४ वैशाख २०८१ मंगलबार
समाज

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

नेपालगन्ज- डेंगे रोगबाट संक्रमित बिरामीको संख्या नेपालगन्जका अस्पतालमा दिनहुँ थपिदै गएको छ। भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामीले उपचार गराएका हुन्। सुरुमा ज्वरो आउने, वान्ता आउने, हातखुट्टा दुख्ने लगायत लक्षण देखिएका बिरामीले यहाँका अस्पतालमा आएर स्वास्थ्य जाँच गराउँदा डेंगे पुष्टी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए।

उनका अनुसार हाल सम्म भेरी र शिक्षण अस्पतालको सम्पर्कमा आएका बिरामी मध्ये ४५ जनामा डेंगे पुष्टी भइसकेको छ। ‘शुक्रबार सम्मको तथ्यांक अनुसार अस्पतालमा आएका ४५ जना व्यक्तिमा डेंगे पोजिटिभ देखियो,’ उनले भने ‘बिदा परेकाले शनिबार र आईतबारको रिपोर्ट हामीलाई प्राप्त भएको छैन।’ जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अस्पतालमा बर्दियाका १६, बाँके ११, सुर्खेत ६, दाङ र कैलालीका ५/५ तथा रुकुम र कालिकोटका १/१ जना बिरामीमा डेंगे पोजिटिभ देखिएको छ। 

डेंगे पोजिटिभ देखिएका ११ जना सबै बिरामी नेपालगन्ज उपमहानगरपालिका भित्रका भएको पुष्टी भएपछि जनस्वास्थ्य कार्यालयले विशेष सावधानी अपनाएको जनाएको छ। ‘अरु व्यक्तिलाई रोग लाग्न नदिन लामखुट्टेको लार्भा मार्ने काम गरेका छौं,’ जनस्वास्थ्य प्रमुख खड्काले भने ‘यसका लागी स्वास्थ्यकर्मीमार्फत सर्वसाधारणलाई जनचेतना फैलाइरहेका छौं ।’ भेरी र मेडिकल कलेज बाहेक नेपालगन्जका अन्य प्राइभेट अस्पतालमा डेंगेका बिरामी भर्ना नभएको जानकारी दिदै उनले अहिले सम्म यी अस्पतालमा डेंगेबाट कसैको मृत्यु नभएको जिकिर गरे।

ज्वरो आउने, वान्ता आउने, हातखुट्टा दुख्ने लगायत लक्षण देखिएका बिरामीमा डेंगेको संक्रमण भए/नभएको पत्ता लगाउन ‘किट’ को माध्यमले जाँच गरिन्छ। ‘डेंगे पोजिटिभ देखिने वित्तिकै बिरामीलाई आवश्यक औषधी चढाइन्छ, समयमा अस्पताल आइपुगेका बिरामी निको भएरै फर्केका छन,’ भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले भने। एक महिना यता भेरी अस्पतालमा मात्र १४ जना डेंगुका बिरामी भर्ना भएको उनले जानकारी दिए। 

उक्त अस्पतालले डेंगेका बिरामीका लागी छुट्टै वार्डको व्यवस्था गरेको छ । अस्पतालको ‘डी’ वार्डमा आइतबार बिहान सम्म ३ जना बिरामी भर्ना भएको डाक्टर पाण्डेले जानकारी दिए। भेरी अस्पतालको तुलनामा बिरामीको संख्या नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बढी छ।

शिक्षण अस्पतालका फिजिसियन डाक्टर मधु अर्यालले एक महिनायता दैनिक रुपमा डेंगेका बिरामी आउने क्रम जारी रहेको बताए । ‘अस्पतालमा आउने बिरामी मध्ये बढी जसो डेंगेका बिरामी आउने गरेका छन्,’ अर्यालले भने ‘अधिकांस बिरामी निको भएर घर फर्किन्छन् ।’ अस्पतालले कतिपय गम्भिर खालका बिरामीलाई काठमाडौं र लखनउ रिफर गर्ने गरेको छ । कतिपय बिरामीमा अन्य रोगसँगै डेंगेको पनि संक्रमण देखिने गरेको उनले सुनाए ।

यहाँका अस्पतालमा यसअघि जिल्ला बाहिरका बिरामीले उपचार गराएपनि बाँकेका बिरामी भर्ना भएका थिएनन् । गत कात्तिक ११ गते मात्र पहिलो पटक नेपालगन्जका बिरामीमा डेंगे पोजिटिभ देखिएको जनस्वास्थ्य प्रमुख खड्का बताउँछन् । 

चिकित्सकका अनुसार ‘एडिज एजेप्टाई’ जातको पोथी लामखुट्टले टोकेपछि डेंगे मानिसमा सर्छ । बिहान र दिउँसोको समयमा मात्र यो लामखुट्टेले मानिसलाई टोक्छ । सफा पानीमा बस्ने यो लामखुट्टेबाट बच्न आफ्नो घरभित्र र बाहिर पानी जम्ने खाल्डा खुल्डी पुर्नुपर्ने र गमला, एसी, कुलर जस्ता बस्तुमा जमेको पानी समय समयमा फेर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । डेंगेका बिरामीले स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्ने सम्वद्धहरुले सुझाव दिएका छन् । 

 

प्रकाशित: २१ कार्तिक २०७३ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App