८ वैशाख २०८१ शनिबार
समाज

‘केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’

पाँचौं अनसन क्रममा डा. गोविन्द केसीलाई साथ दिँदै डा. केपी सिंह। फाइल तस्बिर

काठमाडौं- अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् ।

वरिष्ठता आधारमा डिन नियुक्तिलगायत चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले अनशनको घोषणा गर्नासाथ भेट्न जाने र सहयोगको वचन दिने मात्र होइन, प्रत्येक अनशनमा हरेक दिनजसो अनशनस्थलमै साथ दिने सिंह यसपटक फर्किएर गएका छैनन् ।

अनशन बसेका केसीको बारम्बार रिपोर्ट हेर्दै स्वास्थ्य अवस्था मूल्यांकन गर्ने उनै हुन्थे । यतिसम्म कि पाँचौं अनशनमा वरिष्ठता मिचेर डिन बनाइएका डा. शशी शर्माको पक्षले दलबलसहित अनशन बस्नै अवरोध गर्दा सिंह नेतृत्वको टोलीले डा. केसीको रक्षा गर्दै अनशन बसाएको थियो ।

यसपटक भने दृश्य भिन्न छ, परिस्थिति फरक बनेको छ । डा. केसीका यी परम मित्र डा. सिंहलाई अगाडि राखेर चिकित्सा शिक्षा क्षेत्रमा सुरु भएको सुधार बिथोल्ने खेल भइरहेको छ । चार वर्षदेखि वरिष्ठता आधारमा चार डिन बनिसकेको अवस्थामा त्रिविले यो पद्धति बिथोल्ने गरी सिंहलाई अगाडि सारेको छ । डा. केसीको बुझाइ पनि नजिकका साथीसँग आफूलाई लडाएर विश्वविद्यालय प्रशासन र मेडिकल माफियाले चलखेल गरिरहेको भन्ने छ ।

‘यस्तो अवस्था आएको छ, डा. केसीको जीवन, अभियान र निष्ठाको लडाइँको इज्जत जोगाउने÷नजोगाउने भन्ने विषय उनका परम मित्रकै हातमा पुगेको छ,’ दुवै चिकित्सकको सम्बन्धका जानकार डा. वाइपी सिंह भन्छन् ।

यसपटक डा. केपी सिंह डिनको रुपमा जिम्मेवारीमा छन् । डा. केसी डिनको रुपमा सिंहलाई स्विकार्नुको विकल्प– ‘सिंहको राजीनामा वा बर्खास्तगी’ मात्र हुन्छ । त्रिवि पदाधिकारीले डा. केसी र सिंहबीचको सम्बन्धमा खेल्न खोजेको भन्ने बुझ्न कठिन छैन ।

आइतबार त्रिवि उपकुलपति तीर्थ खनियाँले समेत दुवैबीचको सम्बन्धन राम्रो हुनुले सिंहको नियुक्तिले आइओएममा समस्या समाधानमा सघाउने विश्वास व्यक्त गरेका थिए ।

के आफ्ना परम मित्र डा. केसीको जीवनरक्षाका लागि उनी यसका लागि तयार छन् त ? नागरिक प्रश्नमा सिंहले भने,  ‘मेरो पद उसको ज्यानभन्दा ठूलो होइन ।’

‘तर म पनि वरिष्ठता मिचेर आएको पनि त होइन नि,’ सिंहले डा. केसीको अनशन टुंग्याएर जीवनरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको सुनाए ।

डा. सिंहको पछिल्लो तर्क हेर्दा उनी सहजै पद छाड्ने सोचमा नरहेको देखाउँछ । डिन पदमा त्यस्तो के छ जसको अवसर आउँदा सिंहले डा. केसीको साथ छाडे ?

सेवाप्रवेशका आधारमा आफू वरिष्ठ भएको दाबी सिंहले गर्दै आए पनि उच्च तहको नियुक्तिमा यसलाई मानिन्न । संस्थामा प्राध्यापक भएको आधारमा सिंह वरिष्ठता सूचीमा नवौ नम्बरमा छन् । अर्को विषय सिंहको अवधि फागुन १० मा सकिँदै छ । यसबीच आइओएममा चार सहायक डिन र क्याक्पस प्रमुखको पदसमेत रिक्त छ ।

सिंहको हातबाट रिक्त पदमा आफूअनुकूलका पदाधिकारी नियुक्त गराउने, थाती रहेको सम्बन्धन प्रक्रिया ब्युउँताउने र वरिष्ठता पद्धतिसमेत भत्काउन सिंह रोजाइमा परेको विज्ञ चिकित्सकको बुझाइ छ ।

‘महŒवपूर्ण काम उनको हातबाट गराएपछि चार महिनापछि फेरि नयाँ मान्छे ल्याउने बाटो रहिरहन्छ,’ त्रिविका एक पदाधिकारीले भने, ‘उपकुलपतिज्यूले जसरी अरु संस्थानमा खेलिरहनुभएको छ, यहाँ पनि त्यसरी नै खेल्ने बाटो राख्नुभएको हो ।’

धेरैको विश्वास छ– डा. सिंह डा. केसीको जीवन, नैतिकता र अभियान रक्षाको बाधक बन्दैनन् ।

‘डिनको रुपमा जिम्मेवारी निर्वाह र उसका माग सम्बोधन गरेर अनशन टुंग्याउने प्रयास दुवै अगाडि बढाउँछु,’ डा. सिंहले नागरिकसँग थपे, ‘आज (सोमबार) पनि निकासबारे विभिन्न पक्षसँग छलफल गरेँ ।’

उमेरहदका कारण अगामी फागुन १० मा अवकास पाउँदै गरेका उनी किन रोजाइमा परे ? ‘यसबीच रिक्त डिन नियुक्ति अनुकूल गराउने र सम्बन्धनका विवादित विषय डा. केसीकै नजिकका मान्छेबाट गराउने तयारीअनुसार नै यो भएको हो,’ एक चिकित्सकले भने ।

सुरुमा सिंहलाई डिन बनाएको कुरा आउँदा केसीले पत्याएनन् । ‘राति नै सुनेपछि यो कस्तो रियाक्सन आउँला भनेर चलाइएको हल्ला होला भन्ने मात्र ठानेको थिएँ,’ डा. केसीले भने ।

डा. केसीले पनि सिंहलाई टेलिफोन गरेर सम्झाएका थिए–‘तिमीलाई र मलाई लडाएर यो सुधार अभियान बिगारिन खोजिँदै छ, तिमी पत्र नबुझ, चार महिना डिन भएर भएको छवि नबिगार ।’ तर उनले सुनेनन् ।

अघिल्लो दिनसम्म डिनको दौडको ‘सिन’ मै नरहेका सिंहको नियुक्ति एकाएक भएको त्रिवि उपकुलपति तीर्थ खनियाँसमेत स्विकार्छन् । ‘भएका विकल्पमा सहमति नबनेपछि उहाँमा सहमति होला भनेर नियुक्ति भएको हो,’ खनियाँले भने ।

आइओएमका वरिष्ठ प्राध्यापकहरुको अनुभवमा त्रिवि पदाधिकारीले वरिष्ठता मिच्न सिंहलाई एउटा ‘तुरुप’ फालेका हुन् । ‘सिंहबाट चाहेको काम पनि लिन सकिन्छ भन्ने पनि होला,’ एक प्राध्यपकले भने, ‘सिंहलाई दिएपछि केसीले विरोध गर्दैनन् भन्ने अपेक्षा र म केसीलाई मनाउँछु भन्ने सिंहको विश्वासले पनि काम गरेको हुन सक्छ ।’

डा. केसी चार वर्षदेखि डिन नियुक्तिमा बसेको पद्धति नभत्कियोस् भनेर अनशनमा बसेको बताउँछन् । ‘ऊ मेरो साथी हो, तर म पद्धतिका लागि लडेको हुँ, सिस्टम बसाल्न म आफैंविरुद्ध समेत लड्न सक्छु,’ डा. केसी भन्छन् ।

प्रकाशित: ३० कार्तिक २०७३ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App