पोखरा महानगरले मुख्य सडक किनारमा हुने गरेको सवारी पार्किङ हटाउने तयारी गरेको छ। सोमबारदेखि नै सडक किनारको पार्किङ हटाउने तयारी महानगरले गरेको भएपनि व्यवसायीको विरोधले केहीदिनका लागि रोकिएको छ। महानगरले पनि पूर्वतयारी नपुग्दा सोमबारदेखिको नियम लागु गर्न नसकेको बताएको छ।
पोखरा महानगरपालिकाको यातायात व्यवस्थापन समितिको माघ १६ गते बसेको बैठकले सोमबारदेखि लागु हुने गरि सडक किनारमा सवारी पार्किङ गर्न नपाउने भन्दै निर्णय गरेको थियो। तर, पार्किङका लागि बैकल्पिक ठाउँ भने तोकेको थिएन। पृथ्वीचोक–सभागृहचोक–न्यूरोड, बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक क्षेत्रमा सडक किनारमा सवारी पार्किङ गर्न नपाउने गरि महानगरले सूचना निकालेको थियो।
ती क्षेत्रमा सवारी चाप वृद्धि भएको र त्यसले गर्दा सौन्दर्यकरणमा समेत समस्या भएकोले पार्किङ गर्न नपाउने गरि महानगरले सूचना जारी गरेको थियो। महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सडक किनार खालि गराउने उद्देश्यले सडक किनारमा सवारी पार्किङ गर्न नपाउने गरि रोक लगाउने तयारी गरेको बताए। उनका अनुसार सडकमा पार्किङ गर्न नपाउने भएपछि ती सवारी महानगरले तोेकेको पायक पर्ने ठाउँमा सवारीधनीले पार्किङ गर्नुपर्नेछ।
‘पर्याप्त पूर्वतयारी नहुँदा अहिलेका लागि सोमबारदेखि लागु हुने गरि पार्किङ नहटेको हो। नयाँ व्यवस्था गरेपछि केहीदिन भित्रै सडकको पार्किङ हट्नेछ,’ उनले भने, ‘हामीले पर्याप्त तयारी र सरोकारवालासँग छलफल गर्न नसक्दा तयारी अपुगमा रोकिएको मात्र हो। पुरै रद्द भएको भने होईन।’ सडक किनारमा सवारी पार्किङ गर्दा सवारी गुडाउनै समस्या परेको उनले बताए। ‘दोहोरो पार्किङले गर्दा कतिपय ठाउँमा त एकतर्फी सवारी चलाउन पनि समस्या पर्ने देखिएपछि महानगरले विकल्प दिन थालेको हो,’ उनले भने।
उनका अनुसार सडकमा पार्किङ गर्न नपाएपछि सवारीलाई महानगरले तोकेको ठाउँमा पार्किङ गर्नुपर्नेछ हुन्छ। ती ठाउँ निजी, सार्वजनिक किसिमका छन्। अहिलेसम्म सार्वजनिक, निजी गरि विभिन्न २७ ठाउँ पार्किङका लागि छुटयाइएको छ। ती मध्ये केही निजी ठाउँ पनि छन। जहाँ सवारी धनीले आफ्ना सवारी पार्किङ गर्न सक्छन्। महानगरले तोकेको पार्किङ शुल्क जग्गाधनीले सवारीधनीबाट अशुल्न पाउने उनले बताए।
‘सोमबारदेखि लागु हुने भनिएपनि केहीदिनका लागि मात्र सारेको हो । पूर्वतयारी गर्नका लागि हो। थप बैकल्पिक ठाउँ र अन्डरग्राउण्ड खोजेका छौ,’ उनले भने, ‘उपत्यका नगर विकास समितिको स्वामित्वको जग्गामा पनि पार्किङ गर्नेगरि व्यवस्था मिलाइएको छ। जग्गाधनीले आफ्नो जग्गाको पैसा आफैले उठाउनेछन् तर, नगरपालिकाले शुल्कको दर तोकिदिन्छ।’
सोमबारदेखि मुख्य सडक खालि गर्ने भनेपनि तयारी नपुगेको भन्दै केहीदिनका लागि रोकेको महानगरले सशुल्क सवारी पार्किङ क्षेत्रको शुभारम्भ भने गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधान राख्ने दिन अब सकिएको बताए। पोखरा–९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको सोमबार शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए।
‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौं, सडकमा पार्किङ गराउनेगरि अब हामीले टेन्डर पनि गर्दैनौं,’ प्रमुख आचार्यले भने, ‘महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो।’ पोखरा महानगर क्षेत्रमा बनेका भवनको बेसमेन्टलाई पनि पार्किङका लागि उपयोग गरिने उनले बताए। यस्तै मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गालाई समेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङ कै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उनले बताए।
पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालासँगको छलफल समेत जारी रहेको उनले बताए। कुनै पेसा–व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने मेयर आचार्यले बताए। महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा ५ सय बढी साना सवारी र ४ सय बढी दुइपांग्रे सवारी अट्ने उनले बताए। पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृह–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वीचोक सम्मको सडकमा एकपटकमा २५० गाडी र ३५० मोटरसाइकल पार्किङ हुने गरेको छ।
‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको संख्यामा सवारीसाधान पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका सवारी अट्नेछन्,’ उनले भने, ‘तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने चिन्ता हो। तर, त्यसो हुँदैन। सडकको पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारीमा महानगर रहेको उनले बताए।
यसअघि सोमबारदेखि सडकको पार्किङ हटाउने महानगरको तयारीपछि पोखराका व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघले विरोध जनाएको थियो। संघका अध्यक्ष पवनकुमार प्रजापतिले सडकमा हुने अवैधानिक व्यवसायलाई व्यवस्थित बनाउन र फुटपाथ पैदलयात्रीले नै उपयोग गर्न पाउनुपर्ने बताए।
‘हतारमा एकतर्फी रुपले महानगरले गरेको यो निर्णयसँगै व्यवस्थापन गरिएको भनिएका घोषित पार्किङस्थलले अहिलेको सवारी चाप धान्न सक्छ की सक्दैन भनेर प्रश्न उब्जिएको छ,’ प्रजापतिले भने, ‘निषेधित क्षेत्र घोषणा अघि विकल्पबारे सोच्न सकियो वा सकिएन भन्ने हो। अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय दिनुपर्छ।’
महानगरको सवारी निषेधको निर्णयसँगै सो क्षेत्रका व्यवसायीमा विस्थापन र लगानी डुब्ने चिन्ता थपिएको उनले बताए। ‘पार्किङ समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ तर यस्ता निर्णयबाट उपभोक्ता तथा व्यवसायीहरु प्रताडित बन्नु हुँदैन,’ प्रजापतिले भने।
प्रकाशित: २३ माघ २०७९ १०:२४ सोमबार