२८ असार २०७७ आइतबार
समाज

नागरिकता बनाउन चाहन्छन् लाले र बुद्धिमाया

(चिलंखा) दोलखा- भूकम्पले भत्काएको एकतले घरलाई टालटुल गरी काठले बारेर कटेरो बनाइएको छ। कटेरोमा २ छोरा र एक छोरीका ७० वर्षीया बाबु बलबहादुर तमाङ बस्छन्। बलबहादुरको कटेरो अगाडिको धन्सार घरलाई भूइँचालोले कुनै असर गरेन। धन्सारभित्र दाउरा र पराल थन्काइएको छ। काठको थामको बार आधा बाहिर निस्किएको छ। थामकै छेउँमा बलबहादुरका जेठा छोरा लाले टुसुक्क बसिरहेका छन्।

'बोल्न सक्दैन, हिँड्न पनि सक्दनै, त्यसैले २७ वर्षदेखि यसको बस्ने, खाने सबै यही धन्सारभित्रै छ,' बलबहादुरले सुनाए। ४० jर्षका लाले जन्मेदेखि नै बोल्न सक्दैनथे। सुस्त श्रवण शक्ति भए पनि सानै उमेरदेखि बाबु आमालाई घाँस काट्ने, जमिन जोत्ने जस्ता घरयासी काममा सघाउँदै आएका थिए। आफैँमा कमजोरी रहेका लालेको जिवनमा एउटा अध्यारो थपियो २०४४ सालमा।

दोलखाको उत्तरी केन्द्र सिगँटीबाट ३ घण्टा पैदल हिडेपछि पुगिन्छ चिलंखा गाविस ५ स्थित ढडेन टोलमा रहेको बलबहादुरको घर। हिउँदमा मात्र गाडि चल्ने यो भेगका मानिस अन्य याममा हिँडेरै सिगँटी आउजाउ गर्छन्।

१४ वर्षको उमेर छँदा त्यो दिन गाई बस्तुलाई घाँस काट्न रुखमा चढेका थिए लाले। खुट्टा जिप्टिएर अचानक रुखबाट लडे। कसैले देखेनन्। थाहा पाएनन् पनि। छोरो घर नफर्किएपछि बाबुआमा खोज्दै गए। 'हामी पुग्दा घाँटीबाट रगत बगिरहेको रहेछ, घर ल्याएर त्यतिबेला घरेलु उपचार गर्‍यौं'। उनका अनुसार लामो समय थलामा बसेपछि लाले उठ्नै सकेनन्। त्यसयता उनको बास धन्सारमै छ। 'राम्ररी उठ्न सक्दैन, उठ्यो भने पनि कुप्रो परेर उठ्छ अनि ४ पाइला हिँडेपछि थचक्कै बसीहाल्छ,' बलबहादुरले भने। लालेको उपचार गराउन बाबुले नखोजेका हैनन्। तर गरिबीले उपचारमा लैजान सकेनन्।

त्यसयता धन्सारमै बसिरहेका लालेलाई बाबु आफैँले खाना लगिदिन्छन्। 'खाना त लगिदिन्छु, तर कम खान्छ,' उनले भने। खाना भन्दा बढी छ्याङ खान रुचाउने लाले दिनभरजसो घरमै हुन्छन्। बलबहादुरका जेठा छोरा लालेमात्रै हैन, एकमात्र छोरी बुद्धिमाया पनि बोल्न सक्दिनन्। 'यो पनि जन्मेदेखि नै बोल्न सकिन'। यसैले गाई बस्तु चराउने र अरु काममा सघाउने गर्छे'। बुद्धिमाया २० वर्षकी भइन्।

बलबहादुरकी जीवन संगिनी ३ वर्षअघि मृत्यु भएपछि एक्लै बस्छन्। कान्छो छोरा विरबहादुरको परिवार माथ्लो घरमा बस्छन्। बोल्न नसक्ने सुस्त श्रवण शक्ति भएका दुवै जेठो छोरा र छोरीको बिचल्लीले उनी दुखित छन्। दुवैको अहिलेसम्म नागरिकता बनाइदिएका छैनन्।

'लालेको नागरिकता बनाउन खोज्दा पञ्चायतकालमै गाउँका ठूला ठालुले लाटोलाई नागरिकता किन चाहियो भनेर फर्काइदिए,' उनले भने, 'त्यसपछि वास्तै गरिएन'। हालः सिगँटीमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन लैजाने उनको धोको छ तर लालेलाई सिगँटी लैजान सक्ने सामर्थय बलबहादुरसँग छैन। 'त्यहाँ लैजान सक्दिन, हामीजस्ता निमुखाका लागि यही आएर कसले नागरिकता बनाइदिन्थ्यो र?' उनले प्रश्न गरे। नागरिकता बनाइदिन पाए लाले र बुद्धिमायाले सामाजिक सुरक्षा भत्ता पाउँथे र आफ्नो सेषपछि पनि दुःख पाउँदैनथे कि' बलबहादुरले भने।

चिलंखाका गाविस सचिव रिमलाल आचार्यले लाले र उनको बहिनीको अवस्थाबारे आफूले जानकारी नपाएको बताए। 'मैले तपाईँले भनेर नै सुने, के रहेछ बुझ्छु,' उनले भने। रिमलालका अनुसार पूर्ण अपांगले नागरिकता लिएपछि सदरमुकामस्थित महिला बालबालिका कार्यालयमा आवेदन गरेपछि परिचय पत्र पाएपछि गाउँ विकास समितिमार्फत सामाजिक सुरक्षा भत्ता पाउँछन्। अहिले सरकारले पूर्ण अपांगलाई मासिक २ हजार र आशिंक अपांगलाई मासिक ६ सय रुपैँया दिने गरेको आचार्यले बताए।

 

प्रकाशित: २६ कार्तिक २०७३ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App