८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

त्रिपुरेश्वर-कंलकी हिँडिनसक्नु

काठमाडौं- राजधानीको सबैभन्दा धेरै चाप हुनेमध्ये त्रिपुरेश्वर–कंलकी सडक विस्तार सुरु भएपछि यो बाटो हिँड्ने यात्रु र स्थानीय सडकको दुरावस्थाले आजित छन्। भत्केको सडक धुलोले दिउँसै अँध्यारो हुन्छ। दुवैतिरको फुटपाथ भत्काएपछि बनेका खाल्डाले पैदल हिँड्न पनि सास्ती छ। सडक छेउका पसलले राखेका सामान र अन्य निर्माण सामग्री जथाभावी राखिएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तार थालेको वर्षदिन गरेको कामको उपलब्धि सर्वसाधारणले पाउने सास्ती मात्र हो। 'सडक विस्तारको बहानामा अति नै सास्ती भयो,' त्रिपुरेश्वरका स्थानीय कृष्णलाल प्रधान भन्छन्, 'विस्तारले प्रदूषण बढाउने, सर्वसाधारणलाई सास्ती दिने काम मात्र भयो, अरु केही भएन।'

करिब साढे ३ किलोमिटर दुरीको त्रिपुरेश्वर–कंलकी ६ लेन सडक निर्माण २८ महिनामासक्ने भन्दै आयोजनाले २०७२ साउन १ मा सडक विस्तार थालेको थियो। स्थानीयका अनुसार आयोजनाले विस्तारमा ढिलासुस्ती र सावधानी नअपनाउँदा ट्राफिक जाम, धुलो र सास्ती खेपिरहेका छन्।

आयोजनाले भने विस्तार कार्य तीव्र गतिमा भइरहेको दाबी गरेको छ। स्थानीयले विरोध गरेका ठाउँमा विस्तारकार्य अघि नबढे पनि बाँकी ठाउँमा धमाधम विस्तार भइरहेको आयोजनाका निमित्त प्रमुख नबराज सापकोटाले दाबी गरे। निर्माणको जिम्मा पाएको बज्रगुरु–बिरुवा–सिएम जेभी कन्ट्रक्सनले त्रिपुरेश्वर–कालिमाटी खण्डमा दुवैतिर ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गरेको छ। ढल व्यवस्थापन र पाइप लाइन बिछ्याइसकेको बताए पनिसडकमा निर्माण सामग्री र ढलका पाइप छरपस्ट छन्।

निर्माण कम्पनीले ३४ करोड रुपैयाँमा सडक विस्तार निर्माण ठेक्का लिएको थियो। कम्पनीका प्रबन्ध निर्देशक शान्त श्रेष्ठका अनुसार निरन्तर काम गर्न पाए तोकिएको समयअघि नै विस्तार निर्माण सकिनेछ। 'धमाधम काम गर्नै पाइँदैन,' श्रेष्ठले भने, 'दिउँसो सडकमा सवारीको चाप हुन्छ। राति काम गर्नुपर्छ। त्यो पनि अवरोधका कारण काम रोकिएपछि सुस्त भइहाल्छ नि!' उनले सडकमा निर्माण सामग्री भद्रगोल भएको भने स्विकारे।

आयोजनाका अनुसार कालिमाटी पुल–सोल्टीमोड खण्डमा भने मापदण्ड विपरीत निर्माण भएका संरचना भत्काउन नसक्दा विस्तारले गति लिन सकेको छैन। सडक मिचेर बनाइएका संरचना भत्काउने जिम्मा काठमाडौं विकास प्राधिकरणको हो। यसअघि स्थानीयले हालेको मुद्दामा अदालतबाट स्टे अर्डर जारी भएर कामा रोकिएको थियो। अहिले अदालतको स्टे अर्डर खारेज भए पनि प्राधिकरणले भत्काउन सकेको छैन। स्रोतका अनुसार राजनीतिक दबाबका कारण प्राधिकरणले भत्काउन नसकेको हो।

कालिमाटी–सोल्टीमोड करिब एक किलोमिटर सडकखण्डमा स्थानीयको अवरोधले संरचना भत्काउन नसकेको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त रामप्रसाद श्रेष्ठले स्विकारे। उनले सडकखण्डमा सांकेतिक रुपमा पेटी भने भत्काइएको बताए।

प्राधिकरणलेसूचना जारी गरे पनि त्यस क्षेत्रका बासिन्दा घरको क्षतिपूर्ति लिन आएका छैनन्। आफैंले भत्काउन चाहनेका लागि समय दिएकाले र पुराना घरसमेत पर्ने भएकाले जबरजस्ती भत्काउन नसकेको आयुक्त श्रेष्ठले बताए। 'तिहारसम्म पनि नभत्काए डोजर लगाइने छ,' आयुक्त श्रेष्ठले भने, 'तिहारलगत्तै तीव्र गतिमा संरचना भत्काइनेछ। चाडपर्वले गर्दा पनि काम ढीलो भएको हो।'

चार लेनको त्रिपुरेश्वर–कंलकी सडक विस्तारपछि १८ मिटर चौडा ६ लेनको र दायाँबायाँ २/२ मिटर फुटपाथ समेत हुनेछ। सडक विस्तार निर्माण सकिएपछि यस सडकखण्डमा हुने ट्राफिक जाम हट्ने आयोजनाले जनायो।

आयोजनाले त्रिपुरेश्वर–कंलकीसँगै कंलकी–नागढुंगा सडक विस्तार थालेको छ। तीन वटा प्याकेजमा काम गरिरहेको कंलकी–नागढुंगा विस्तारमा समेत कामको गति सुस्त छ। ३० महिनामा निर्माण सक्ने गरी सुरु कंलकी–नागढुंगा ९ किमी सडक विस्तार एक वर्ष नाघ्दा समेत २५ प्रतिशत पनि काम भएको छैन। त्यस सडकखण्डमा पनि स्थानीयको अवरोधले काम रोकिएको आयोजनाले जनाएको छ। लेन मिचेर बनाएका घर स्थानीयले भत्काउन नदिएपछि सडक विस्तारले गति लिन सकेको छैन र सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।

कलंकी–नागढुंगा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको हो। चार लेन सडकको बीचमा दुई मिटर फराकिलो हरियाली स्थान (ग्रिनबेल्ट) हुनेछ। सडकको दुवैतर्फ १.२ मिटर फराकिलो साइकल लेन हुनेछ। अपांग तथा दृष्टिविहिनमैत्री फराकिलो फुटपाथसमेत हुनेछ।

 

विस्तार भइरहेको राजधानीको त्रिपुरेश्वर–कलंकी सडक। तस्बिर :  खिलक/नागरिक

प्रकाशित: २ कार्तिक २०७३ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App