१ श्रावण २०७७ बिहीबार
समाज

खुट्टाले कविता लेख्दैछिन् अमिता

काठमाडौं- उनी न उभिन सक्छिन् न उनका पयरले शरीर थाम्न सक्छन्। शारीरिक रुपमा उनी विकलांग भए पनि उनको मस्तिष्क भने निकै तीक्ष्ण छ। उनलाई बोल्न समेत सकस हुन्छ। हातले कलम समाउन नसके पनि उनले खुट्टाले लेखेरै आफ्ना भावना भावना अभिव्यक्त गरिरहेकी मात्र नभएर छिट्टै पुस्तक प्रकाशन गर्ने सपना साँचेकी छन्।

यस्तो ऊर्जा र आँटले भरिपूर्ण उनी हुन् भक्तपुर कमलविनायककी अमिता श्रेष्ठ। २६ वर्षीया उनी जन्मजात सेरेब्रल पाल्सी रोगग्रस्त छिन्। विकलांगता भए पनि आँटिली उनी कक्षा १० मा अध्ययन गर्दैछिन्। उनलाई बोल्न अत्यधिक कष्ट भए पनि अरुले भनेको कुरा भने सबै बु‰िछन्। तर पनि बिना सहयोगी उनको दैनिकी चल्दैन।

केही समययता अमिता चुट्किला, कविता लेख्न र भन्न रुचाउँछिन्। आफूसामु कोही पुग्दा उनी खुसी हुन्छिन्, चुट्किला समेत सुनाउँछिन्। उनले कवितामा देश, गरिबी, मानवता, मानवीय जीवन, श्रम र मुद्राको सम्बन्धजस्ता विषय उठाएकी छन्। एउटा कवितामा उनले आफ्नो भाव यसरी व्यक्त गरेकी छन्, 'मनको मैला हटाउ साथी हो, लिएर जाने केही छैन।'

रमाइला चुुट्किला तुुरुन्तै रच्नसक्ने अमिता दृढ इच्छाशक्तिले भरिएकी छन्। त्यसको प्रमाण उनले खुट्टाका भरमा कविता लेखेर पुस्तक प्रकाशित गर्ने धोको राख्नु हो। साथै उनी पत्रपत्रिका अध्ययन गरी ज्ञानविज्ञान, प्रकृति र अनौठा कार्यबारे प्रकाशित विभिन्न लेखरचना र तस्बिर संकलन उनका अरु अभिरुचीका विषय हुन्। उनी फुर्सदमा खुट्टाले कम्प्युटर चलाउँछिन्, फेसबुकजस्ता सामाजिक सञ्जाल हेर्छिन् र साथीलाई चुट्किला पनि सुनाउन भ्याउँछिन्। सेरेब्रल पाल्सीग्रस्त उनी ओठबाट निकै कठिनाइपूर्वक मसिनो स्वर निस्कन्छ, कुनै सहाराबिना उभिन र बस्न सक्दिनन्। त्यसैले मनमा आउने सबै भाव तत्काल कागजमा वा कम्प्युटरमा उतार्न सक्निन्। यस्तो बेला उनी आफ्नो नजिकका साथीलाई बोलेर कविता र चुट्किला लेख्न सहयोग माग्छिन्।

उनले पर्याप्त पुस्तक जुटाउन नसकेर अध्ययन गर्न नपाएको बताइन्। स्कुलको पढाइले पनि पाठ्यक्रम बाहिरका पुस्तक अध्ययन गर्न समय दिन नसकेको बताउँछिन् उनी। 'भेटेका पढ्छु, त्यति धेरै पुस्तक छैनन्,' उनले भनिन्। आफूजस्तै अपांगता भएकी झमक कुमारीले लेखेको पुस्तक 'जीवन काँडा कि फूल' भने पढिसकेको उनले बताइन्। कथा, निबन्ध र जीवनी पढ्न उनलाई बढी मनपर्छ।

उठ्न बस्न पनि नसक्दा अरुको भरमा जीवन धान्नु पर्ने उनको बाध्यता छ। तैपनि यस्तो स्थितिमा पनि उनी निराश छैनन्। 'जीवन भनेको आफूसँग जे छ, त्यसैमा रमाउनु पर्छ,' हाँस्दै भन्छिन् उनी। अमिताले आफूलाई जन्मेदेखि नै हेरचाह र सुखदुःखमा साथी बन्दै आएकी ममतामयी आमालाई चार महिनाअघि गुमाइसकेकी छन् भने बुवा पनि गम्भीर बिरामी छन्। एक मात्र दाजु अध्ययन क्रममा विदेशमा हुँदा उनी अहिले अभिभावकविहीन जस्तै छिन्। आमाको निधनपछि उनको स्याहारसुसारमा अरुको सहारा लिनु परेको छ। उनको नजिक रहेकी फूपु कृष्णमती वृद्ध भएकाले अमिताको हेरचाह गर्न सक्दिनन्।

विद्यालय जान नसक्ने अमितालाई परिवारले घरैमा शिक्षिका व्यवस्था गरि अध्यापन गराइरहेको थियो। एक वर्षको पाठ्यक्रम दुई वर्षमा सक्ने गरी विद्यालयले उनलाई व्यवस्था गरिदिएको छ। भक्तपुरको सूर्यविनायकस्थित शान्ति निकेतन माध्यमिक विद्यालयबाट आगामी वर्ष अमिता कक्षा दशको परीक्षामा सहभागी हुनेछिन्। तीन वर्षयता उनलाई अध्यापन गराउँदै आएकी शिक्षिका देवकी शाहीले भनिन्, 'मलाइ दुःख हुन्छ भनेर जे दिए पनि केही नभनि खान्छिन्।' 

प्रकाशित: २८ कार्तिक २०७३ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App