coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आकाशे पुल नहुँदाको हैरानी

काठमाडौं- नयाँ वानेश्वर चोकमा पैदलयात्रु बाटो क्रसको लागि आकासे पुल नहुँदा हैरानी खेप्दै आएका छन्। सवारीसाधनले व्यस्त चोकमा पैदलयात्रुको चाप पनि उतिकै हुन्छ। ट्राफिकले दुवैतिरका सवारी नरोकेसम्म कुरिरहनु पर्ने बाध्यता पैदल यात्रुले झेल्दै आएका छन्।

एसियन कलेजमा अध्ययनरत महादेब राजवंशी प्रत्येक दिन बानेश्वरको बाटो भएर कलेज आवतजावत गर्छन्। उनले कहिल्यै पनि बानेश्वर चोकमा सरसर बाटो काट्न नपाएको सुनाए। 'बाटो काट्न ५/७ मिनेट पर्खनै पर्छ,' राजवंशीले भने, 'ढिलो भएको बेलामा उभिएर कतिबेला गाडी रोकिएला भनि पर्खनुपर्छ।' कार्यालय समयमा बाटो क्रसको लागि बढी समय पर्खनुपने उनले बताए। यो समस्या राजवंशीको मात्रै होइन बानेश्वर चोक भएर आवतजावत गर्ने हजारौं यात्रुको हो। 'दुवैतिर गाडी रोकेर यात्रुलाई बाटो कटाउँदा सडक पुरै भरिन्छ,' ट्राफिक प्रहरी हिक्मत रावलले भने, 'एक पटकमै एक डेढ सय बढीले सडक क्रस गर्छन्।' रावलका अनुसार गाडीको चाप हेरेर ५/१० मिनेटको अन्तारलमा गाडी रोकेर पैदल यात्रुलाई बाटो कटाउने गरिन्छ।

ट्राफिक प्र्रहरीले यात्रुलाई धेरै समय नउभ्याउन चाँडो चाँडो बाटो कटाउने गरेको बताए पनि बानेश्वर चोकले दैनिक १५–२५ मिनेट समय बाटो क्रसमा पर्खिएर जाने यात्रु बताउँछन्। 'आकाशे पुल हुने हो भने दैनिक १५ मिनेटको समय बचत हुन्थ्यो।' आकाशे पुल हुँदा सरसर बाटो काट्न पाइने र पर्खिएर बस्न नपर्ने हुँदा समयको बचत हुने राईले बताए। धेरै पैदल यात्रुको समय बानेश्वर चोकको बाटो काट्न गएको भन्दै आकाशे पुल बनाउनु आवश्वय रहेको पैदल यात्रुको भनाई छ।

सडकमा आवश्यकता अनुसार सडक विभाग र काठमाडौं महानगरपालिका आकाशे पुल बनाउने गर्छन्। सडक विभागले भने बानेश्वर चोकमा आकाशे पुल बनाउने योजना नभएको बतायो। विभागका प्रवक्ता दयाकान्ता झाले आवश्यकता भएपनि बनाउन नसकिएको स्विकारे।

काठमाडौं महानगरपालिकाले भने वानेश्वर चोकमा आकाशे पुल बनाउने योजना अगाडि बढाएको बताएको छ। महानगरपालिकाले सडक विभागसँग आकाशे पुल निर्माण स्वीकृति प्रक्रिया अघि बढाएको बतायो। 'नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माणका लागि सडक विभागले स्वीकृति पठाउँदैछौं।' महानगरपालिका कार्यकारी अधिकृत रु›सिंह तामाङले भने, 'विभागले स्विकृत दिए लगातै काम थाल्छौं।' महानगरपालिकाले सडकमा आकाशे पुल बनाउँदा विभागसँग स्विकृत लिनुपर्ने हुन्छ। महानगरपालिकाका अनुसार नयाँ बानेश्वर चोकमा दैनिक ६० हजार बढी पैदलयात्री बाटो काट्ने र एक लाख बढी सवारीसाधन गुड्छन्। 'दैनिक हजारौँ पैद्कल यात्रुले चोक भएर वारपार गर्छन्, ट्राफिक जाम पनि उतिकै हुन्छ,' तामाङले भने, 'पदैल यात्रु र जामको समस्या कम गर्न आकाशे पुल बनाउने लागेका हौं।' उनका अनुसार केही महिनाभित्रै आकाशे पुल निर्माण सम्पन्न हुनेछ। बानेश्वरमा बन्ने पुल सडकभन्दा पाँच मिटर अग्लो ३८ डायमिटरको हुनेछ। तीन मिटर चौडाइ हुने पुल स्टिलको हुने महानगरपालिकाले बतायो।

प्रकाशित: ९ आश्विन २०७३ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App