१६ चैत्र २०८० शुक्रबार
समाज

धर्म परिवर्तनले परिवारमा भाँडभैलो

दाङ- देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब दिन थाले। तर, हिन्दु धर्मबाट विचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिस्चियन भएकै कारण विवाह गर्न असहमति जनाए।

'मलाई दाइले बर्दियाकी क्रिस्चियन धर्म मान्ने केटीसँग विवाह गर्न कर गर्नुभयो,' रामबहादुरले नागरिकसँग भने, 'तर मेरो मनले मान्नै सकेन।' रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे। त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए। 'उहाँले भनेको केटीसँग मैले बिहे नगरेकाले अनि म क्रिस्चियन नबनेकाले दाजु रिसाउनुभएको थियो,' रामबहादुर भन्छन्, 'त्यसैकारण मलाई घर छुट्याइदिनुभयो।'

रामबहादुर प्रतिनिधि मात्र हुन्। फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन्। केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन्।

देउखुरी गढवा लक्षिणपुरकी सेतु नेपालीले अहिले यस्तै हैरानी बेहोर्नु परिरहेको छ। श्रीमान्को भन्दा फरक धर्ममा लागेपछि उनलाई अहिले धर्म परिवर्तन निल्नु न ओकेल्नु भएको छ। 'श्रीमान्सँग दिनहुँ झगडा र कुटपिट भइरहेको छ,' स्थानीय शिक्षक सकलराम चौधरी भन्छन्, 'हामीले श्रीमान्लाई धेरैपटक सम्झाउँदा पनि कलह रोकिएको छैन।' सेतु हिन्दु धर्म त्यागेर क्रिस्चियन धर्ममा प्रवेश गरिन्। उनको धर्म परिवर्तनको एउटै कारण थियो– क्रिस्चियन धर्ममा श्रीमान्लाई पनि ल्याउने र मदिरा सेवन गर्ने कुलतबाट जोगाउने।' तर सेतुको प्रयास विफल बन्यो। उल्टो दिनहुँको कलह निम्तियो। उनका श्रीमान् क्रिस्चियन बन्न मानेनन्। बरु दिनहुँ घरमा कलह हुन थाल्यो। 'मदिरा सेवनकै कारण उहाँहरूबीच विवाद भएको हो,' शिक्षक सकलराम भन्छन्, 'विवादका बेला धर्मको कुरा पनि जोडिँदो रहेछ।' सकलराम पनि क्रिस्चियन धर्मका अनुयायी हुन्। उनी थुप्रै परिवारमा अहिले धर्मसम्बन्धी विवाद चलिरहेको बताउँछन्। 'परिवारभित्र बेमेल भएका घटना धेरै हुन्छन्,' उनी भन्छन् 'श्रीमान् र श्रीमती फरकफरक धर्ममा लागेका परिवारमा यस्तो कलह व्यापक बन्दै गएको देखिन्छ।'

केही परिवारमा त दाजुभाइबीच सम्बन्ध बिग्रिएका उदाहरण पनि छन्। देउखुरी सतबरियास्थित एक चौधरी परिवारमा भित्रिएको 'धर्म–विवाद' ले दाजुभाइबीचको सम्बन्ध बिग्रिएको छ। उनीहरूबीच बोलचालसमेत बन्द भइसकेको छ। यो परिवारमा मृत्यु संस्कार कसरी गर्ने भन्नेबारे विवाद सुरु भएको थियो। बाबुको क्यान्सरबाट मृत्यु भएपछि फरक धार्मिक आस्था भएका दाजुभाइबीच उनको अन्तिम संस्कार कसरी गर्ने भन्ने विवाद चल्यो। परिवारका साइँला छोरा क्रिस्चियन हुन् भने बाँकी तीन दाजुभाइ हिन्दु।

साइँलाले बाबुको अन्तिम संस्कार क्रिस्चियन धर्मअनुसार गर्न चाहे। बाँकी तीन दाजुभाइले उनको प्रस्ताव स्वीकार गरेनन्। आखिर बाबुको मृत्यु संस्कारकै विषयमा चर्को विवाद भयो। गत वर्षको यो घटनापछि दाजुभाइबीच फाटो आएको छ। पहिले एकै परिवारमा मिलेर बसेका उनीहरूले यही विवादकै कारण घर फुटाए। 'बुवाको मृत्यु संस्कार कसरी गर्ने भन्ने विवाद भएपछि सम्बन्धै सकियो,' परिवारका कान्छा छोराले भने, 'अहिले पनि साइँला दाजुकोमा आवतजावत, बोलीचाली छैन।'

सतबरिया बनगैंका रमेश विश्वकर्मा (नाम परिवर्तन) लाई पनि समग्र परिवार क्रिश्चियन बन्दा एक्लिनुपर्‍यो। एक सदस्यबाट परिवार भित्र फैलँदै गएको 'प्रभुमोह' ले परिवारका सबै सदस्य यसमा लागे। उनलाई पनि परिवारले यो धर्ममा लाग्न धेरै प्रयास गर्‍यो। तर, उनी आफ्नो पुरानो आस्थाबाट विचलित भएनन्। 'घरमा आमा, दाजुलगायत सबै सदस्य क्रिस्चियन बने,' उनी भन्छन्, 'तर म बन्न सकिनँ। मेरो मनले हिन्दु धर्मको आस्था मार्न सकेन।' समग्र परिवार प्रभुको पक्षमा उभिँदा रमेशलाई उनीहरूको विपक्षमा एक्लै उभिन गाह्रो हुन थाल्यो। परिवारभित्र कचिंगल बढ्दै जान थालेपछि उनी पनि अलग भए। 'सँगै बस्न सक्ने अवस्था नभएपछि म घरपरिवारबाट अलग्गिनुपरेको हो,' उनी भन्छन्, 'परिवारसँग बोलीचाली, सहयोग आदानप्रदान भए पनि उहाँहरूमा मलाई फरक धर्मको भनेर हेर्ने दृष्टिकोण छ।'

धर्मका कारण विभाजित परिवारबीच मुख्यतः मृत्यु संस्कारका विषयमा ठूलो विवाद निम्तिने जानकार बताउँछन्। विभाजित भाइछोराबीच मृत्यु संस्कार कसरी गर्ने भन्ने विषयले विवाद चर्कने उनीहरू औंल्याउँछन्। 'अहिले परिवारभित्रको कलह सुरुआती अवस्थामै छ,' हिन्दु धर्मका अगुवामध्येका भोलानाथ योगी भन्छन्, 'यो पछि धेरै भयावह भएर जानेछ, यसको असर मुख्यतः मृत्यु संस्कार कसरी गर्ने भन्ने विषयमा पर्नेछ।'

 तुलसीपुरमै केही समयअघि मृत्यु भएका एक व्यक्तिको अन्तिम संस्कार गर्ने क्रममा विवाद भएको थियो। मृत्यु भएका बाबुको संस्कार क्रिीिचयन धर्मअनुसार गरिनुपर्ने भन्दै छोराले परिवारमा झगडा निम्त्याएका थिए। आफन्तले प्रस्ताव इन्कार गरिदिएपछि उनी रिसाएर घर छाडेर निस्केका थिए। 'दाहसंस्कार गर्ने विषयमा धेरै ठूलो झगडा भएको थियो,' एक स्थानीय महिलाले भनिन् 'आफन्तले हिन्दु धर्ममा जोड दिएपछि छोरा घरबाट निस्केका थिए।'

धर्म परिवर्तन बढ्दै जाँदा परिवारमात्रै नभई सिंगो समाजमै जटिल समस्या आउने समाजशास्त्रीको बुझाइ छ। घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक नवराज सुवेदी भन्छन्, 'यही शैलीले इसाईकरण फैलिँदै गयो भने सिंगो समाज भाँडिनेछ।' परिवारमा विभाजन सुरु भइसकेको बताउँदै समाजमा पनि स्थानीयबीच अलग–अलग समूह निर्माण हुन थालिसकेको उनले बताए। यस्ता फरक धार्मिक समूहकै कारण भोलि समाजका हरेक क्रियाकलापमा विमति र विवाद आउने उनको बुझाइ छ। उनले भने, 'हिन्दुहरूलाई सैतान भनेर क्रिस्चियनले गर्ने व्यवहार ठूलो चुनौती हो।' हिन्दुका धार्मिक संस्कारअन्तर्गतका कार्यक्रमलाई क्रिस्चियनले 'सैतानको नाटक' भनेर उपेक्षा गर्ने क्रम समाजमा बढ्दै गएको उनले बताए।

प्रकाशित: ३ मंसिर २०७३ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App