coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

काठमाडौं – प्रहरीले असार ९ गते गोली हानेर पक्रिएका गुण्डा नाईके जसवन्त राई भन्ने अश्विनकुमार राई लागुऔषध सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध खैरो हेरोईन सहित राईलाई आईतबार पक्राउ गरेको हो।

वृत्तका डिएसपी नवराज अधिकारीले नियमित चेकजाँचमा राईका साथबाट शंकास्पद खैरो धुलो फेला परेको बताए। उनले नियन्त्रणमा लिएपछि राई प्रहरी कारवाही भोगेका पटके रहेको खुलेको बताए। 

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्मर मुनि दुई राउण्ड गोली हानेर राईलाई विजुलीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । कंलकी र कालिमाटी क्षेत्रका ब्यवसायीसँग असुली गरेको र एक ब्यापारीलाई ज्यानमार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका राई भदौ २० गते काठमाडौं जिल्ला अदालतको आदेशले एकलाख धरौटी बुझाएर रिहा भएका थिए।

काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरी सहित  मुद्दा बुझाएका राईलाई बारम्बार अति न्युन धरौटीमा छाडदै आएको छ।

राईलाई ज्यानमार्ने उद्दोग मुद्दामा अदालतले  ४५ हजार र १५ हजार धरौटीमा यसअघि रिहा गरिसकेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत दुई हजार र पाँच हजार धरौटीमा रिहा गरेको हो।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले घटना लगत्तै नागरिकसँग कंलकी, कालिमाटी र कुलेश्वर, बाफल, सामाखुसी, बालाजु लगायतका क्षेत्रमा आतंक मच्चाएको एक गुण्डा भएको बताएका थिए। उनका अनुसार विभिन्न घटनामा संलग्न रहेर पक्राउ परिसकेका राई ज्यान मार्ने उद्योगमा धरौटी बुझाएर रिहा भएपछि पुनः असुलीमा सकृय थिए।

महाशाखाका अनुसार ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए । महाशाखाको टोलीले पछ्याई रहेका राई असार ९ गते अदालतमा उपस्थित हुन आएका बेला प्रहरी फन्दामा परेका थिए । अदालतबाट प्रहरीले पछ्याउन थालेपछि राईले घटनास्थलमा प्रहरीलाई नै रडले हानेर भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो । प्रहरीले दाहिने तीघ्रा र घुँडामा गोली लागेका राईलाई तत्काल नियन्त्रणमा लिएर उपचारको लागि वीर अस्पताल लगेको थियो।

महाशाखाका अनुसार २०७२ फागुन ८ गते र सोही वर्ष साउन १८ गते ज्यानमार्ने उद्योग तथा डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुझाएकोमा दुबै घटनामा क्रमस ४५ र १५ हजार बुझाएर रिहा भएका थिए। महाशाखाका अनुसार पहिलो घटनामा राई सहितको समूहले कलंकीमा रहेको  स्काई प्यालेस डान्सवारमा विश्वास सल्यानी र सुमित रेग्मीलाई धारिलो हतियार तरवार र बोतलले हानेर साथमा रहेको सरसामान लुटेका थिए। २०७२ चैत्रमा पक्राउ परेका राई  ज्यान मार्ने उद्योग र डाँका मुद्दामा बैशाख २१ गते धरौटीमा रिहा भएका थिए।

यस्तै २०७२ साउन १८ मा राईकै समूहले कालिमाटी स्थित मनकामना माई यातायात प्रालीका संचालक पंकज बहादुर शाहीलाई खकुरी प्रहार गरि लुटपाट गरेका थिए । प्रहरीले अदालतमा बुझाएको ज्यानमार्ने उद्योग र डाँका मुद्दामा २०७२ कार्तिक १३ मा १५ हजार धरौटीमा रिहा भएको महाशाखाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ असार र चैत्रमा केही सार्वजनिक मुद्दामा दुई हजार र पाँच हजार धरौटी मागेको अनुसन्धानमा खुलेको हो । महाशाखाका एसपी सहकुल थापाले यथेष्ट प्रमाण सहित अदालतमा बुझाएका दुबै मुद्दामा राई न्युनतम धरौटी बुझाएर छुटेको जानकारी दिए । महाशाखाले घाईते र पीडितको जाहेरीका आधारमा राईको समुह बिरुद्द किटानी जाहेरी सहित अन्य प्रमाण अदालतमा बुझाएको हो ।

पछिल्लो समय गुण्डा नाईके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएका राईको समुहलाई नेपाली काँग्रेसका केन्द्रीय नेताको सर्मथन रहदै आएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित: ९ आश्विन २०७३ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App