१६ चैत्र २०८० शुक्रबार
समाज

चन्दा असुल्नेलाई छुटाउन प्रिन्सिपल

काठमाडौं- विद्यालय-कलेजबाट अनधिकृत चन्दा असुली गर्दै आएका राजनीतिक एवं अन्य समूहसँग शैक्षिक क्षेत्रकै केही व्यक्ति संलग्न रहेको आशंका गरिएको छ। महानगरीय प्रहरी वृत्त, कालीमाटीले केही दिनअघि सशस्त्र प्रहरी सहयोगमा कलंकीस्थित क्याम्ब्रिज इन्टरनेसनल कलेजबाट नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द नेतृत्व माओवादीका दुई कार्यकर्ता छुटाउन कलेज सञ्चालक नै प्रहरी कार्यालय पुगेपछि यस्तो आशंकामा बल पुगेको हो।

विप्लव माओवादीको सांस्कृतिक मोर्चा सामना परिवारको बुधबार र बिहीबार राष्ट्रिय नाचघरमा हुने भनिएको कार्यक्रमको टिकट बेच्न उक्त कलेज पुगेका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनामा पक्राउ प्रमोद गिरी र महेन्द्र तामाङलाई छुटाउन कलेज सञ्चालक नै प्रहरी कार्यालय पुगेका थिए।

'आफूहरूबीच लामो समयदेखि सहयोग आदानप्रदान भइरहेको भन्दै' कलेजका प्रिन्सिपल केशबबहादुर पुनले ती दुई युवकलाई छुटाउन प्रहरीलाई दबाब दिएका थिए। उनले ती युवाको कुनै गल्ती नभएको, उनीहरुले सांस्कृतिक कार्यक्रमका लागि १० हजार रुपैयाँबराबरको टिकट किनिदिन आग्रह मात्र गरेको भन्दै छुटाइदिन आग्रह गरेको प्रहरी भनाइ छ।

प्रिन्सिपल पुनले भने ती युवकले कुनै गल्ती नगरेको जिकिर नागरिकसँग बारम्बार गरेका थिए। शैक्षिक संस्था सञ्चालकले विविध पक्षलाई ध्यान दिनुपर्ने उनको दाबीले पनि मिलेमतोतिरै संकेत गरेको थियो।

प्रहरी भने चन्दा असुलीमा यस्ता संगठन र कतिपय विद्यालय सञ्चालकको मिलेमतो देखिने दाबी गर्छ।

प्रहरीले कलेजको एउटा कोठामा चन्दाको बार्गेनिङ चलिरहेका बेला ती दुई युवकलाई रंगेहात पक्राउ गरिएको दाबी गर्दै आएको छ।

यता, ती युवकविरुद्ध विद्यालयले जाहेरी दिन इन्कार गरेका कारण पनि आशंका थप बलियो देखिएको हो। प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई थप कारबाहीका लागि कलेजले उजुरी नदिने जनाएपछि प्रहरी अन्योलमा छ।

'हामीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं, सम्बन्धित पक्षले कारबाहीमा सहयोग नगरे प्रहरीले मात्र केही गर्ने अवस्था छैन,' महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने। उनका अनुसार मंगलबार उपत्यकाका विद्यालयमा भएको बम विस्फोटपछि प्रहरीले सुरक्षा निगरानी बढाएको छ। चन्दा वा सहयोग माग्दा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको कार्कीले जानकारी दिए।

वैद्य माओवादीका चार नेता पक्राउ

प्रहरीले बागबजारमा चन्दा उठाउँदै गरेको अवस्थामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य एवं पूर्वसभासद् शिवराम यादवसहित चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त, सिंहदरबारले यादवसहित दीपेन्द्र गहतराज, राम नेपाली र महेश श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएको हो। वृत्तका डिएसपी मनोहरप्रसाद भट्टका अनुसार चन्दा रसिद ठेलीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनका अनुसार गहतराज नेवा राज्यसमिति सदस्य, नेपाली विद्यार्थी मोर्चाका सहसंयोजक र श्रेष्ठ क्याम्पस कमिटीका इन्चार्ज हुन्।

संगठित अपराधअन्तर्गत कारबाही

उपत्यकाका विद्यालयमा त्रास फैलाउन मंगलबार विस्फोटक पदार्थ राखेको र विस्फोट गराएको आरोपमा पक्राउ दुई जनाविरुद्ध प्रहरीले विस्फोटक तथा संगठित अपराधअन्तर्गत कारबाही अघि बढाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ शंकर लाखे र चन्›बहादुर तामाङलाई पाँच दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको छ।

मंगलबार नौवटा विद्यालयमा बम राखिएकोमा बौद्धक्षेत्रका दुइटामा विस्फोट भएको थियो। महानगरीय प्रहरी कार्यालयका अनुसार माओवादी कम्युनिस्ट केन्›, नेपाल नामक संगठनको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्› र योङ कम्युनिस्ट फोर्सले शैक्षिक संस्थामा त्रास फैलाएर चन्दा उठाउन बमको सहारा लिएको हो।

सुरक्षा निकायलाई गृहको निर्देशन

गृहमन्त्रालयले तीनवटै सुरक्षा निकायका प्रमुखलाई मंगलबारको घटनामा पूर्वसूचना संयन्त्र असफल रहेको भन्दै राजनीतिक आवरणमा हुने आतंककारी कार्य रोक्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आपराधिक गतिविधि रोक्न गोप्य रणनीति बनाएर अघि बढन निर्देशन दिइएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकाय प्रमुख तथा गृहका वरिष्ठ अधिकारीलाई मंगलबार यस्तो निर्देशन दिएका हुन्।

प्रकाशित: ६ आश्विन २०७३ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App