जाजरकोट– जाजरकोट सदरमुकाम खलंगामा दैनिक एक दर्जन बढी देउसी भैलो समुहहरु आइरहेका छन्। खलंगामा आउने सबैजसो देउसी भैलोहरुले भट्याउने र गीत गाउन मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिइरहेका छन् ।
उनीहरुमा कुनै पनि मोलिकता देखिँदैन । अधिकांश भैली समुहहरुले हिन्दी र नेपाली चलचित्रका गीत एवम एल्वममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन न मुरली र खैजडी नै । ठुलाठुला साउन्डवक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो समुहरु हिँडेका हुन्छन्।
देउसीभैलोहरुले ठुलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी हल्ला मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् । ठुलो ठुलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफुहरुलाई रमाइलो भन्दा बढी डर लाग्ने गरेको उनीहरु बताउछन् ।
स्थानीय निर्माण व्यावसायी तेजविक्रम शाह पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर आज भोलि आयतित गीतहरु सुनेर वाक्क लाग्ने गरेको बताउँछन् । ‘पहिले आफै भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो तर आज भोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन्,’ उनले भने ।
यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको उनले बताए। त्यस्तै भेरी मालिका नगरपालिका ३ का जेष्ठ नागरिक मानबहादुर सिंह पहिले देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने गरेको वताउछन् ।
तर आज भोलि कसैको हातमा पनि ती वाजाहरु देखिदैनन, उनले भने । सिंहले हाम्रो मौलिक पहिचान वोकेका देउसी भैलो गीतमा विकृति भित्रिन लागेको भन्दै चिन्ता व्यक्त गरे ।
पहिलेका भैलीहरु विशुद्ध मनोरन्जल र सस्कृति जोगाउनका लागि हुन्थे तर आज भोलिका देउसी भैलोहरु हेर्न पनि हप्ठेरो लाग्छ उनले भने ।
१० वर्ष अघि सम्म जाजरकोट सदरमुकाम खलंगा लगाएतका गाउँहरुमा देउसी भैलो खेल्नेहरुको पोषाकमा नेपाली पन देखिन्थ्यो भने उनीहरुले भटटयाउने भैलो गीत र अन्य गीतहरुमा स्थानीय मौलिक्ता झल्किन्थ्यो, खलंगाको ठाँटीवजारकी पदमा पुनले भनिन् ।
उनले पहिले पहिले वालवालिका देखि युवायुवती र प्रौढ एवम वृद्धवृद्धाहरुले देउसी भैलो स्थानीय गीत संगीतका साथ खेल्ने गरेको वताइन् । अहिलेका देउसी भैलो खेल्नेहरु भने सवै वनावटी गीतहरुको भर पर्छन् उनले भनिन् ।
पछिल्लो पुस्ताका युवाहरुले स्थानीय लोकसस्कृति छोड्दै गएका कारण जिल्लाका सिंगारु, पैसेरी, ख्याली, देउडा, फाक, हिउदाले भाका, ठाडो भाका, झयाउरे गीत र नाँच लगाएतका सस्कृतिहरु अहिले पुर्ण रुपमा हराउदै गएकोमा स्थानीय वुढापाखाहरु चिन्तित देखिन्छन् । पहिले मेला पर्व देखि देउसी भैलो लगाएतका समाजिक एवम अन्य कार्यक्रममा स्थानीय लोकवाजा र स्थानीय नाचहरु निकै रमझमका साथ हेर्न पाइने गरे पनि अहिले भने विस्तारै सवै हराउदै गएको उनीहरुको भनाइ छ ।
जिल्लाका स्थानीय वाजा संरक्षणका लागि जिल्ला विकास समिति लगाएतका सस्थाहरुले वजेटको व्यवस्था गर्ने गरेपनि ती वाजाहरुको प्रयोग नहुदा ती वाजाको प्रचल देखिँदैन । नयाँ पुस्तामा स्थानीय या मौलिक सस्कृति मोह घट्दै गएका कारण समस्या परेको हो ।
प्रकाशित: १३ कार्तिक २०७३ ११:३४ शनिबार