पृष्ठभूमि
नेपालमा २०३३ सालदेखि औपचारिक रूपमा आइसक्रिमको उत्पादन तथा बिक्री हुँदै आएको छ। विगत ४६ वर्षको इतिहासमा करिब १२० आइसक्रिम उद्योग विभिन्न जिल्लामा स्थापना भई करिब ४ अर्बभन्दा बढी लगानी भएको देखिन्छ। जसमध्ये १ अर्ब ५० करोड रूपैयाँजति बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भएको पाइन्छ।देशभरि नै करिब ५० लाख लिटर आइसक्रिमको खपत भइरहेको छ। जसमध्ये ५० प्रतिशत स्वदेशी संगठित क्षेत्रका आइसक्रिम उद्योगबाट उत्पादित सामानहरू बिक्री–वितरण भइरहेको, २५ प्रतिशत भारतलगायतका अन्य देशबाट आयात भएको पाइन्छ भने २५ प्रतिशत जति असंगठित क्षेत्रको माध्यमबाट कारोबार भइरहेको देखिन्छ।
आइसक्रिम उपभोगको अवस्था
नेपालमा स्वदेशमा उत्पादन हुने विभिन्न कम्पनीका आइसक्रिम र विदेशमाबाट आयातित आइसक्रिमको खपत हुँदै आएको पाइन्छ। नेपाल आइसक्रिम उद्योग व्यवसाय संघले गरेको एक सर्वेक्षणअनुसार स्वदेशमा स्थापना भएका आइसक्रिम उद्योगहरूको कुल जडित क्षमताको करिब ३० प्रतिशत मात्र उपयोग भएको पाइन्छ। स्वदेशी आइसक्रिम उद्योगहरूले पूर्ण रूपमा आफ्नो आइसक्रिम उत्पादन गर्न सक्ने जडित क्षमता बमोजिम उत्पादन गर्न सकिरहेका छैनन्।
सर्वेक्षण अनुसार आइसक्रिम उत्पादन गर्न आवश्यक हुने केही कच्चा पदार्थ जस्तैः फ्लेभर, स्टेबिलाइजर, प्याकिङ सामग्रीहरूमा लगाइएको (४० प्रतिशत) सम्मको उच्च भन्सार दरका कारण स्वदेशी आइसक्रिमको उत्पादन लागतमा वृद्धि भएकाले स्वदेशी आइसक्रिमको बिक्री मूल्य बजारमा बढी हुन जान्छ। यसका साथै विदेशबाट आयात हुने आइसक्रिमलाई कम भन्सार दर ९.५ प्रतिशत लगाइएका कारण विदेशी आइसक्रिमहरू सजिलै उपभोग गर्न सकिने भएकाले स्वदेशी आइसक्रिम उद्योगहरू मर्कामा परेका छन्।
यसका साथै आइसक्रिम उत्पादन गर्न चाहिने अति आवश्यक कच्चा पदार्थ जस्तै दुध, क्रिम, वटर, धुलो दुध आदि दुग्धजन्य कच्चा पदार्थका कारण पनि स्वदेशी आइसक्रिम उद्योगले पूर्ण रूपमा आफ्नो आइसक्रिम उत्पादन गर्न सकेका छैनन्। स्वदेशी उद्योगहरूले आयात गर्ने कच्चा पदार्थ धुलो दुध, चिनी, स्टेबलाइजर, फ्लेवर, प्याकेजिङ मेटरियलको ४० प्रतिशतसम्म भन्सार दर हुनु र विदेशबाट आयात हुने तयारी आइसक्रिमलाई साफ्टाअन्तर्गत राखिएका कारण भन्सार दर ९.५ प्रतिशत हाराहारी कायम छ। यसले गर्दा स्वदेशी आइसक्रिम उद्योगहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास हुन गइ उत्पादन क्षमता हुँदाहँुदै ठुलो परिमाणमा वार्षिक रूपमा २४ करोडभन्दा बढीको आइसक्रिम आयात भइरहेको छ।
मागको अवस्था
बढ्दो सहरीकरण, सूचना प्रविधिको पहुँच, जीवनशैली, खानपान र बानी–व्यवहारमा आएको परिवर्तनले आइसक्रिम लगायतका दुग्धजन्य खाद्य वस्तुको खपत दिनानुदिन बढ्दै छ। विवाह, व्रतबन्ध, जन्मदिनजस्ता सामाजिक उत्सवका कारण पनि आइसक्रिमको खपत बढदै छ। विश्वमा सबैभन्दा बढी आइसक्रिमको खपत हुने देशमा न्युजिल्यान्ड पर्छ। जहाँ प्रतिव्यक्ति २८ लिटर वार्षिक खपत हुन्छ। छिमेकी देश भारतमा ४०० मिलिलिटर प्रतिव्यक्ति र चीनमा १५०० मिलिलिटर प्रतिव्यक्ति रहेको छ। छिमेकी देशको तुलनामा हाम्रो देशमा आइसक्रिमको वार्षिक खपत प्रतिव्यक्ति १६६ मिलिलिटर मात्र रहेको छ।
विगत १० वर्षमा बढेको मागको मात्रा, छिमेकी भारत र चीनको औसत प्रतिव्यक्ति खपतको अवस्था, नेपालको हालको जनसंख्या आदि तथ्यहरूलाई हेर्दा आउँदो ४/५ वर्षमा हाल उपलब्ध प्रकारहरू र सम्भाव्य अन्य प्रकारहरू थप गर्दा वार्षिक १ करोड १५ लाख लिटरसम्म माग हुन सक्ने देखिन्छ।
नेपालका उद्योगको अवस्था र क्षमता
नेपालमा आइसक्रिमको बजार निकै राम्रो भएको पाइन्छ। देशलाई आइसक्रिम उत्पादनको क्षेत्रमा आत्मनिर्भर गराउन सकेको खण्डमा स्वदेशी आइसक्रिम उद्यमीहरूले धेरै नै टेवा पाउनेछन्। यसका साथै हाम्रा देशका किसानहरूलाई पनि प्रत्यक्ष रूपमा फाइदा हुनेछ। आइसक्रिम आयातको तथ्याङ्क हेर्दा हाम्रो देशमा आयातित आइसक्रिममध्ये लगभग ९९ प्रतिशत आइसक्रिम भारतबाट आयात भएको पाइन्छ।
बजारमा नेपाली आइसक्रिमबीच पनि प्रतिस्पर्धा छ। यसका साथै भारतीय आइसक्रिमको वर्चस्व भएकाले स्वदेशी आइसक्रिम उद्यमीहरूले पूर्ण रूपमा क्षमताअनुसार आइसक्रिम उत्पादन गर्न सकिरहेका छैनन्। स्वदेशी उद्योगहरूले कुल क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरेको अवस्था छ। बजारमा बढ्दो प्रतिस्पर्धा, भारतीय आइसक्रिमको वर्चस्व, कच्चा पदार्थको अभाव र कच्चा पदार्थ आयात गर्दा लाग्ने चर्को भन्सार दरले नेपाली आइसक्रिम उद्योगलाई निकै नै मर्का परेको पाइन्छ।
माग र उत्पादनबीच विद्यमान असमान निराकरण
-स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ र प्याकिङ सामग्रीमा लाग्ने भन्सार महसुल दर घटाउने। विदेशबाट आयात हुने तयारी आइसक्रिमलाई साफ्टाबाट हटाई ४० प्रतिशत भन्सार महसुल दर कायम गर्ने।
-सहुलियतपूर्ण कर्जा र कर छुटको व्यवस्था गर्ने।
-असंगठित आईसक्रिम उत्पादकलाई संगठित र दर्ता गरी सञ्चालन गर्न उत्प्रेरित गर्ने र सुविधा दिने।
-आयतित आईसक्रिम निर्यात गर्ने देशमा भएको अधिकतम खुद्रा मूल्य र नेपालमा बिक्री गर्ने मूल्यबीच अधिक अन्तर भए आकर्षित हुने कानुन बमोजिम गर्ने।
-कच्चा पदार्थको उपलब्धता भण्डारण सुविधा र पूर्वाधार विकास गरिदिने।
आत्मनिर्भरताका लागि आवश्यक प्रयास
१. आइसक्रिम उद्योगलाई आवश्यक हुने दुग्धजन्य कच्चा पदार्थहरू जस्तैः दुध, धुलो दुध, क्रिम, मक्खनजस्ता दुग्धजन्य पदार्थहरूको सहज रूपमा उपलब्ध गराउने।
२. गुणस्तरीय कच्चा पदार्थ आपूर्तिका लागि आवश्यक कदम चाल्ने।
३. स्थापित आइसक्रिम उद्योगहरूको प्रविधि विकास र हस्तान्तरण सम्बन्धी कार्य गर्ने।
४. विभिन्न प्रकारका आइसक्रिम उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार महसुल दरमा सहुलियत दिने र स्थानीय उत्पादनलाई प्रोत्साहन दिने।
(महासचिव, नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ)
प्रकाशित: २० फाल्गुन २०७९ ०१:३९ शनिबार