coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनबाट फर्केकालाई डेंगु

काठमाडौं- दसैं मनाउन चितवन गएकाहरुमा डेंगु भेटिएको छ। चितवनबाट फर्केका १० जनामा  डेंगुको लक्षण भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले जनाएको छ। अस्पतालमा आएकामध्ये तीनजनामा डेंगु प्रमाणित भइसकेको र बाँकी परीक्षणकै क्रममा रहेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

अस्पतालमा आएका बिरामी चितवनको रत्ननगर तथा आसपासको क्षेत्र पुगेर फर्केको पाइएको छ। विगत वर्षदेखि नै चितवन सबैभन्दा बढी डेंगु प्रभावित क्षेत्र भएकाले त्यहाँ पुग्ने पाहुना समेत डेंगु संक्रमित हुने गरेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माले बताए।

'एडिस एजिप्टाई' नामक लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्छ। 'त्यो क्षेत्रमा यो लामखुट्टेको संख्या सबैभन्दा बढी छ,' शर्माले भने।

महाशाखाको चालू आर्थिक वर्षको तथ्यांकअनुसार देशभर दुई सय आठ जनामा डेंगु पाइएकोमा एक सय ७८ जना चितवनका छन्।

सन् २००६ मा पहिलोपटक नेपालमा देखापरेको यो रोग सन् २०१० देखि प्रकोपको रुपमा फैलिएको महाशाखाले जनाएको छ।

चिकित्सकका अनुसार डेंगुको संक्रमण भएपछि बिरामीलाई तीन दिनसम्म कडा ज्वरो आउने, खाना नरुच्ने, बान्ता हुने, शरीर दुख्ने, कतिपयमा नाक तथा गिँजाबाट रगत आउने तथा कतिपय अवस्थामा बेहोस हुनेजस्ता लक्षण देखा पर्छन्।

सरकारले डेंगु फैलिएसँगै प्रत्येक वर्ष नियन्त्रणका कार्यक्रम अघि सारे पनि नियन्त्रण हुन सकेको छैन। यो वर्ष नेपाल सरकारले डेंगुको लार्भा नष्ट गर्ने कार्यक्रमका लागि ७० लाख बजेट विनियोजन गरेको छ। 'भदौ–असोजदेखि नै लार्भा नष्ट गर्न केन्द्रीय टोली स्थानीयसँग मिलेर जिल्लामा पुगेको छ,' डा. शर्माले भने। 

देशभरका २२ जिल्लासहित राजधानी पनि डेंगुको उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ। एक साताअघि काठमाडौं थानकोटका एकजनामा डेंगु संक्रमण भएको टेकु अस्पतालका डा. पुनले जनाए।    

प्रकाशित: २ कार्तिक २०७३ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App