७ वैशाख २०८१ शुक्रबार
समाज

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

ललितपुर- विस्फोटक पदार्थ नपाएकाले राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक छोटो मार्ग कान्ति लोकपथ निर्माणमा ढिलाइ भैरहेको छ। कान्ति राजपथ सडक विस्तार आयोजनालाई सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भइरहेको हो।

हालसम्म लोकमागको ८० प्रतिशत सडक चौडा गरिएको र बाँकी सडक चौडा गर्न विस्फोटक पदार्थ चाहिने विस्तार आयोजनाले जनाएको छ। तर, विस्फोटक पदार्थ उपलब्ध नभएकाले चट्टान फुटाउन समस्या परेको छ। 'हामीले विस्फोटक पदार्थ उपलब्ध गराउन सेनासँग अनुरोध गरेका थियौं,' आयोजना प्रमुख दीपक केसीले नागरिकसँग भने, 'सडक विस्तार क्रममा केही ठाउँमा ठूला चट्टान फुटाउनु पर्ने भएकाले विस्फोटक पदार्थ मागेका हौं।'

सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध गराए एक सातामै सडक विस्तार सकिने आयोजनाले जनाएको छ। सडक विस्तार क्रममा रानीबास, मौरीभिर, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, काल्चेलगायत स्थानमा सडक खन्न ठूला चट्टानले अवरोध पुगेकाले चट्टान फुटाउन विस्फोटक पदार्थ आवश्यक भएको आयोजना प्रमुख केसी बताउँछन्।

१५ मिटर चौडा र ९० किलोमिटर लामो कान्ति राजपथ मकवानपुरको हेटौंडा बजारबाट चौगडा, मकवानपुरगढी, बागमती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ, सातदोबाटो निस्कन्छ। ५० किलोमिटर सडक मकवानपुरमा पर्छ भने बाँकी ४० किलोमिटर ललितपुरमा पर्छ। कालोपत्रे भएपछि ललितपुर सातदोबाटोबाट हेटौंडा पुग्न तीन घन्टा मात्र लाग्छ।

लोकपथ विस्तार निर्माण गरिसक्ने समयसीमा २०७५ असारसम्म भए पनि अहिलेसम्म ४५ प्रतिशत काम मात्रै सकेको आयोजनाले जनाएको छ। हालसम्म सडक विस्तार र नाली निर्माण भइरहेको छ। केसीका अनुसार अहिलेकै गतिमा काम भए दुई वर्षभित्र सडक विस्तार निर्माण सम्पन्न हुने अवस्था छैन। २०६५ सालमा सरकारले प्राथमिकतामा राखेर अघि बढाएको सडक आयोजनाको पहिलो चरणमा गत वर्ष नै विस्तार गरिसक्ने लक्ष्य भए पनि हालसम्म सकिएको छैन।

यस वर्ष विनियोजित बजेट रकम ६० करोडमा मकवानपुर बुद्धचोकदेखि जितपुर भञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गर्ने, नाली बनाउने र कालोपत्रे गर्ने लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम हुन नसकेको आयोजनाका इन्जिनियर विरेन्द्र गौतमले स्वीकारे।

सडक विस्तार निर्माण गर्न सरकारले आव २०६५/०६६ देखि २०६९/०७० सम्म वर्षेनी ५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको थियो। आव २०७१/०७२ मा १९ करोड, २०७२/०७३ मा ४० करोड ९२ लाख ३० हजार र यस वर्ष ६० करोड बजेट विनियोजन गरेको छ। सडक विस्तार निर्माणमा हालसम्म ९० करोड रकम खर्च भइसकेको आयोजना प्रमुख केसी बताउँछन्।

लोकमार्ग सञ्चालन भएपछि ललितपुरको सातदोबाटो, सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ र हेटौंडा बुद्धचोकसम्म ९० किलोमिटर दुरी ३ घन्टामै पार गर्न सकिन्छ।

काठमाडौं–हेटौंडा वैकल्पिक सडकका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई 'लोकमार्ग' नाम राखी विस्तार निर्माण अघि बढाएको थियो। सडक विस्तार निर्माणको लागत अनुमान ३ अर्ब ३१ करोड ७० लाख रुपैयाँ थियो।

२०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेपछि यो 'राजपथ' निर्माण शुरू गरिएको थियो। शिलान्यास गरेको ६० वर्ष बितिसक्दा पनि विस्तार निर्माण अझै सकिएको छैन। सेनाले सडकको ट्रयाक २०१६ सालमै खोलेको भए पनि सरकारले निर्माणमा ध्यान नदिएकाले एक वर्षमै सडक निर्माण रोकिएको थियो।

प्रकाशित: २ मंसिर २०७३ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App