coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कटारी ४ का वृद्धवृद्धा भत्ताबाट वञ्चित

कटारी नगरपालिका कार्यालय। तस्बिर: महेश्वर

वडा कार्यालयको सामान्य कमजोरीले कटारी नगरपालिका ४ का वृद्धवृद्धालगायत लक्षित वर्ग भत्ता पाउनबाट बञ्चित हुन पुगेका छन्। वडा कार्यालयले समयमा नविकरण नगरिदिदा झण्डै ६ दर्जन बढी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन्।

समयमा कार्डं (सामाजिक सुरक्षा किताव) नविकरण नगरेका कारण वडाका ७७ जना लक्षित वर्गका व्यक्तिहरुले दोस्रो त्रैमासिकको भत्ता पाउन नसकेको बताइएको छ। ३–३ महिना (त्रैमासिक)मा सरकारले निकासा दिने भत्ता पाउन नविकरण गर्नुपर्ने प्रावधान छ। जस अनुसार पछिल्लो त्रैमासिकको भत्ता लिनका लागि गएको कात्तिकमा नविकरण गर्नुपर्ने थियो। तर, वडा कार्यालयबाट नविकरण गर्न छुटेपछि यो त्रैमासिकको भत्ता छुटेको हो। 

लाभग्राहीहरु भत्ता लिन विहानको चिसो जाडोमा कठ्याङ्ग्रिदै लामो समय बैंकमा लाईन बसे पनि अन्तिममा रित्तो हात फर्कनु पर्दा कतिपय वृद्धवृद्धा र अपाङ्ता भएकाहरु आँखाभरी आँसु पार्दै फर्केको प्रत्यक्षदर्शीले बताए। कात्तिक मसान्तभित्र अनिवार्य कार्ड नविकरण गरिसक्नुपर्ने नियमानुसार वडा कार्यालयले जारी गरेको सूचना अनुसार वडामा आएर सचिवलाई भेट्दा आवश्यक प्रक्रिया नपुगेको भन्दै फर्काइदिएको पनि उनीहरुको गुनासो छ। प्रक्रिया नपुगेकाहरुलाई आवश्यक कागजात लिएर आउन भन्नुपर्नेमा केही नभनेपछि पहिलाजस्तै भत्ता पाउनेमा उनीहरु विश्वस्त भएर अहिले हिस्स हुनुपरेको वडाध्यक्ष भूपेन्द्रसिंह तामाङले बताए।

उनले सचिवले गल्ती गर्दा भत्ता पाउनबाट वञ्चित भएको भन्दै आफूसँग गुनासो गर्ने गरेको तामाङले बताए। लाभग्राहीहरुलाई भत्ता लिन सरकारले लागू गरेको सफ्टवेयर (सिस्टम) मा नामावली विवरण प्रविष्ट (ईन्ट्री) गर्न छुटेकाले यस्तो समस्या आएको तामाङले बताए। नविकरण गर्न लाभग्राहीहरु वडा कार्यालयमा आएको आफुले देखेको तर, के प्रक्रिया मिलेन भनेर सिस्टमले नलिएकाले अहिले भत्ता निकासा नआएको उनले बताए।

वडाध्यक्ष तामाङका अनुसार वडामा गत असारसम्म ६ सय २१ जनाले भत्ता लिएका थिए। पहिलो त्रैमासिकमा ४ सय ९८ जनाले मात्र भत्ता लिएको र यो त्रैमासिकमा ५ सय २० ले मात्र नवीकरण गरे अनुसार भत्ता लिएको उनले बताए। पहिलो त्रैमासिकभन्दा दोस्रो त्रैमासिकको तथ्यांक हेर्दा ९९ जना कम देखिएको उनले बताए। यसो हुनुमा कतिपय बसाई सराई गरेर गएको, कतिपयको निधन भएको हुनसक्ने पनि उनले बताए। भत्ता नपाउनेहरुको पीडा सुनेर नगरपालिकामार्फत पञ्जिकरण विभागमा पत्राचार गरेको तर, छुटेको ३ महिनाको रकम नआउने जानकारी पाएको उनले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले ४ नं. वडाका ७७ जना लक्षित समूहले यो त्रैमासिकको भत्ता नपाएको पुष्टि गरे। समयमा कार्ड नविकरण नभएकाले भत्ता नपाएको कुराको जानकारी नगरपालिकाले पञ्जिकरण विभागलाई लिखित रुपमा दिएकोे छ। उनका अनुसार ‘स्थानीय पञ्जिकाधिकारी’ कोसमेत जिम्मा पाउने वडा सचिवले नै कार्ड बनाउने, नविकरण गर्ने, प्रविष्ट र अद्यावधि गर्ने अधिकार पाएको हुन्छ। अद्यावधि गर्ने क्रममा कतिपयको बिबरण छुट्न गएकाले भत्ता नपाएको विषयलाई लिएर सचिव दिवश कार्र्कीलाई नगरपालिकाले स्पष्टिकरण सोधेको पनि किरातीले बताए।

आइन्दा यस्तो गल्ती नदोहोरियोस् भनेर स्पष्टिकरण सोध्ने तथा विभागलाई जानकारी गराएर कमजोरी सच्याउने काम वडाले गर्ने प्रमुख प्रशासकीय अधिकृत किरातीले बताए। कतिपयले वृद्ध भत्तावाटै परिवारको गुजारा चलाउँदै आएको पाइएकाले पनि यसप्रति गम्भीर हुनै पर्ने उनको बुझाई छ। भत्ता रकम नेपाल सरकारले माथिबाटै पठाउने भएकाले नगरपालिकाको स्रोतबाट दिन नमिल्ने पनि उनले बताए। अब नयाँ नविकरण गरेर पठाउँदा छुटेकाहरुको बिबरण पनि समेटेर अर्को त्रैमासिकदेखि भत्ता लिन मिल्ने बनाउने उनले बताए।

प्रकाशित: १९ माघ २०७९ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App