८ वैशाख २०८१ शनिबार
समाज

दोस्रो दसैं पनि टहरामै

ललितपुर- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २ गते भूकम्प दिवसमा बुङमतीस्थित मन्दिर शिलान्यास गर्दै राष्ट्रिय पुनर्निर्माण अभियान सुरु गरे पनि त्यहाँका बासिन्दा आठ महिनापछि पनि टहरामै छन् । तपतप तुषारो चुहिने जाडो र बर्खे झरी टहरामा रुझ्दैभिज्दै काटेका बुङमतीवासीले दसैंतिहारजस्ता चाडपर्व पनि टहरामै मनाउनुपर्ने बाध्यता छ ।

तर ललितपुरको प्राचीन बस्ती बुङमती र खोकनाका बासिन्दाको यसपल्टको दसैं पनि पोहोरजस्तै सकसपूर्ण रुपमै मनाउने भएका छन् । चाडपर्वको अलिकति पनि उमंग उनीहरूमा छैन । ‘एउटा हिउँद र दुई बर्खा टहरामै बिते, अझै वासको टुंगो छैन । कसरी खुसी हुनु ?’ मंगलबार ललितपुरको बुङमती बसपार्क अगाडि बाँस र जस्ता निर्मित टहरोसामु उभिएर ६१ वर्षीय कुलदेव मालीले भने, ‘दसैं त आयो, तर आउने पाहुना बसालेर खुवाउने ठाउँ पनि छैन ।’ यो समस्या उनको मात्र नभएर यहाँका ४ सय ५० परिवारको साझा समस्या हो । प्राचीन बस्ती बुङमतीका ८ सय ५३ घरपरिवारमध्ये भूकम्पपछि ४ सय ५० परिवार टहरामै छन् ।

‘जसोतसो दसैं मनाउनै प¥यो भनेर जमरा त राखियो तर कसरी मान्ने अलमल्ल परेका छौं,’ स्थानीय शालिक महर्जनले भने । टहरामा बसेका सबै परिवारले टहरामै जमरा राखेका छन् । बुङमतीकी अर्की बासिन्दा सीता माली भन्छिन्, ‘तीनपल्ट नगरपालिका धाउँदा पनि अहिलेसम्म सरकारी राहत ५० हजार रुपैयाँ पाएका छैनौं ।’

सरकारले बुङमती क्षेत्र पुनर्निर्माण गर्न बुङमती पुनर्निर्माण तथा विकास परिषद् नै गठन गरिसकेको छ । तर परिषद् आर्फै बुङमती पुनर्निर्माण कसरी गर्ने रनभुल्लमा छ । परिषदका अध्यक्ष प्रेमभक्त महर्जनले बुङमति नयाँ मापदण्ड अनुसार पुनर्निर्माण गर्न नसकिने बताए । उनले भने, ‘यो ऐतिहासिक बस्तीमा जोडिएका र एक आनामा बनेका घर पनि छन् । त्यसैले हामीले पुरानै शैलीमा पुनर्निर्माण गर्ने प्रस्ताव राखेका छौँ ।’

महर्जनका अनुसार बुङमती क्षेत्र पुनर्निर्माण अघि बढ्न नसक्नुको मुख्य कारण घर निर्माण मापदण्ड टुंगो नलाग्नु हो । पुरानो मापदण्ड अनुसार बुङमतीमा एक आनामा पनि जोडिएका घर बनाउन सकिने, सटर राख्न नपाइने, घर बनाउँदा पुरानै शैलीका झ्यालढोका प्रयोग गर्नुपर्ने लगायत छन् । यी मापदण्डलाई प्राधिकरणले स्वीकृति दिइसकेको र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् पुगेको महर्जन बताउँछन् ।

गत वर्षको भूकम्पमा ध्वस्त खोकनावासीका व्यथा पनि बुङमतीभन्दा फरक छैन । यो प्राचीन र ऐतिहासिक बस्तीमा पनि नयाँ मापदण्ड अनुसार पुनर्निर्माण गर्न नमिल्ने खोकना पुनर्निर्माण विकास समितिका अध्यक्ष श्याम महर्जन बताउँछन् ।

खोकनामा अहिले ४ सयभन्दा बढी परिवार टहरामा बस्दै आएका छन् । दसैं मुखैमा आइपुग्दा पनि खोकनावासीमा पनि कुनै उत्साह छैन । खोकनाका सुरज महर्जनले भने, ‘भत्केको घर बनाउन सरकारले दिएको कुनै राहत अहिलेसम्म पाएका छैनौं ।’

खोकना र बुङमती दुवै ठाउँका भूकम्पपीडितले सरकारले घर निर्माण गर्न वितरण गरेको राहत रकम अहिलेसम्म पनि पाएका छैनन् । ‘राहत पाउन घरको नक्सा पेस गर्नुपर्ने र खोकना तथा बुङमतीवासीले नक्सा पेस गर्न नसकेकाले राहत वितरण गर्न नसकेका हौं,’ कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोख्रेलले भने, ‘सरकारले ५० हजार रुपैयाँ घर बनाउन दिएको हो । स्थानीयले घरको नक्सा लिएर आए तुरुन्तै राहत विरतण हुन्छ ।’ उनका अनुसार नगरपालिकाले राहत वितरण गर्न सबै प्रक्रिया पूरा गरिसकेको छ ।

प्रकाशित: २० आश्विन २०७३ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App