काठमाडौं—नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आरध्यदेव पशुपतिनाथमा आज बिहान विशेष पूजाअर्चना गरे। दर्शनका क्रममा उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकमा एउटा सन्देश पनि लेखे। त्यो सन्देश लेख्ने कलममा सामान्य प्रयोगमा आइरहनेभन्दा फरक हरियो मसीकी थियो।
‘यो मन्दिर भारत र नेपालका भक्तका लागि समानरुपमा श्रद्धाको केन्द्र हो’, उनले सन्देशमा भनेका छन्।
मेरो राजकीय भ्रमणको दौरान यो घोषणा गर्न पाउँदा मलाई आनन्दानुभूति भइरहेको छ कि भारत सरकारद्वारा मन्दिर क्षेत्र आसपासको घाट पुनःनिर्माण तथा जिर्णोद्धारमा समेत सहयोग हुनेछ।
अार्यघाट पुनःनिर्माणमा सहयोगको घोषणा
सन्देशमार्फत भारतीय राष्ट्रपतिले मन्दिर क्षेत्रको आसपासको घाट पुनर्निर्माण सहायताको घोषणा समेत गरेका छन्। 'मेरो राजकीय भ्रमणको दौरान यो घोषणा गर्न पाउँदा मलाई आनन्दानुभूति भइरहेको छ कि भारत सरकारद्वारा मन्दिर क्षेत्र आसपासको घाट पुनःनिर्माण तथा जिर्णोद्धारमा समेत सहयोग हुनेछ', उनले लेखेका छन्। नेपाल-भारत मैत्री धर्मशाला परियोजना कार्यान्वयन भइरहेकोमा भारत सरकार खुशी रहेको उनको सन्देशमा उल्लेख छ।
‘म पशुपति क्षेत्र विकास न्यासलाई यो अद्वीतीय मन्दिर परिसरको संरक्षण एवं यसको रेखदेख गर्ने दिशामा उसद्वारा भइरहेको प्रयासको सफलताका लागि शुभकामना दिन्छु’, उनले आगन्तुक पुस्तिकामा लेखेका छन् ‘पवित्र पशुपतिनाथ मन्दिरमा पुनः आएर मलाई प्रशन्नताको अनुभूति भइरहेको छ', उनले लेखेका छन्। मुखर्जीले विशेष पूजामा सहभागी भएर आनन्दको अनुभूति भएको समेत सन्देशमा लेखेका छन्।
एक घन्टा पूजा
बिहान १० बजे पशुपतिनाथ पुगेका उनले झन्डै १ घन्टा लगाएर पूजाअर्चना गरेका थिए। उनले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरे।
उनले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गरेका थिए। उनले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरे। त्यसअघि उनले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गरेका थिए। साथै उनले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरे।
राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए। साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए।
राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गरे भने कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गरे। पूजा सकेर फर्किने बेलामा उनले आगन्तुक पुस्तिकामा सन्देश लेखे। उनले हरियो रंगको मसी भएको कलमले माथि उल्लिखित सन्देश लेखेका थिए।
के अर्थ हुन्छ हरियो रंग हस्तलेखनको?
सन्देश लेख्न मुखर्जीले सामान्य प्रयोगमा आउने निलो, कालो वा रातो मसीको प्रयोग गरेनन्। उनले यी सबैभन्दा फरक हरियो मसी प्रयोग गरे। हरियो मसी लेखनीलाई कतिपय मनोवैज्ञानिकले भएभन्दा राम्रो व्यक्तित्व दर्शाउन प्रयोग गरिने उल्लेख गरेका छन्। योसँगै हरियो मसीले लेख्नुको अर्थ हो— शान्ति, स्थिरता र प्रकृति।
प्रकाशित: १८ कार्तिक २०७३ ०९:२८ बिहीबार