१६ चैत्र २०८० शुक्रबार
समाज

भिआइपी सवारीले सर्वसाधारणलाई सास्ती

काठमाडौं- दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा सम्पन्न असंलग्न राष्ट्रको १७औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केका उपराष्ट्रपति नन्दबहादुर पुनको सवारीले बुधबार बिहान राजधानीमा केही घन्टा ट्राफिक जाम भयो। भिआइपी सवारीमा सडक खाली गर्नुपर्दा हुने बारम्बारको ट्राफिक जामले सधैं सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

उपराष्ट्रपति पुन बिहान करिब ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा सडकमा ट्राफिक जाम भैसकेको थियो। पुन विमानस्थलमा उत्रेलगत्तै तीनकुने, नयाँ बानेश्वर, माइतीघर, रत्नपार्क, दरबारमार्ग, लैनचौरमा सडक खाली गराइयो। सवारीको अत्यधिक चाप हुने कार्यालय समयमा सडक नै खाली गराइएपछि त्यसको असरले राजधानीका सबै सडक केही घन्टा अस्तव्यस्त बने। ट्राफिक जामको यस्तो सकस राजधानीवासीले बारम्बार खेप्दै आएका छन्।

'नयाँ बानेश्वरबाट बागबजार आउन करिब एक घन्टा नै लाग्यो,' चालक रामशरण थपलियाले आक्रोश पोख्दै भनेे, 'भिआइपी पनि हामीजस्तै मान्छे हुन्। उनीहरू हिँड्दा हामीले यस्तो सास्ती बेहोर्नु पर्छ। उनीहरू हिँड्दा सडक नै किन खाली गराउनु पर्ने? सर्वसाधारणलाई सास्ती दिएर झ्यालबाट हात हल्लाउँदै सरर गुड्न लाज नलाग्नेलाई के भनौं।' भिआइपी सवारीले थपलिया जाममा पहिलोपल्ट फसेका होइनन्। 'यस्तो जाम त कति खेपियो खेपियो,' उनले भने, 'नियमित हुने जाम, भिआइपी सवारीले हुने जाम सबैको हिसाब गर्ने हो भने आधा जिन्दगी त जाममै बित्छ।' भिआइपी हिँड्दा सडक खाली गर्नुपर्ने चलन अन्त्य नहुने हो भने एक जनाका कारणले हजारौंंको दैनिकी बिग्रिने उनको भनाइ थियो। जाम हुँदा आम्दानी समेत घट्ने उनले सुनाए।

भिआइपी सवारीले जामको सास्ती खाने थपलिया एक्ला होइनन्। जामको सास्ती नखाएका राजधानीवासी बिरलै होलान्। हिजोआज भिआइपीको यात्राले हुने ट्राफिक जामको सामाजिक सञ्जाल र समाचार माध्यममा समेत विरोधका स्वर सुनिन थालेको छ।

गएको असार ३ गते पनि उपराष्ट्रपति पुनकै सवारीले राजधानीमा ठूलै जाम भएको थियो। पुनका छोरा दिपेश पुन आफैं लामो जाममा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा 'उपराष्ट्रपतिको छोरो आफूलाई त यति धेरै रिस उठ्यो भने सर्वसाधारणलाई कति रिस उठ्यो होला' भन्दै स्टाट्स लेखेका थिए। दिपेशले सुरक्षा वा अरु जुनसुकै कारणले सडक खाली गराएर सर्वसाधारणलाई हैरानी दिन नहुने तर्क गरेका थिए।

ट्राफिक प्रहरी भने राजकीय तथा औपचारिक सवारीका बेला सडक खाली गर्र्नैपर्ने नियम रहेको बताउँछन्। अनौपचारिक सवारीमा भने सडक खाली नगरी सवारीलाई मात्र सुरक्षा दिने गरिएको छ। 'सुरक्षा समितिको निर्णयबाट औपचारिक वा राजकीय सवारी हुँदा सडक खाली गर्नुपर्ने हुन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी डिएसपी लोकेन्द्र मल्लले भने, 'सक्दो सवारी जाम नहुुने गरी सडक खाली गराउछौं।' उनका अनुसार जाम नहुने गरी दुईचार मिनेट सडक खाली गराउँदा पनि त्यसको प्रभाव भने लामो समय पर्छ। सडकको क्षमताभन्दा बढी सवारीसाधन राजधानीमा भएकाले र सडक संरचनाका कारण पनि जाम हुने गरेको मल्लले बताए।

प्रकाशित: ६ आश्विन २०७३ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App