१६ चैत्र २०८० शुक्रबार
समाज

छिनमै गुमे दुबै खुट्टा

काठमाडौं– खोटाङ, वाकचोलका ५१ वर्षीय डिल्लीकेशर खत्रीले दुवै खुट्टा गुमाउनुपर्ला भनेर कल्पना पनि गरेका थिएनन् । तर, नसोचेकै भइदियो । भदौ पहिलो सातादेखि उनी अप्ठेरो जीवन बाँचिरहेछन् ।

परिवारले उनलाई भदौमा राजधानीको मनमोहन कार्डियो भास्कुलर एन्ड थोरासिक सेन्टर पुर्याए । विकट गाउँका खत्री परिवारलाई तत्काल राजधानी धाउनु सहज थिएन । जतिसक्दो छिटो अस्पताल पुग्ने प्रयास नगरेका होइनन् । तर, चिकित्सकले उपचारमा ढिलो ल्याइएको जनाउँदै खुट्टा काटेर फाल्नुको विकल्प नरहेको बताए ।

परिवारका अनुसार खत्री  साउन ३० गते गाउँमै हिँडिरहेका थिए । एक्कासि दुवै खुट्टा असह्य गरी दुख्न थाले । उनी असाध्यै छटपटिए । गाउँलेले उनलाई बोकेर घर पु¥याए । धामी–झाँक्री लगाए । तैपनि छटपटी घटेन । त्यो रात त्यसरी नै बिताए ।

न नजिक अस्पताल थियो न त मोटरबाटो । कुनै उपाय नभएपाछि काठमाडौंबाट हेलिकप्टर मगाइयो । हेलिकप्टर भोलिपल्ट १२ बजे मात्र आइपुग्यो । तुरुन्तै मनमोहन पु¥याइयो । अस्पताल पुग्दा एक दिन ढिला भइसकेको थियो जति बेला खत्रीका दुवै खुट्टा बिग्रिसकेका थिए । रक्तचाप धेरै नै बढेको थियो । उच्च रक्तचापकै कारण नसा फुलेर खुट्टा बिग्रिएको औंल्याउँदै चिकित्सले त्यसलाई थप फैलिन नदिन बिग्रिएको भाग काटेर फाल्नुपर्ने बताए ।

उपचारमा संलग्न चिकित्सक डा. कजन श्रेष्ठका अनुसार उनको फुलेको नसाको शल्यक्रिया गरी नयाँ फेर्नुपर्ने देखिएको छ । पहिले गरिएको शल्यक्रियाको घाउ निको हुँदै गएको छ ।  उच्च रक्तचापका कारण मुटुसँगै जोडिएको नसा फुलेर रगतको डल्लो खुट्टाको नसातिर पसेपछि रक्तसञ्चार बन्द भई खुट्टा बिग्रिएको श्रेष्ठले जानकारी दिए ।

विकट गाउँका खत्री सानोतिनो खेतीका भरमा गुजारा चलाउँदै आएका थिए । यो घटनापछि खत्री परिवारमा एकैपटक दुई विपद् थपिएका छन् । खुट्टा गुम्नु, त्यसकै उपचारमा थेगिनसक्नु ऋण लाग्नु । ऋण कसरी तिर्ने भन्ने चिन्ता त छँदै छ, थप उपचार कसरी धान्ने समस्या पनि उत्तिकै परिवारलाई ।

छोरा चन्द्रबहादुरका अनुसार अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको र बिग्रेको नसा फेर्न पुनः शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । सबै गरी दस लाख रुपैयाँ पुग्ने अवस्था रहेको उनी बताउँछन् । ‘यो पैसा तिर्न सबै जग्गा बेचे पनि पुग्दैन,’ उनले दुखेसो पोखे ।

उपचारमा ढिलो हुँदा बुबाले खुट्टा गुमाउनुपरेको चन्द्रबहादुरले बताए । ‘चार घन्टाभित्र ल्याउन सकेको भए खुट्टा काट्नुपर्ने रहेनछ,’ उनले चिकित्सकको भनाइ सुनाउँदै भने ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याले खुट्टा गुमाउने खत्री एक्ला होइनन् । अस्पतालमै सप्तरीकी सानु चौधरीको पनि एउटा खुट्टा काटिएको छ । चिकित्सका अनुसार उनलाई मुटुरोगले खुट्टामा असर पुगेको थियो । ‘मुटु फुलेको थियो, त्यहीँबाट रगतको डल्ला खुट्टाको नसामा पुगेछ, रक्तसञ्चार बन्द भएछ,’ डा. श्रेष्ठले भने । उनी केही छिटो अस्पताल आइपुगेकाले एउटा खुट्टा बच्यो । यो अस्पतालमा गत वर्ष गरिएका नसासम्बन्धी ७ सय ७१ शल्यक्रियामा १ सय ८ जनाले अंग गुमाएका थिए । डा. श्रेष्ठका अनुसार यो दर अन्य देशको तुलनामा उच्च हो । छिटो उपचारमा आउन नसक्नुलाई नै उनी यसको प्रमुख कारण मान्छन् ।

चिकित्सकका अनुसार मुटु तथा रगत पठाउने नसामा उच्च रक्तचाप, मधुमेह, बोसो भएका, अत्यधिक धुम्रपान तथा वंशानुगत समस्याले असर पुगी हातखुट्टा तथा अन्य भित्री अंग बिग्रिन पुग्छन् ।
यस्तो समस्या दुई रुपमा देखा पर्ने डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार एउटा एक्विड पेन (एक्कासि दुख्ने समस्या) र अर्को क्रोनिक पेन (बिस्तारै दुख्ने) लक्षण हुन्छ । जुनसुकै समस्या देखिए पनि छिटो उपचारमा आए अंग बिग्रिन नपाउने डा. श्रेष्ठको सुझाव छ । ‘एक्कासि दुखेको खण्डमा छिटोभन्दा छिटो उपचारमा जानुपर्छ, ढिलो गर्दा अंग बिग्रिएर काट्नैपर्ने  स्थिति निम्तिन सक्छ,’ उनले भने ।

चिकित्सकका अनुसार यी दुवै दुखाइ उच्च रक्तचाप, मधुमेह, बोसो, चुरोट पिउनेजस्ता कारणले नै हुन्छ । यी रोग भएका व्यक्तिले नियमित उपचार गरे बच्न सकिन्छ ।

क्रोनिक पेनका लक्षण
– खुट्टा दुखिरहने
– घाउ भएपछि निको नहुने
– खुट्टा निलो–कालो हुने
– हात–खुट्टाका रौं झर्दै जाने

एक्विड पेन
– एक्कासि कडा दुखाइ हुने
– पेन किलरले काम नगर्ने

प्रकाशित: २५ भाद्र २०७३ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App