१६ चैत्र २०८० शुक्रबार
समाज

अस्पताल पुग्नै गाह्रो, उपचार झन् मुश्किल

गत जेठमा गाउँ आएकी चिकित्सक ममता शर्मासँग आफ्नो कथा सुनाउँदै देवीमाया चेपाङ (बायाँ)।

चितवन– स्यामराङ गाउँ चितवनको विकट पहाडी गाविस लोथर–७ मा पर्छ । सोही गाउँमा बस्छिन्, ३५ वर्षीया देवीमाया प्रजा चेपाङ । उनलाई गएको माघदेखि ‘ठूलो रोग’ ले च्यापेको छ । उपचार गरेर पूर्ण निको हुने चाहना नभएको होइन तर स्यामराङमा बसेर गरेको यस्तो चाहना पूरा हुँदैन भन्छिन्, देवीमाया । गाउँदेखि अस्पताल पुग्नै गाह्रो छ । अस्पताल पुगे पनि खर्चको जोहो गर्न अझ समस्या ।

देवीमायाले महिनावारी भएको समयमा धेरै रगत बग्ने समस्या बेहोरेको पहिल्यैदेखि हो । तर सुरुमा कसैलाई बताइनन् । पछि श्रीमान विनोदकुमार चेपाङले पनि थाहा नपाएका होइनन् तर के गरेर निको हुने हो, कस्तो रोग हो, त्यसतर्फ विनोदले पनि चासो दिएनन् । गएको माघमा उनको समस्या लुकेन । उनलाई लगातार वान्ता हुन थाल्यो । देवर अतिबल चेपाङ स्थानीय स्कुलका शिक्षक हुन् । बिरामी परे चेपाङ धामीझाँक्रीको सहारामा पुग्छन् तर भाउजूको अवस्था देखेपछि अतिबलले उनलाई अस्पताल ल्याए ।

स्यामराङबाट सिधा उकालो झरेपछि लगभग दुई घन्टामा गाडी चढ्ने ठाउँ पुगिन्छ, कच्ची पहाडी बाटोमा जिप फाट्टफुट्ट मात्रै चल्छन्, कुर्दाकुर्दै दिन बित्छ

भरतपुरको सरकारी अस्पताल पुगे उपचार निःशुल्क हुन्छ भन्ने अतिबललाई थाहा थियो तर बिरामी बोकेर अस्पताल पुग्न सजिलो थिएन । स्यामराङबाट सिधा उकालो झरेपछि लगभग दुई घन्टामा गाडी चढ्ने ठाउँ आइपुग्छ । कच्ची पहाडी बाटोमा जिप फाट्टफुट्ट मात्रै चल्छन् । कुरेर बसे दिन बित्छ । रिजर्भ गरेर जाँदा पनि भण्डारा पुग्न लगभग चार घन्टा लाग्छ । भण्डाराबाट भरतपुर जान बस चढ्ने हो भने डेढ घन्टा लाग्छ ।

गएको माघ १८ गते देवीमाया भरतपुर अस्पताल आइन् । गाउँबाट हिँडेको आठ घन्टामा उनले अस्पताल टेकिन् । रोग चर्को हो भन्ने शंका गरे चिकित्सकले । भिडियो एक्सरे हेर्दा पेटमा डल्लो देखियो । थप उपचारका लागि भरतपुर अस्पतालबाट क्यान्सर अस्पताल लैजान सुझाव दिइयो । देवीमायाको परिवारलाई चिन्ता थपियो । निःशुल्क उपचार हुने भनेको ठाउँबाट अन्यत्र जाँदा बेहोर्नुपर्ने खर्चको जोहो गरेका थिएनन् उनीहरुले ।

निःशुल्क भने पनि भरतपुर अस्पतालमै केही रकम खर्च भइसकेको थियो । अस्तालबाट पाइने सेवा सुविधा, परीक्षण र औषधिको पैसा तिर्न नपरे पनि केही परीक्षण बाहिर गर्नु परेको थियो । त्यसको लागि १० हजार रुपैयाँ खर्च भएको देवीमयाका देवर अतिबलले बताए । चेपाङ परिवारका लागि १० हजार रुपैयाँ चानचुने कुरा होइन । खाने पानीको समेत निकै दुःख भएको स्यामराङमा सिँचाइको कुनै सुविधा छैन ।

त्यस्तो ठाउँको पाखो जमिनमा खेती गरेर परिवार पाल्नुपर्ने बाध्यता देवीमायालाई छ ।
पाखो बारी ३१ रोपनी छ । त्यसमा फल्ने कोदो मकैले खान बल्लबल्ल पुग्छ । परिवार संयुक्त भएका कारण यसबाट हुने उब्जनीले १६ जनाले छाक टार्नुपर्छ । सिस्नोको साग र गिट्ठा भ्याकुरजस्ता कन्दमूलको सहाराले छाक पु¥याउनुपर्ने अवस्था छ । देवीमायाका श्रीमान विनोदको कुनै आर्थिक स्रोत छैन ।

निम्न आर्थिक अवस्थाका परिवारलाई खर्च लाग्ने ठाउँमा उपचार गराउन जाने भनेपछि पीर थपिनु स्वाभाविकै थियो । क्यान्सर अस्पतालमा केही उपचार निःशुल्क हुने भनेपछि भने राहत महसुस भएको अतिबलले बताए ।

परीक्षणपछि क्यान्सर अस्पतालले देवीमायाको पेटमा ट्युमर पलाएको रिपोर्ट दियो । क्यान्सरले उनलाई गलाएर लगभग अन्तिम अवस्थामा पु¥याएको जानकारी डाक्टरले सुनाउँदा अतिबलको ओठ तालु सुक्यो ।
केही परीक्षण बाहिर पनि गर्नुप¥यो । क्यान्सर अस्पतालमा एमआरआई मेसिन नभएको होइन तर झट्ट पालो पाइँदैन । बिरामीको अवस्था नाजुक भएका कारण कुर्न नसकेपछि चितवन मेडिकल कलेज आएर उनले भाउजूको एमआरआई गराए । क्यान्सर अस्पतालमा परीक्षण गराउँदा उठेको बिलमध्ये १२ हजार मिनाहा भयो । १६ हजार रुपैयाँ भने तिर्नुपर्ने देखियो । चितवन मेडिकल कलेजले एमआरआई गरेको १२ हजार लिँदोरहेछ । उनले ६ हजार रुपैयाँ मात्र तिरे, अरु छुट पाए ।

यो छुटका लागि भने अतिबलले भरतपुर र नारायणगढमा रहेका चिनेजानेकालाई गुहारेका थिए । उनीहरुले सहयोग नगरेको भए क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा छुट पाउने सम्भावना थिएन । परीक्षणबाट दाहिने मिर्गौलामा समेत असर परेको पत्ता लागेको छ । अब यी सबैको उपचार गर्ने पर्याप्त आर्थिक स्रोत उनीहरुसँग छैन । चिकित्सकले क्यान्सर अन्तिम अवस्थामा पुगेको बताएका कारण पनि उनीहरुले थप उपचारका लागि चासो दिएनन् ।

परीक्षण पूरा भएपछि देवीमाया घर फर्केकी छन् । अहिले त्यस्तो गम्भीर खालका थप समस्या नदेखिएको देवर अतिबल चेपाङ बताउँछन् तर रेडियो सुनेर बस्ने देवीमायाले उपचारबारे रेडियोमा आउने विभिन्न विज्ञापनप्रति चासो दिन थालेकी छन् । विज्ञापनमा आउने जानकारी सुनेपछि देवीमायाले ती ठाउँमा जान पाए निको हुन्थ्यो कि भन्ने चाहना राख्न थालेकी छन् ।

‘हेटौंडाको खै कुन एउटा आयुर्वेदिक केन्द्रको प्रचार सुनेर त्यहाँ जान पाए निको हुन्थ्यो कि भन्न थाल्नुभएको छ,’ देवर अतिबलले भने । तर त्यहाँ जान पनि खर्चको पिरलो त छँदै छ, उपचार हुने ग्यारेन्टी पनि छैन । त्यसमाथि अहिले गाडी नचल्दा बिरामी मान्छेलाई कसरी पु¥याउने भन्ने समस्या छ ।
‘पहिरोले बाटो बिग्रेका कारण गाडी चल्दैन । हिँडेर राजमार्ग आउन दिनभर लाग्छ । त्यसैले अहिले कही लगेको छैन,’ अतिबलले भने ।

६ हजार जनालाई निःशुल्क सेवा

चितवनको सरकारी अस्पताल, भरतपुर अस्पतालमा निःशूल्क सेवा लिने बिरामीको संख्या छ हजारभन्दा धेरै छ । अस्पतालको सामाजिक सेवा इकाईले दिएको जानकारीअनुसार गएको आर्थिक वर्षमा ६ हजार ३ सय ६५ जना बिरामीले निःशुल्क सेवा लिएका छन् । त्यसमा २ हजार ९ सय २५ पुरुष र ३ हजार ४ सय ४० महिला छन् । अघिल्लो आर्थिक भूकम्पपीडित सहित जम्मा ३ हजार ८ सय ३२ जनाले निःशुल्क सेवा लिएको सामाजिक सेवाका प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

निःशुल्क उपचारका लागि एक करोड १ लाख १५ हजार ६३ रुपैयाँ खर्च भएको छ । जसमध्ये सरकारले ६७ लाख र अस्पताल विकास समितिको ३४ लाख बराबरको रकम खर्च गरेको मेडिकल सुपेरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए ।

अस्पतालमा गत आर्थिक वर्षमा १ हजार १ सय ९१ जना चेपाङ, ७६ जना बोटे, ४४ जना माझी, ६ जना मुसहरले निःशुल्क उपचार लिएका छन् । भरतपुर अस्पतालमा गरिब, विपन्न तथा सिमान्तीकृत समुदायले निःशुल्क सेवा लिन आउँदा नेपाल सरकारले जारी गरेको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र वा स्थानीय निकायको सिफारिस लिएर आउनुपर्ने नियम छ ।

 

प्रकाशित: २५ भाद्र २०७३ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App