ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मरणोपरान्त अंग दानको घोषणा गरेका छन्। ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी शुक्रवारबाट सुरु गरेको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरका क्रममा फुङलिङ आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समक्ष मादेनले मरणोपरान्त अंग दानको घोषणा गरेका हुन्।
मादेनको घोषणा पछि केन्द्रका वरिष्ठ परामर्शदाता नेफ्रोलोजिष्ट डाक्टर कल्पनाकुमारी श्रेष्ठले उनलाई अंगदान घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेकी छन्। कुनैपनि आयुको व्यक्तिले मृत्यु भएपछि अंग दान गरी धेरै व्यक्तिको जीवन बचाउन सक्छन्। यसका लागि मृत्यु हुनु अघि नै ती व्यक्तिले स्वेच्छाले अंग दान गर्न चाहेको लिखित मञ्जुरी दिनुपर्ने छ। मादेनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समक्ष यस्तो मञ्जुरी दिएपछि उनलाई मरणोपरान्त अंग दानको प्रमाणपत्र दिइएको छ।
अंग दान गरेका व्यक्तिले मञ्जुरीपत्रमा मृत्यु पश्चत शरीरबाट मृगौला,मुटु,फोक्सो,कलेजो,प्याङक्रियाज र सानो आन्द्रा सहित अंग झिकी आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मञ्जुरी भएको लिखित कागज गर्नुपर्ने हुन्छ। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १६ को उपदफा १ को खण्ड(ख)मा मृत्यु पश्चात मृत्यु अघि अंग दान गर्ने गरी गरिएको मञ्जुरीनामाका आधारमा उल्लेखित अंगहरु दान गर्न सक्ने व्यवस्था रहेको छ। अंग दान गरिएका व्यक्तिबाट मुटुको भए मृत्यु पश्चात ६ घण्टा,फोक्सो भए ८ घण्टा,सानो आन्द्रा भए १० घण्टा,कलेजो भए १५ घण्टा,अग्नाशय र मृगौला भए २४ घण्टा भित्र अंग निकाली जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने चिकित्सकहरुले बताएका छन्।
१८ बर्ष भन्दा माथिकाले स्वेच्छाले जानी बुझी आफ्नो नजिकको नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को अधीनमा रही अंग दान गर्न सक्ने व्यवस्था रहेको छ। यसैबिच केन्द्रको संयोजनमा शुक्रवार र शनिवार सानिमा मध्य तमोर जलविद्युत आयोजनाको बिद्युत गृह कार्यालय मिक्वाखोला गाउँपालिका वडा न २ चितुब्याङमा र फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालय परिसरमा शिविर सुरु भएको छ। पहिलो दिन चितुब्याङमा र दोस्रो दिन सिँवामा शिविर सञ्चालन हुने जलविद्युत आयोजनाका संयोजक डाक्टर मणिराज पोखरेलले जानकारी दिए। शिविरमा ई.सी.जी,ईको,भिडियो एक्स–रे,पिसाब जाँच,ब्लड प्रेसर जाँच,पिसाबबाट सुगरको जाँच,जनरल जाँच र निशुल्क औषधि वितरण गरिने छ।
प्रकाशित: १२ फाल्गुन २०७९ ०९:५४ शुक्रबार