coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरबाटो हो कि बगर?

भक्तपुर- भक्तपुर, सूर्यविनायक नगरपालिकाको थुसाचाबाट ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन्। भक्तपुरको जगाती–च्याम्हासिंह मुख्य सडकको करिब बीचबाट पूर्वस्थित ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा त्यस बाटोबाट हिँड्नुपर्ने यात्रु र स्थानीय हैरान भएका हुन्।

दैनिक आवतजावत गर्नुपर्ने बताउने पूर्णकेशरी लवजूले बाटो हिलाम्मे हुँदा जनजीवन नै अस्तव्यस्त भएको बताइन्। 'थोरै पानी पर्दा पनि बाटो हिलाम्मे हुन्छ,' उनले नागरिकसँग दुःख बिसाउँदै भनिन्, 'पानी नपर्दा धुलाम्मे हुन्छ।'

सूर्यविनायक नगरपालिकाको इथुली, चोलिंचा हुँदै ताथली गाविस जाने स्थानीय त्यस बाटोबाट जानुपर्छ। अझ आपतविपत् पर्दा वा अपर्झट राति त्यस बाटोबाट हिँड्नु कष्टकर भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार नगरपालिका भए पनि बत्ती समेत नभएको बाटो अँध्यारोमा हिलाम्मे हुँदै हिँड्नुपर्दा साह्रै सास्ती भएको छ। बजारमा दूध बेच्न जाने किसान, कार्यालय जाने कर्मचारी, स्कुल जाने बालबालिका सबैभन्दा बढी सास्ती खेपिरहेका छन्।

त्यही बाटोबाट दैनिक विद्यालय आवतजावत गर्ने ९ वर्षीया विद्यार्थी रोजिना मगरले पूरै हिलाम्मे बाटोबाट विद्यालय आउँदा–जाँदा जुत्ता हातमा बोकेर हिँड्नुपर्ने बाध्यता पोखिन्। 'घरबाट त्यही बाटो स्कुल जाँदा जुत्ता हातमा बोकेर हिँड्नुपर्छ,' उनले सुनाइन्, 'बाटो पार गरेपछि हनुमन्ते खोलामा खुट्टा धोएर जुत्ता लगाइ स्कुल जाने गरेका छौं।'

नगरपालिका भए पनि रोजिनाको गाउँ वरपर विद्यालय छैन। त्यहाँका बालबालिका विशेष गरी भक्तपुर नगरपालिका–६ हनुमानघाटस्थित श्री बाल विकास निम्न माध्यमिक विद्यालय र भक्तपुर नगरपालिका–२ लिवालिस्थित आधा दर्जनजति निजी विद्यालय जान्छन्।

इथुलीका युवा राधेश्याम लवजूले नगरपालिका नाममात्रैको भएको बताए। 'नाम नगरपालिका, बाटो हेर्नेे हो भने झुर छ,' उनले भने, 'बाटो नगरको हो कि बगरको हो तपाईँ आफैं छुट्याउनुस्।' मोटर हिँड्ने बाटो ग्राभेलसम्म हुन नसक्दा साह्रै सास्ती खेप्नु परेको उनले बताए।

नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले नगरपालिका घोषणा भए पनि त्यसअनुसार पूर्वाधार विकास हुन नसकेको स्वीकारे। 'नगरपालिका क्षेत्रका धेरै बाटो ग्राभेल पनि  गर्न सकिएको छैन। अझै पनि कच्ची नै छन्,' उनले सुनाए।

प्रकाशित: २८ भाद्र २०७३ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App