४ आश्विन २०७७ आइतबार
समाज

अस्पताल सजिलो मान्दैनन् बिरामी

धरान– चार दिनदेखि ज्वरोले निस्लोट । अनुहारमा खटिरा । धरान–१७, तल्लो फोक्ल्यान्डका ६४ बर्षीय वजबहादुर सार्की रोक्काले डेढवर्षे नातिलाई नजिकैको रेल्वे चोकस्थित मेडिकल पु¥याए । दबाई खुवाएको दुई दिन भयो, ज्वरो अझै ओर्लिएकै छैन । खटिरा उस्तै छ ।

रोक्का परिवार अब खर्च जोहो गरेर नातिलाई अलिक ठूलै डाक्टरकहाँ पु¥याउने तयारीमा छ । तर, उनीहरू सरकारी अस्पताल वा नेपालकै नाम चलेको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान होइन, धरान–३, माछाभौडीस्थित एक निजी मेडिकल लैजान चाहन्छन् । बच्चालाई गाह्रोसाह्रो पर्दा रोक्का परिवार सधैं त्यतैतिर दौडाउँछन् ।

रोक्का परिवारको घरबाट आधा घन्टा दुरीमा रहेको प्रतिष्ठानमा विशेषज्ञ बालरोग चिकित्सकहरू छन् तर उनीहरूले अहिलेसम्म त्यहाँको सेवा लिएका छैनन् । त्यसो त धरान–४ छाताचोकमा नेपाल सरकारको स्वास्थ्यचौकी पनि छ जहाँ सरकारले भनेबमोजिम विभिन्न औषधि निःशुल्क पाइन्छ । तर, रोक्का परिवारलाई माछाभौडीस्थित मेडिकल पुग्नै सहज लाग्छ । बच्चाकी आमा प्रमिला भन्छिन्, ‘ठूलो अस्पतालमा गयो, बिल काट्ने झन्झट । फेरि कता के हो थाहै हुन्न । मेडिकलमा पैसा तिरेपछि झन्झट हुन्न, छिटो पनि हुन्छ ।’

नेपाल सरकारले ६० वर्षमाथिका वृद्धवृद्धालाई विभिन्न जाँचमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ । पूर्वमा यो सेवा धरानस्थित बिपी प्रतिष्ठानमा पाइन्छ । ६४ वर्षे रोक्का यो सुविधाप्रति बेखबर छन् । ‘खोइ, अहिलेसम्म त मेडिकलमै गइरहेका छौं । निःशुल्क उपचार पाइन्छ कि पाइँदैन थाह भएन,’ उनी भन्छन् ।
ऋण लिएर भए पनि उपचार गराउन निजी मेडिकलै धाउने रोक्का परिवार प्रतिनिधि मात्र हो, निम्न आर्थिक अवस्था भएका अन्य थुप्रै नागरिक पनि निजी अस्पताल वा मेडिकल नै चहार्छन् । सरकारी स्वास्थ्यसंस्था एवम् अस्पतालमा उपलब्ध निःशुल्क उपचार र औषधिमा गरिब नागरिकको सहज पहुँच छैन । उनीहरू ती सेवा उपभोग गर्नबाट वञ्चित छन् ।

सरकारी स्वास्थ्यसंस्था एवम् अस्पतालमा उपलब्ध निःशुल्क उपचार र औषधिमा गरिब नागरिकको सहज पहुँच छैन । उनीहरू ती सेवा उपभोग गर्नबाट वञ्चित छन् ।

रोक्का परिवारकी छिमेकी ५१ वर्षीया कुमारी राईलाई मिर्गौलासम्बन्धी समस्याले सताएको दुई वर्ष भयो । साहिली छोरीसँग बस्दै आएकी उनलाई डाक्टरले डाइलोसिस गर्न सुझाए । बिपीमा जँचाएपछि उनी काठमाडौंको टिचिङ हस्पिटल पनि गइन् । मजदुरी गरेर जीविका चलाइरहेकी एकल महिला उनलाई धरान र काठमाडांैमा ३० हजार खर्च गर्नु सजिलो थिएन । अहिले एक साता भो औषधि छुटेको । किनेर खान पैसा पनि छैन । सरकारले डाइलोसिस निःशुल्क गरेको उनले सुनेकी छन् । ‘सरकारले निःशुल्क भनेको सुन्छु तर कुन ठाउँमा पाइन्छ, कहाँ जाने, कसो गर्ने थाह छैन,’ उनी भन्छिन् । नेता, मन्त्रीहरु राज्य कोषबाट विदेशमा उपचार गराउन गएको बारे पनि उनले सुनेकी रहिछिन् । ‘नेता, मन्त्रीहरु विदेश जानुहुन्छ, हामीलाई पनि उपचारमा आधा मात्र छुट दिए नि हुन्थ्यो भन्ने लाग्छ,’ राईले भनिन् ।

आवासका लागि सहयोग समूह, लुमन्तीका सामुदायिक सहजकर्ता जित श्रेष्ठका अनुसार गरिब सुकुम्बासी परिवार रोगले च्यापेपछि ऋण खोजेरै भए पनि मेडिकलतिरै पुग्छन् । कारण हो– सरकारी सेवाप्रति विश्वास नहुनु अनि निःशुल्क उपचार सेवामा पहुँच ज्यादै कम हुनु । ‘गरिब जनता ऋण काढेरै भए पनि छिटोछरितो उपचार गर्ने भनेर निजी अस्पताल र मेडिकल तिर जान्छन्, त्यहाँ पैसा सकिएर केही उपाय नलागेपछि मात्रै बिपीतिर पुग्छन्,’ उनले भने, ‘जसलाई निःशुल्क स्वास्थ्योपचार आवश्यकता छ त्यसमा उसको पहुँच पनि छैन । अहिले टाठाबाठाले मात्र पाइरहेका छन् ।’

स्थानीय छाताचोकमा नेपाल सरकारमातहत स्वास्थ्यचौकी छ । त्यहाँ चौबिसै घन्टा बर्थिङ सेन्टर (प्रसूतिसेवा) पनि सञ्चालनमा छ । सुरक्षित गर्भपतन, प्राथमिक उपचार, परिवार नियोजन सेवासँगै विभिन्न रोगको निःशुल्क औषधि वितरण हुन्छ । तर, यो स्वास्थ्यचौकी मात्र भएकाले सामान्य उपचार मात्र हुन्छ । यहीँ नियमित जाँच गराएर सामान्य अवस्थामा बच्चा जन्मिए सुत्केरीले प्रोत्साहन भत्तासहित ९ सय रुपैया पाउँछन् । तर, सामान्य रुपमा प्रसूति हुन नसकी गर्भवतीलाई बिपी रिफर गर्नुपरे यो सुविधाबाट वञ्चित हुनुपर्छ नै, उल्टै त्यहाँ पैसा तिर्नुपर्छ । स्वास्थ्यचौकीले नसक्ने रोगको उपचार निःशुल्क गराउन इनरुवास्थित जिल्ला जनस्वास्थ्य कार्यालय वा विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुग्नुपर्छ । जुन सबैलाई सम्भव हुँदैन । ‘यहाँ नहुने केसलाई बिपीमा पठाउँदा पैसा तिर्न सक्दैनन्, इनरुवा वा विराटनगरस्थित कोसी अञ्चल अस्पताल जानुस् भन्छौं तर त्यहाँ पनि जान नसक्ने बिरामी आउँछन्,’ बर्थिङ सेन्टर इन्चार्ज मोहनकुमारी राईले भनिन् ।

स्वास्थ्यचौकीका अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा यहाँ ओपिडीमा ३ हजार बिरामी आएको तथ्यांक छ । ९२ जनाले सुत्केरी सेवा, ८५ जनाले सुरक्षित गर्भपतन, ४७ जनाले इन्प्लान्ट र ३५ जनाले आइयुसिडी सेवा लिएका छन्। ‘यहाँ निःशुल्क उपचार र औषधि पाइन्छ भन्ने थाह भए पनि विश्वास गर्दैनन् र मेडिकल जान्छन् । निःशुल्क औषधि दिँदा साधारण होला, एक्स्पायर दिन्छ होला भन्ने भ्रम छ,’ निजी मेडिकल जाने कारणबारे चौकीप्रमुख शुभनारायण बनैता भन्छन् ।

 

प्रकाशित: २५ भाद्र २०७३ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App