भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।
राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो।
नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भूज सालिग्रामसहित शिला हस्तान्तरण गरेका हुन्।
महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गरेका थिए।
जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलि आएको नेपाल भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गरे। भगवान राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उनको भनाइ थियो।
प्रकाशित: १९ माघ २०७९ ११:१६ बिहीबार