१६ चैत्र २०८० शुक्रबार
समाज

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

अनिल भण्डारी

सिन्धुली– चार्डपर्वलाई मध्यनजर गर्दै सरकारले बिपी राजमार्गमा अनिवार्य पटके काटेर गाडी सञ्चालन गराउँदै आएकोमा पुनः इजाजत बिनाका सवारी प्रहरीले रोकेको छ। दशैं अवधिभरलाई सरकारले पटकेमा सञ्चालन गरे पनि दशैं सकिएसँगै पूर्वी तराई क्षेत्रका गाडी बिपी राजमार्गबाट निरन्तर सञ्चालन हुन थालेपछि प्रहरीले रोकेको हो। बिपी राजमार्गमा सवारी सञ्चालनमा स्पस्ट खाका तथा नियम लागु नुहुन र यातायात व्यवसायीले त्यही राजमार्ग भएर जान खोज्नुले सँधै प्रहरी प्रशासन र यातायात व्यवसायीबिच टकराब हुँदै आएको छ।

सरकार परिवर्तनसँगै बिपी राजमार्गमा नयाँ नयाँ नियम बन्दा यातायात व्यवसायी पनि आजित भएका छन्। इजाजत(रुटपरमिट) व्यवसायीले नपाउने र इजाजत बिना सवारी सञ्चालन गर्न नपाउने प्रशासनले बताएपछि यातायात व्यवसायी तथा यातायातका स्टाफहरु प्रहरीसँग टकराब गर्दै आएका  छन् ।

बुधबार बिहानैबाट ट्राफिक प्रहरी सक्रिय भई रुटपरमिट बिनाका ट्रक तथा बस रोकेपछि पुन समस्या उत्पन्न भएको हो। सरकारले बिपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी सडकमा हालसम्म परमिट दिएको छैन । साना सवारी बाहेक ठुला सवारीलाई परमिट नदिँदा प्रहरीलाई पनि झमेला भएको छ। जुन प्रहरी प्रमुख भएर आए पनि राजमार्गको बिषयमा सँधै झमेला हुन्छ, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारले भने–‘राजमार्गको चौडा तथा गुणस्तर सबै ठाँउमा उस्तै हो तर सिन्धुली–खुर्कोट सडक खण्डमा परमिट नपाउँदा सँधै झमेला भएको छ। दशैं अगाडीबाटै सरकारले परमिट बिनाका सवारी रोक्ने निर्णय गरेपनि चाडपर्वमा जुनसुकै हालतमा सवारी चलाउन पाउनुपर्ने व्यवसायीको जिकिरी भएपछि पटकेमा सवारी सञ्चालन हुँदै आएको थियो।

यातायात व्यवस्था बिभागबाटै अध्यन टोली आएर समस्याको समधान गर्नुपर्ने प्रहरीको भनाइ छ। प्रहरीको काम निर्देशन जे आयो त्यही गर्नुपर्ने हो, एसपी पञ्जियारले नागरिकसँग भने, ‘तर व्यवहारिकतालाई हेर्न बाध्य भएका छौं।

सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ४० किलोमिटर इजाजत नपाउँदा रामेछाप र दोलखाका सवारीलाई समेत प्रभाव परेको छ। बिपी राजमार्ग हुँदै रामेछाप दोलखा पुग्ने सवारी सिन्धुलीमाढीमै रोकिएका छन्। ‘अब पुर्वबाट आएका सवारीलाई प्रहरीले मात्र रुट परमिट मागेर रोक्न सक्ने अवस्था छैन,’ पञ्जियारले भने, ‘यात्रुसमेत प्रहरीसँग बिबाद गर्छन्।’

रुट परमिट नपाउँदा व्यवसायी प्रशासनसँग सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बिवादसमेत गर्ने गरेका छन्। कहिले सडकमा गाडी तेस्र्याएर आन्दोलन गर्ने त कहिले बिवाद गर्ने जस्ता टकराब व्यवसायीले पनि गर्दै आएका छन्। ‘प्रशासनको व्यवसायीसँग टकराब जस्तै भएको छ,’ प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले नागरिकसँग भने, ‘माथिको निर्देशन मान्नैपर्छ परमिट नभएकालाई पठाउन सक्दैनौं, व्यवसायी जान पाउनुपर्छ भन्छन् ।’

उनले परमिट नभएका ट्रक तथा बस प्रहरीले रोकेको जनाए। हामीले परमिट लिएर आउ भनेका छौं, प्रजिअ कार्कीले भने समस्याको समधान हुन्छ। उता यातायात व्यवसायीको भने आफ्नै व्यथा छ। पटक पटक इजाजतका लागि यातायात बिभाग धाउँदासमेत परमिट नपाएको उनिहरुको गुनासो छ। लामो समय परमिटकै लागि कसरत गर्दा खुर्कोटसम्मको पाएपनि सिन्धुलीमाढीसम्मको नपाउँदा ठूला यातायात व्यवसायीको समस्या जिउँकातिउ छन्। जिल्लाभरबाट काठमाण्डौं जाने ठूला सवारीलाई पनि प्रहरीले परमिट खोज्दै आएको छ।

सिन्धुलीमाढी–खुर्कोट सडक खण्ड अत्याधिक घुमाउरो र जोखिमयुक्त क्षेत्र भएको भन्दै यातायात व्यवस्था बिभागले परमिट दिएको छैन। परमिटका लागि आफूहरुले पटक पटक धाउँदासमेत इजाजत नपाएको बिपी यातायात व्यवसायी संघका अध्यक्ष आकाश श्रेष्ठले बताए। बिपी राजमार्ग साँघुरो र घुमाउरो भएको भन्दै नेपाल सरकारले १६ सिट क्षमताभन्दा माथिका सवारीलाई हालसम्म रुट परिमिट दिएको छैन।

परमिट बिनै हालसम्म सञ्चालन हुँदै आएका ठुला सवारीलाई विभिन्न स्थानको दुर्घटनापछि परमिट बिना चल्न नपाउने भन्दै प्रहरीले कडाई गर्न थालेपछि परमिटका लागि व्यवसायीले पटक पटक ताकेता गर्दै आएका छन् । तर हालसम्म परमिट नपाएको उनिहरुको गुनासो छ । पुर्वी तराईसहित विभिन्न जिल्लामा पुग्नका लागि काठमाण्डौंबाट छोटो दूरीमा पुग्न सकिने राजमार्ग अत्याधिक साँघुरो र घुमाँउरो हुँदा दुर्घट्नाको जोखिम छ। दुर्घटनाको जोखिम भएकै कारण झन्डै दुई वर्ष अगाडीबाटै बिपी राजमार्गमा १० देखि १२ चक्के ठुला ट्रकलाई रोक लगाइएको छ।


 

प्रकाशित: १० कार्तिक २०७३ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App