडामा बस्छन्।

भक्तपुर नगरपालिका–४ का सचिव भुवन बखुन्छेंले लालपुर्जा नभएकाले कतिपय पीडितलाई भूकम्पपीडित परिचयपत्र उपलब्ध गराउन नसकेको जनाए। जग्गा दर्ता गरेर लालपुर्जा लिनसके पीडितले परिचयपत्र पाउन सक्ने उनले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरका उपसंयोजक दीपक पाठकले २२ घन्टापछि उद्धार भएर विश्वमै चर्चित बनेका बालकको परिवार सुकुम्वासी हुनपुग्नु दुःखको विषय भएको बताए। उनले यसका लागि केन्द्रीय स्तरबाटै केही गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ६ मंसिर २०७३ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App