१६ चैत्र २०८० शुक्रबार
समाज

सामाजिक सञ्जाल, समाज जोड्दै कि तोड्दै ?

सामाजिक सञ्जालको दुरुपयोग विरुद्ध बुधबार भरतपुरमा महिलाहरुले गरेको प्रदर्शन

चितवन–फेसबुक ट्विटर जस्ता इन्टरनेटमा आधारित सामाजिक सञ्जालको प्रयोग बढेसँगै दुरुपयोग पनि हुने गरेको छ। कम्प्युटर, ल्यापटपबाट मात्रै नभएर खल्तीमा अटाउने मोबाइल फोनसेटबाट समेत सहजै चलाउन मिल्ने सामाजिक सञ्जालले मान्छेलाई असामाजिक त बनाउँदै छैन? बुधबार भरतपुरमा यही प्रश्नसहित महिलाहरुले प्रर्दशन गरेका छन्।
‘सामाजिक सञ्जाल, समाज जोड्दै कि तोड्दै? सामाजिक सञ्जाललाई असामाजिक नबनाऔं, साइबर अपराध र सामाजिक सञ्जालबाट हुने अपराध रोक्न प्रहरी एकजुट होस, फेसबुक जस्तो सामाजिक सञ्जालको कसैले दुरुपयोग नगरौं, दुरुपयोग गर्नेलाई सम्झाउ’ जस्ता प्लेकार्ड बोकेर महिलाहरु र्यालीमा सहभागि भएका थिए।

भरतपुर चौविसकोठीबाट महिलाहरुले निकालेको र्याली चितवन जिल्ला प्रशासन कार्यालयमा पुगेर सकिएको थियो। महिलाले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मालाई ज्ञापनपत्र बुझाए। चितवनमा क्रियाशील विभिन्न ३१ वटा संघ संस्थाले गठन गरेको सामाजिक सञ्जाल दुरुपोग विरुद्धको अभियान चितवन नामक संस्थाले प्रदर्शन आयोजना गरेको हो।

‘दुरुपयोग रोक्ने यो अभियानलाई हामी चितवनबाट देशव्यापी बनाउने योजनामा छौं’, ज्ञापनपत्र बुझाउँदै अन्तरपार्टी महिला सञ्जाल चितवनकी संयोजक संगिता भट्टराईले भनिन्। सामाजिक सञ्जालको दुरुपयोग हुँदा महिलाहरु नै बढी पीडित हुनु परेको उनले बताइन्। गाली गलौज र लाञ्छना लगाउने मात्रै नभएर हत्यासम्मका घटनाहरु हुने गरेको उनको भनाइ छ।
‘चितवन जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आउने धेरै जस्ता अपराधसँग सम्बन्धित उजुरीहरु फेसबुकका कारण महिलालाई परेको मर्कासँग सम्बन्धित छ। गाली गलौज र चरित्र हत्या मात्रै नभएर फेसबुकबाट बसेको सम्बन्धले महिला हत्यासम्म भएको घटना प्रहरीमा छ’, भट्टराईले भनिन्।

‘सामाजिक सञ्जाल तथा अनलाइनहरुमा जथाभावी लेख्ने, अश्लिल सामाग्रीहरु राख्ने, शिष्टाचार र नैतिकताभन्दा बाहिर गएर व्यक्ति र संस्थामाथि लाञ्छना लगाउने, सामाजिक सद्भाव भड्काउने जस्ता विषयप्रति सरकार गम्भिर हुँनैपर्छ। त्यसो गर्नेलाई कारवाही हुनु पर्छ’, महिलाहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। कानुन नै बनाएर यस्ता कुरामा कडाइ गर्न महिलाहरुले माग गरेका छन्।

‘हाम्रो यो अभियान जनमानसलाई सजग गराउने, दुरुपयोग गर्नेलाई निरुत्साहित गराउने र सरकारलाई कारवाहीका लागि दबाव दिन सुरु भएको हो’, महिला नेतृ सरिता केसीले भनिन्। प्रदर्शनको समिक्षा र आगामी कार्यक्रमको रुपरेखा तयार गर्न चाडै बैठक बस्ने उनले जानकारी दिइन्।
‘व्यक्तिको मान प्रतिष्ठामाथि आक्रमण हुने, बालबालिकाहरु आफ्नो पढाइ र जिम्मेवारीबाट विमुख हुने र ठगी र हत्यासम्मका घटना बढेका कारण आज यसरी जाग्नु परेको हो’, प्रदर्शनमा सहभागी सकुन्तला हमालले भनिन्। उनले फेसबुक जस्ता सामाजिक सञ्जालबाट हुने दुरुपयोग रोक्न व्यक्ति सचेत र सरकार सशक्त हुनु पर्ने बताइन्।

 

प्रकाशित: १० कार्तिक २०७३ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App