coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रुपन्देहीमा २ को हत्या १ को हत्या प्रयास

रेखा भुसाल

भैरहवा– रुपन्देहीमा दशैंतिहारको बेला हत्या र लुटपाटका श्रृखलाबद्ध घटना भएका छन्। पछिल्लो एक सातामा दुइ महिने सुत्केरीसहित दुई जनाको हत्या भएको छ। एक महिलाको शव फेला परेको छ। अर्की एक महिने सुत्केरीको हत्या प्रयास भएको छ। हत्या प्रयास गरीएकी ती महिलाको गम्भिर अवस्थामा न्युरो अस्पताल काठमाडौं उपचार भइरहेको छ। यी घटना रुपन्देही प्रहरीले दशंैतिहार विशेष सुरक्षा योजना लागू गरिएको भनिएकै समयमा घटेका हुन्।

तिहारको चार दिनअघि  देवदह नगरपालिकामा दुई महिने सुत्केरीको लुटपाटपछि हत्या भयो। दुई महिनाकी छोरीसँग आफ्नो कोठामा सुतेकी देवदह २ ढेकारकी २२ वर्षे नमकला पाण्डेको शुक्रबार राति कुटपिट तथा टाउकोमा धारीलो हतियार प्रहार गरी हत्या भएको हो। आइतबार बिहान तीन बजेतीर दुधे बालिका क्याल क्यालती रोएपछि घरका परिवारले थाहा पाएका थिए। मृतक पाण्डेका सासुससुरा अर्को कोठामा सुतेको र श्रीमान बैदेसिक रोजगारीमा रहेको बताइएको छ। बिहानपख बच्ची दुध खान नपाएर धेरै बेरसम्म रोएपछि कोठामा आईहेर्दा बुहारी घाइते अवस्थामा लडेको र टाउकोबाट रगत बगिरहेको ससुरा देवीप्रसाद पाण्डेले बताए। तत्काल प्रहरीलाई खबर गरी अस्पताल पुर्याइएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। नमकलाले लगाएको सुनको सिक्री, औंठी, मंगलसुत्रलगायतका करिब ५ तोला सुनका गहनासमेत लुटिएको प्रहरीले जनाएको छ।

सो घटना घटेको तीन दिन पछि देवदहमै फेरी त्यस्तै प्रकृतिको अर्को घटना दोहोरियो। सोमबार बिहान करिब साढे १ बजेतिर देवदह ४ सेमरहनाकी २३ बर्षीय दिपा थापाले लगाएका गरगहना लुटपाट गरी धारिलो हतियारले हत्या प्रयास गरियो। एक महिने सुत्केरी थापा गुल्मीबाट केही दिन अघिमात्रै माइतीघर देवदह आएकी थिइन्। थापाले कानमा लगाएको करिब एक तोला बराबरको सुनका गहना लुटिएको प्रहरीले जनाएको छ। यो घटनामा पनी एक महिने बालक एकैनासले धेरै बेर सम्म रोएपछि घरकाले थाहा पाएको घाइतेका बुवा पूर्णबहादुर थापाले बताए। दिपाको दुवै कन्चटमा  धारिलो हतियार प्रहार गरीएको छ। घाइते थापाको बुटवल भैरहवामा उपचार हुन नसकेपछि न्युरो असपताल काठमाडांै लगिएको हो। उनको अवस्था अहिले पनि गम्भिर रहेको रुपन्देही प्रहरीले बताएको छ।

त्यस्तै तिहारको एक दिनअघि सोमबार बुटवल १४ घमाहा खोलाको पुलमुनि एक युवाको हत्या गरी फालिएको अवस्थामा शव भटियो। बुटवल गोलपार्कका ३२ बर्षीय बिरबहादुर गुरुङ्गको ह्याम्मरले हानेर हत्या गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुरुङ आईतबार साँझ ५ बजेसम्म ज्योतिनगर क्षेत्र विकास युवा क्लबमार्फत देउसीभैलो खेलेका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताए । मृतक गुरुङको साथबाट तार जोडिएको डेटोनेटर पनि फेला परेको छ । हत्यामा प्रयोग गरिएको हथौडा प्रहरीले भेटाएको छ । गुरुङ यसअघि पनि बिभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको र प्रहरी कारवाहीमा परिसकेकाले त्यस्तै प्रकृतिका साथीहरुबाटै हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । सोमबारै रुपन्देहीकै तिलोत्तमा नगरपालिकामा अर्की एक महिला मृत्त अवस्था भेटिइन । तिलोत्तमा १६ मद्रानीकी अन्दाजी २७ बर्षिय गरीना खातुनको शव खुला चौरमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । खातुनले विष सेवन गरेको भनी उनका पतीले जाहेरी दिएको भएपनि हत्या या आत्महत्या भन्नेबारे अनुशन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यी चारै घटनामा अहिले सम्म अपराधि पत्ता लाग्न सकेका छैनन । देवदहका दुइ वटै घटनामा लुटेरा समुहको संलग्नताको आशंका गरेको प्रहरीले घटनाको अनुसन्धानका लागि जिल्ला क्षेत्र र केन्द्रबाट टोली खटीएको डिएसपी मरासीनीले बताए । अनुसन्धान टोली अपराधि नजिक पुगेको बताइए पनि प्रहरीले थप कुरा खुलाएको छैन । दिन बिराएर दोहोरीरहेका यस्ता लुटपाट र हत्याका घटनाले रुपन्देहीबासी त्रस्त छन । रुपन्देही प्रहरीले दसै आउनु एक साता अघिदेखिनै चाडपर्वलाइ लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको थियो । जिल्लाको मुख्य तथा सहायक राजमार्ग,सिमाक्षेत्र, शहर तथा गाँउगाँउमा मोवाइल, साइकल, मोटरसाइकल गस्ती सहित प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएपनि तिहारको संघारमा लुटपाट र हत्याका घटना दोहोरीए । शहरका मुख्य चोक चौराह बाहेक गाँउठाँउमा प्रहरीको सक्रियता नभएकाले यस्तो घटना दोहोरीएको देवदेहका बासीन्दाले गुनासो गरेका छन ।  यता प्रहरीले भने सुरक्षा व्यवस्था कडा पारीएकै कारण जिल्लामा दसैतिहारका बेला यी चार घटना बाहेक चोरी र अन्य अपराधिक घटना नभएको दावी गरेको छ ।

प्रकाशित: १७ कार्तिक २०७३ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App