८ वैशाख २०८१ शनिबार
समाज

पुलको ‘कंकाल’मा सपना सेलाउन बाध्य जनता

अलपत्र अवस्थामा सिरहाको मैनावत्तीको पुल ।

सिरहा–सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारले सिरहाको मैनाबत्ती खोलामा पुलको शिलान्यास गर्दा बलकावासहित दक्षिणवर्ती गाउँमा खुसीको सञ्चार भयो। ०४६ सालताका बोलपत्र आह्वान नहुँदै सेलाएको योजना झन्डै तीन दशकपछि शिलान्यास हुँदा स्थानीयमा आशा पलाएको थियो। तर, ठेक्केदारले पुलको जग उठाएर काम अलपत्र छाडिदिँदा गाउँले पुलको ‘कंकाल’मा खुसी बिसाउन बाध्य भएका छन्।

०७० सालसम्म पुल निर्माणको काम सक्ने गरी सडक डिभिजन नम्बर ५ लहानसँग ४ करोड ७ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको नेपाल प्रगती/ रायमाझी/लोकबिर बेताली जेभीले काम अलपत्र छोडेर सम्पर्कविहीन भएको सडक कार्यालयले जनाएको छ।

‘पुलको पिलर(वेल) निर्माण काम पनि अधुरै छ,’ तत्कालीन साईट इन्जिनियर पाण्डव यादव भन्छन्,‘रकम निकासा पाउँदै गएपछि कामको गती सुस्त हुँदै गयो।’ बिस्तारै ठेक्केदार काम नै अलपत्र छाडेर सम्पर्कबाहिर भए।’

०७० सालसम्म पुल निर्माणको काम सक्ने गरी सडक डिभिजन नम्बर ५ लहानसँग ४ करोड ७ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको नेपाल प्रगती/ रायमाझी/लोकबिर बेताली जेभीले काम अलपत्र छोडेर सम्पर्कविहीन

सडक कार्यालयको लेखा शाखाका अनुसार उक्त पुल निर्माणका लागि विभिन्न समयमा ठेकेदारले १ करोड ३० लाख रकम भुतmानी लिइसकेको छ। पुलकालागि निर्माण गरिएका चार वटा वेलको काम पूरा भएको छैन। वेलका फलामे डन्डी खिया लागिसकेको छ। प्राविधिकका अनुसार अब पुल निर्माणको काम  शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ।

सडकले समयमै ठेकेदारलाई कडाइ गर्न नसक्दा पुल निर्माणको अवस्था बेहाल बनेको बलकावासीको गुनासो छ। ‘ठेकेदारको मनपरीलाई समयमै सडक डिभिजन कार्यालयले नियन्त्रण गर्न सकेको भए आज यस्तो बेहाल अवस्था हुन्नथ्यो’, बलकावाका रहमतुला हुसैन भन्छन्, ‘ठेकेदार र सडक डिभिजनको लापरबाहीले हामी दुख खेप्न बाध्य छौं।’

झन्डै तीन दशकपछि मैनाबत्ती पुल शिलान्यास भई निर्माण काम सुरु भएपछि खोलामा खुट्टा चोपल्दै गाउँ छिर्नुपर्ने नियतीको अन्त्य हुने आशा बलकावाबासीले गरेका थिए। तर, ठेकेदारले पुलको पिलर निर्माण कामलाई अधुरै छाडेर गायब भएपछि स्थानीयमा निरासा छाएको छ। तीन दशकदेखि पुल बन्ने सपना पालेर बसेका बलाकावाका रहमतुला हुसैन भन्छन्, ‘पहिला नेताले ठगे अहिले ठेकेदारले।’ ‘धेरै कसरतपछि पुलको योजना पर्यो तर सडक डिभिजनको लापरबाही ठेकेदारको मनपरीले अलपत्र बन्यो,’ उनले भने।

‘यो पुल निर्माणले बलकावासहित छिमेकका एक दर्जन गाउँ र राजमार्गबिच सेतुको काम गर्छ ,’हुसैन भन्छन्,‘पुरानो र एतिहासिक बजार भएपनि बलकावाको सम्वृद्धिलाई मैनाबत्ती पुलले रोकेको छ।’ यहाँको उत्पादन सहरसम्म पुर्याउन मैनावत्ती खोला तगारो  रहेको उनले बताए। पुल  निर्माण सम्पन्न भए यो बाटो जिल्लाकै सबैभन्दा चल्तीको ग्रामिण सडक बन्ने बलकावाबासीको भनाइ छ ।

बर्खाका बेला खोलामा बाढी आएर सवारी आउजाउ नै ठप्पै हुन्छ । बर्खाका बेला खोलामा पानीको सतह बढेर एम्बुलेन्स समेत आउन नसक्ने अवस्था हुन्छ।  
‘नुनदेखि सुनसम्म किन्न बलकावा आउनेहरु अब गोलबजारममै रोकिन्छन,’ स्थानीय कमालुदिन खाँन भन्छन्,‘खोलाले पुरानो यो बजारको रौनकता नै खोस्यो।’ पुल बने अहिलेपनि यहाँ सम्बृद्धि र विकासका प्रचुर सम्भावना रहेको उनको भनाइ छ। ‘गाउँका प्रत्येक घरबाट युवा रोजगारीका लागि विदेसिएका छन्। उनीहरुले कमाएर गाउँमै व्यपार व्यवसाय गर्ने सोच राखेका छन,’ उनी भन्छन्,‘राजमार्गसँग द्रुत र सहज सम्पर्क स्थापित भए यो गाउँमा सम्वृद्धिको ज्योति फर्किन बेर लाग्दैन्।’

मैनाबत्ती खोलाको पुल निर्माण तिन वर्षभित्र पूरा गर्ने गरी डिभिजन सडकसँग ०६७ मा लोकबिर बेताली नेपाल प्रगती जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । ४ करोड ७ लाखमा ठेक्का सम्झौता गरेको यो निर्माण सेवाले कछुवा गतीमा चार वटा पिलरको जग खडा गर्यो। त्यसपछि बिस्तारै निर्माण काम अलपत्र छाडेर सडक डिभिजनसँग सम्पर्क तोड्यो तत्कालीन साइट इन्जिनियर पाण्डव यादव भन्छन्,‘पटक पटक ताकेता गर्दा पनि ठेक्केदार अटेरी गरिरह्यो।’ ०७० माघ २४ मा पुल निर्माण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि ठेकेदारको मनपरीले पुल निर्माण काम लथालिंग भएको यादवको भनाइ छ।

काम अलपत्र छाडेर ठेक्केदार सम्पर्कबाहिर भएपछि डिभिजन सडकले  तीन पटक लिखित पत्र पठाएर बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिए। त्यपछि बल्ल ठेकेदार सम्पर्कमा आए तर काम सुरु गरेनन । ठेक्केदारले पुल निर्माण सम्झौतापछि सडक डिभिजनसँग १ करोड ३० लाख  भुतmानी लिइसकेको लेखा शाखाले जनाएको छ।
सडक डिभिजनले ठेकेदारको जमानत रकम उपलब्ध गराइदिन ग्लोबल आइएमइ बैंक काठमाडौं न्युरोड शालालाई ०७३ साउन २४ मा पत्राचार गरेको लेखा शाखाले जनाएको छ । च नं ४० को उक्त पत्रमार्फत ७८ लाख ५३ हजार जमानत रकम उपलब्ध गराइदिन सडक डिभिजनले बैंकलाई पत्रमार्फत आग्रह गरेको छ । डिभिजन सडकका निमिति प्रमुख इन्जिनियर सोभितलाल ठाकुर भन्छन्,‘ठेक्केदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भैसकेको छ।’

यसैगरी,०६८ साउन ६ मा सम्पन्न भैसक्नुपर्ने सप्तरीको घोरदह पुलको बेहाल पनि उस्तै छ ।  एक करोड ९१ लाख ९२ हजार मा पुल निर्माणको ठेक्का पाएका प्रकाश÷आश्रय निर्माण सेवा जेभीले ठेक्का पाएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।  सडकबाट धरैटी जफत गर्ने चेतावनीको पत्र पाएपछि ठेक्केदार कम्पनी सम्पर्कमा आएको साइट इन्जिनियर सोभित ठाकुरले बताए । ‘ठेकेदारले स्थानीयबीचमा छिट्टै काम सुरु गर्छु भनेको थियो तर काम गरेनन,’ ठाकुरले भने। ठेक्का वापतको अग्रिम भुक्तानी वापत ५२ लाख ९ हजार ७ सय ६३ रकम ठेक्कदारले भुक्तानी पाइसकेको सडक डिभिजनले जनाएको छ। सम्झौता अवधिभित्र काम सम्पन्न नगरेपछि सडकले ०६९ माघ ४ सम्मको समय थपेको थियो ।

तर, थपिएको समयमा समेत ठेक्केदार कम्पनीले काम पुरा नगरेको डिभिजन सडकले जनाएको छ। सप्तरीकै तारखाना खोला पुल सम्झौता अनुसार ०६९ असार २८ मै सम्पन्न गर्नुपर्ने थियो । तर, काम बीचमै अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन भयो। १ करोड १४ लाख ८६ हजार ८ रुपैयाँमा मिचिको एण्ड कम्पनी प्रालीले ठेक्का पाएको सडक डिभिजनले जनाएको छ। सम्झौता रकम मध्ये ८१ लाख ६९ हजार ८ सय २७ रुपैयाँ ठेकेदारले भुतmानी पाइसकेको लेखा शाखाले जनाएको छ।    पटक पटक काम पूरा गर्न ठेकेदारलाई आग्रह गर्दा पनि अटेर गरेको साइट इन्जिनियर सोभित ठाकुरले बताए।    ठेकेदारले निर्माण सुरु गर्नु अगाडि नै मोविलाइजेसन रकम लिएर काम गरेजस्तो देखाएर सम्पर्कविहीन हुने प्रवृत्तीले पुल निर्माण योजना अलपत्र परेका छन्।

 

प्रकाशित: २९ आश्विन २०७३ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App