coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वर्षा र हिमपात नहुँदाको मारः उच्च हिमाली भेगको जमिन सुक्यो, मुहान पनि सुके

कास्कीको माछापुच्छ्रे पदमार्ग हिमपात नहुँदा सुख्खा देखिएको मर्दी पदमार्ग क्षेत्र। तस्बिर सौजन्यः चिमनारायण गौतम

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्छ मर्दि हिमाल पदमार्ग  पछिल्लो समय यो पदमार्गमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको थियो। पदमार्गको ४२ सय मिटर उचाईसम्म पदयात्रामा जान सकिन्छ। पोखराबाट छोटो समयमा आउजाउ गर्न सकिने भएकोले पनि आन्तरिक र बाह्य पर्यटकमाझ यो पदमार्ग लोकप्रिय बन्दै गएको थियो।  

तर, यो पटक हिउँदमा वर्षा र हिमपात नहुँदा मर्र्दी पदमार्ग क्षेत्रमा पानीको श्रोत समेत सुक्न थालेका छन्। पानीको मूल सुक्दै गएको तथा हिमपात र वर्षा नहुँदा स्थानीयलाई समस्या पर्न थालेको छ। हिउँ पर्दा सेतै हुनुपर्ने यो क्षेत्र अहिले सुख्खा बनेको स्थानीयले बताएका छन। सुख्खापन बढ्दै जाँदा पदमार्गका स्थानीय व्यवसायीले पाइपबाट पानी आउन छाडेको बताएका छन्। मूलबाट निस्केको थोरै पानी पनि चिसोका कारण जमेकोले पाइपमार्फत बस्तीसम्म पुग्न नसकेको उनीहरुले बताए।  

‘पर्याप्त हिउँ परेको र वर्षा भएको भए पानी अभाव हुँदैनथ्यो, वर्षाले हिउँ पगाल्थ्यो, तर, अहिले हिउँ पनि परेन, वर्षा केही भएन,’ स्थानीय व्यवसायी चिमनारायण गौतमले भने, ‘पानीको मूल पुरै सुकेको त होईन, तर, भएको पानी पनि पाइपबाट बग्न सकेन। किनकी मूलमा पानीको वहाव नै कम भएको छ । हिउँ पनि परेको छैन, वर्षा पनि भएको छैन। बग्ने पानी पनि जमेको छ। चारैतिर सुख्खापन बढेको छ।’

उनका अनुसार अघिल्ला वर्ष पर्याप्त हिउँ पर्ने र त्यो सँगै वर्षा पनि हुँदा पानीको अभाव हुँदैनथ्यो। वर्षा नभएपनि हिउँ पर्दा त्यही हिउँ पगालेर पनि पानी उपयोग गरिन्थ्यो। तर, अहिले यो सिजनमा एकपटक पनि अहिलेसम्म हिउँ परेको छैन। सबैतिर सुख्खा भएको छ। ‘न त वर्षा, न हिउँ केही छैन, सबैतिर सुख्खा भयो,’ गौतमले भने, ‘मूलमा पनि पानीको श्रोत कमजोर बन्यो, भएको पानी पनि बग्न पाएन। पाइपबाट बस्तीसम्म पुग्ने पानी पनि जमेको छ । पाइपबाट पानी आउँदैन।’  

गौतमका अनुसार अघिल्ला वर्ष हिउँदको समयमा कैयौं दिन हिडडुल नै गर्न नसकिने गरि हिमपात हुन्थ्यो। लामो समयसम्म हिउँ नपग्लिँदा आउजाउ नै रोकिन्थ्या। हिमपातसँगै वर्षा पनि हुन्थ्यो। तर, अहिले माघ मध्य कटिसक्दा पनि वर्षा र हिमपात भएको छैन। त्यसले गर्दा सबैतिर सुख्खा बढाएको छ। ‘यस्तै अवस्था हो भने अर्काे वर्ष यहाँ पानीको झनै हाहाकार हुनसक्छ। किनकी हामीले ट्यांकीमा संकलन गरेर पानी राख्नका लागि पनि मौका पाएका छैनौ। हिमपात र वर्षा नभएपछि संकलनका लागि पनि पानी भएन,’ उनले भने। गौतमका अनुसार मंसिरसम्म धारामा पाउने आउने गर्दथ्यो, त्यसपछि हिमपात र वर्षा हुँदा पानीको अभाव हुँदैनथ्यो, तर, अहिले वर्षा र हिमपात भएको छैन।

गौतमका अनुसार पदमार्गको ३६ सय मिटर उचाईमा होटल छन्। होटल भएको ठाउँलाई हाईक्याम्प भनिन्छ। त्यहाँ १४ वटा होटल छन्। होटल भएको हाईक्याम्पमा ४ हजार मिटर माथिको मूलबाट पानी ल्याएर उपयोग गरिएको थियो। तर, अहिले पानी आउन छाडेको उनले बताए। हाईक्याम्प भन्दा माथि ४२ सय मिटरसम्म पदयात्रामा जान सकिन्छ। तर, त्यहाँ होटल छैनन। ४२ सय मिटरको त्यो ठाउँलाई भ्यू प्वाइन्ट भनिन्छ।  जहाँ टि हाउस मात्र छन्। बसोबासका लागि व्यवस्था नभएकोले भ्यू प्वाइन्ट पुगेका पदयात्रीहरु बास बस्नका लागि हाइक्याम्पमै फर्किन्छन।  

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले पनि हिउँ र पानी नपर्दा समस्या भएको बताए। ‘हिउँ परेन, वर्षा पनि भएन। मूलको पानी बग्न नसक्ने गरि वहाव कमजोर बन्यो,’ उनले भने, ‘पर्याप्त पानी भए जम्न पाउँदैनथ्यो, तर, पानी नै कम भयो । पाइपमा बगेको पानी पनि जम्यो।’ गुरुङका अनुसार पदमार्गको एकमात्र पानीको श्रोत भनेको ४ हजार मिटर उचाइँको मूल हो। जहाँको पानीको श्रोत खुम्चिएको छ। वर्षा र हिमपात पानीको श्रोत नै कमजोर बनेको उनले बताए।

‘ट्यांकीमा पानी संकलन गर्न पनि कि त वर्षा हुनुप¥यो, कि हिमपात हुनुप¥यो, अहिले दुवै हुन सकेन,’ उनले भने। उनका अनुसार अहिले पर्यटनमा अफसिजन भएकोले यो बेला पदयात्रामा जाने पाहुना कम छन्। तर, दिनमा २० जनाको हाराहारीमा पाहुना पदयात्रामा गएको उनले बताए।  

मर्दीमा मात्र नभइ हिमपात र वर्षा नहुँदा मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा पनि सुख्खा भएको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। हिमपात नहुँदा उच्च भेगमा सुख्खापन बढेको उनीहरुले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङस्थित संरक्षण अधिृकत लेखनाथ गौतम भन्छन, ‘हिउँ नपरेपछि चिस्यान नै भएन, चिस्यान नभएपछि जमिन सुख्खा बनेको छ। वर्षा पनि नहुँदा झनै बढी जमिन सुख्खा भएको छ।’  

उनका अनुसार नियमित रुपमा वर्षा र हिमपात नभएपछि पानीको मूल सुक्ने जोखिम हुन्छ। अहिले माथिल्लो क्षेत्रमा मान्छे कम भएकोले पनि मूल सुके वा नसुकेको भन्ने जानकारी नपाएको उनले बताए। तर, सुख्खापन भने बढेको उनले बताए। ‘सुख्खापन बढेको छ। जमिन पनि सुख्खा भएको छ। त्यसैमाथि हावा पनि चलेको छ,’ उनले भने, ‘हावा चल्ने तर पानी नपर्ने र हिमपात नहुँदा सबैतिर उजाड देखिएको छ। हिमाली चुचुराको कालापत्थर देखिन थालेको छ।’  

गौतमका अनुसार हिमपात र पानी नपर्दा जमिन सुख्खा हुने र त्यसले खेतीपातीमा पनि मार पार्छ। किसानले खेतबारीमा हालेको मल पनि लाग्दैन। रोपेको खेती पनि फस्टाउँदैन । यतिखेर आलु, फापर खेती गर्ने बेला हो। तर, जमिन पुरै सुकेको छ। फागुनतिर सुरु हुने खेतीका लागि किसानले खेतबारी खनजोत गरेर तयार गर्न थालेका छन, तर, जमिनमा चिस्यान कतै नभएको उनले बताए। जमिन सुख्खा हुँदा आगलागीको त्रास बढ्ने एक्यापका गौतमले बताए।  

त्यस्तै एक्यापका लोमान्थाङस्थित कर्मचारी राम गुरुङले पनि सुख्खापन बढेको बताए। ‘अहिले नै पानीको श्रोत घटिसकेको त छैन, तर, यस्तै अवस्था रहे श्रोत कमजोर हुनेछन,’ उनले भने, ‘सबैतिर सुख्खापन मात्र देखिएको छ। पानी र हिमपात नहुँदा खेतीपातीलाई असर पार्नेछ। अहिलेको समयमा देखिएको सुख्खापनको प्रभाव केहीमहिनापछि खेतीपातीमा देखिने पक्का रहेको उनले बताए।  

प्रकाशित: १९ माघ २०७९ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App