coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याद नाघेको सामग्री बेचेको पाइए सख्त कारबाही

विद्यार्थीले खाजा खान किनेको लेवल र उतपादन मिति नभएको बिस्कुट। तस्बिरः महेश्वर

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङले म्याद गुज्रेका उपभोग्य सामग्री बेच्ने व्यापारी व्यवसायीमाथि कडा कारबाहीको तयारी गरेको छ। जताततै म्याद गुज्रेका उपभोग्य बस्तुको बिक्री बितरण गरेको जनगुनासो बढेपछि बुधबार सू्रचना जारी गर्दै त्यस्ता सामग्री बेच्ने व्यापारी व्यवसायी कारबाहीको भागीदार हुनुपर्ने चेतावनी गाउँपालिकाले दिएको हो।  

मुकाम बाराहा, वडा कार्यालय आसपासका बिभिन्न बजार पसलहरुमा म्याद नाघेका उपभोग्य बस्तुहरुको बिक्री बितरण भईरहेको गुनासो बारम्बार आएकाले गाउँपालिकाले मानव स्वास्थ्यजस्तो अति संवेदनसिल विषयमा लापरबाही गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी सूचनामा दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत यागेन्द्रराज गुरुङद्वारा जारी सूचनामा गाउँपालिकामा म्याद नाघेका सामग्री बेच्ने गरेको उजुरी आएकाले तत्काल बजार अनुगमन थाल्ने भन्दै अनुगमन क्रममा म्याद नाघेको खाद्य तथा पेय पदार्थ बिक्री बितरण गरेको पाइए, भेटिए उनीहरुमाथि उपभोक्ता संरक्षण ऐन्, २०७५ बमोजिम कारबाही गर्ने उल्लेख छ।

‘बिभिन्न ठाउँबाट उपभोक्ताको गुनासो आउन थालेपछि हामीले तत्कालदेखि नै बजार अनुगमन गर्ने निर्णय गरेका छौँ’ अधिकृत गुरुङले भने ‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जुनसुकै व्यापारी व्यवसायी दण्डनीय र कारबाहीको भागीदार हुनेछन्।’ म्याद नाघेका सामग्री अनुगमन टोलीले बरामद गर्नुभन्दा पहिला आफैले नष्ट गर्न आग्रह गर्दै उनले अनुगमनको क्रममा भेटिए सामग्री नष्ट, ऐन अनुसार जरिवाना र अन्य कानुनले गरेको व्यवस्था अनुसार सबैखाले कारबाही गर्ने दृढता उनले व्यक्त गरे। पहिला गाउँपालिका आफैले स्थानीय बजारको अनुगमन गर्ने र नटेरे सदरमुकामबाट विषय विज्ञसहितको टोली झिकाएर संयुक्त अनुगमन गर्ने बताए।  

स्थानीयहरुका अनुसार गाउँपालिकाभित्रका बिभिन्न बजारका पसलमा म्याद नाघेका बग्रेल्ती समग्री भेटिने गरेको छ। बिस्कृट, चाउचाउ, मैदा, पिठो, मसला, पेय पदार्थलगायत उपभोग्य सामग्रीहरु जताततै म्याद नाघेको अवस्थ्मा भेटिने गरेको तर, त्यसप्रति कसैको चासो नरहेको उनीहरुको भनाई छ। बिकट पहाडी भेग भएकाले जिल्ला अनुगमन समितिको नजर नपर्नुका साथै उपभोक्तामा म्याद नाघे ननाघेको विषयबारे चेतना नभएकाले पनि यस्ता अखाद्य पदार्थहरुको खुलेआम बिक्री बितरण हुने गरेको स्थानीयहरु बताउँछन्।

बुधबार पनि उत्पादन मिति र उपभोग अवधि नै उल्लेख नभएको ‘एडगुरी २०’ नामक बट्टर कु्किज बिस्कुट भेटिएको थियो। स्थानीय एक विद्यालयका बालकले टिफीन खाजाको रुपमा पसलबाट किनेको विस्कुटमा उत्पादन मिति, उपभोग अवधि र लेबलसमेत उल्लेख नभएको भेटेपछि शिक्षकले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई खवर गरेका थिए। यसअघि पनि पटकपटक यस्ता म्याद नाघेका खाद्य सामग्री र औषधिहरु भेटिएको जनगुनासो व्यापक उठ्दै आउको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अनुगमन गर्ने अधिकार स्थानीयतहलाई नै दिइएको हुनाले गाउँपालिका, नगरपालिकाहरुले आफै अनुगमन गर्दा हुने बताए। तर, सहयोग मागे जिल्लाबाट विज्ञसहितको टोली पठाएर संयुक्त अनुगमन गर्न तथा म्याद नाघेका सामग्री बेच्नेलाई ऐन अनुसार कारबाही गर्न सकिने उनले बताए। प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समितिको व्यवस्था छ। जसमा खाद्य, प्िरवधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रहरी, घरेलु, स्वास्थ्य, स्थानीय उद्योग बाणिज्य संघ, विषयगत सरकारी कार्यालयका प्रतिनिधि तथा अधिकारकर्मी र पत्रकार  पनि सहभागी रहने व्यबस्था छ।  

प्रकाशित: १९ माघ २०७९ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App