१५ चैत्र २०८० बिहीबार
समाज

भाइदेग पुनर्निर्माण रोकियो

ललितपुर- ललितपुर पाटनस्थित भाइदेग मन्दिरको पुनर्निर्माण आर्थिक अभावमा रोकिएको छ। काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले साढे ४ करोड रुपैयाँ अनुमानित लागतमा ५ महिनाअघि सुरु पुनर्निर्माण रकम अभावमा रोकिएको हो। अहिलेसम्म मन्दिरको आधार (जग) मात्र निर्माण भएको छ।

जग निर्माण गर्न नै हालसम्म १ करोड ५० लाख रुपैयाँ खर्च भएको र बाँकी काम अघि बढाउन आर्थिक सहयोग उपलब्ध गराउन सम्झौता भएका निकायले समयमै रकम नदिएकाले काम रोकिएको सांस्कृतिक सम्पदा संरक्षण समूहका सचिव रोहित रन्जितकारले बताए। उनले ललितपुर उपमहानगरपालिकाले सम्झौता भए बमोजिम समयमै रकम उपलब्ध नगराएकाले काम रोक्नुपरेको गुनासो गरे।

'२ वर्षअघि मन्दिर पुनर्निर्माणका लागि ललितपुर उपमहानगरपालिकाले ६० लाख रुपैयाँ दिने सम्झौता भएको थियो। त्यसमध्ये दुई किस्ता गरी ४० लाख रुपैयाँ दिइसके पनि बाँकी २० लाख रुपैयाँ दिन उपमहानगरपालिका आलटाल गरिरहेको छ,' रन्जितकारले भने, 'हामीले बारम्बार अनुरोध गर्दा पनि सुनेको नसुनै गरिरहेको छ।'

२ वर्षमा पुनर्निर्माण गरिसक्ने लक्ष्यसहित काम सुरु गरे पनि सहयोग दिने सम्झौता भएका दातृ निकाय तथा संघसंस्थाबाट समयमै रकम उपलब्ध नभएकाले पुनर्निर्माणमा ढिलाई भएको समूहले जनाएको छ।

समूहले हालसम्म पुनर्निर्माणको काममा १ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको छ। बाँकी रकम विभिन्न दाता तथा संघ संस्थाले सहयोग गर्ने सम्झौता भएकाले रकम प्राप्त भएपछि मात्र काम अघि बढ्ने समूहकी प्रशासन अधिकृत सरिता महर्जनले जनाइन्। उनले भनिन्, 'बाँकी रकम ललितपुर उपमहानगरपालिका, स्थानीय टोल सुधार समिति, उद्योग वाणिज्य संघ र नर्वेजियन एम्बेसीले सहयोग गर्ने सम्झौता भएको थियो। त्यसमध्ये तुुरुन्तै रकम उपलब्ध गराउन ललितपुर उपमहानगरपालिकालाई पत्र पठाएका छौं।'

तर ललितपुर उपमहानगरपालिकाकी सम्पदा शाखा प्रमुख चन्द्रशोभा महर्जनले बाँकी रकम माग गरी समूहले कुनै पत्र नपठाएको जनाउँदै भनिन्, 'समूहले सम्भौता अनुसार काम गरेको छैन। सम्झौता अनुसार काम गर्न नसकेकाले उपमहानगरपालिकाले यसमा सोच्नुपर्ने हुन्छ।'

हालसम्म पुनर्निर्माणमा २ लाख रुपैयाँको इँटा खरिद, १ करोड रुपैयाँको काठ र काष्ठकला तथा १० लाख रुपैयाँभन्दा बढी रकम ज्यालामा खर्च भएको समूहले जनाएको छ। डेढ करोड खर्च हुँदा अहिलेसम्म एक तलाको काम पनि नसकिएकाले अनुमानित ४ करोड ५० लाख रुपैयाँमा भाइदेग पुनर्निर्माण नसकिने समूहका सचिव रन्जितकारले जानकारी दिए। उनले मन्दिरमा प्रयोग हुने काठ तथा निर्माण सामाग्री अत्यन्त महँगो भएकाले लागत अनुमान अनुसार पुनर्निर्माण गर्न नसकिने बताए।

भाइदेग विसं १९९० को भूकम्पमा लडेको थियो। भूकम्पको ८२ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको भाइदेग विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रकै पृथक खालको सम्पदा हो। पाटन दरबार क्षेत्रमा सबै मठमन्दिर पैगोडा शैलीका छन् भने भाइदेगको उत्तर कुनामा मुगल शैलीमा बनेको गुम्बजले बेग्लै पहिचान झल्काउने संस्कृतिविद् हरिराम जोशी बताउँछन्। स्थानीयले भाइदेग नाम दिएको मन्दिरको पुरानो नाम गुम्बज रहेको र ८२ वर्षपछि निर्माण हुन लागेको मन्दिरको पुनर्निर्माण काम रोकिनु दुःखद रहेको उनले बताए।

भाइदेग पुनर्निर्माणमा काष्ठकलासहित भित्री कार्य बढी भएकाले एक वर्षयता कलात्मक बुट्टाको काम सुरु गरेर पाँच महिनायता मन्दिर निर्माण गर्न थालिएको समूहकी प्रशासन अधिकृत महर्जनले बताइन्। उनले रकम अभावमा दुई सातायता काम रोकिएको र समूहका अध्यक्ष पृथ्वीबहादुर पाण्डे विदेश गएकाले बाँकी प्रक्रिया पाण्डे फर्किएपछि मात्र अघि बढ्ने बताइन्।

पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका चौतरिया भारो भगिरथ भैयाले स्थापना गरेका कारण मन्दिर कालान्तरमा भाइदेग भनिन थालेको संस्कृतिविद् जोशी बताउँछन्। उनले भने, 'नेपाल भाषामा देग भनेको मन्दिर हो, भैयाले स्थापना गरेका कारण उनकै नाममा मन्दिरको नाम भाइदेग हुन पुगेको हो।'

भैयाले करिब ३ सय ५० वर्षअघि मन्दिर निर्माण गरेका थिए। भारतमा मुगल शासकले बनारसस्थित काशी विश्वनाथ मन्दिर ध्वस्त पारेपछि चौतरिया भैयाले काशीबाट देवता ल्याएर मन्दिर स्थापना गरेको मानिन्छ।

प्रकाशित: ३० भाद्र २०७३ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App