१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जबाट कुहिएको मासु जान्छ डोल्पा

नेपालगन्जबाट कुहिएको अवस्थामा डोल्पा पुर्‍याइएको मासु । तस्बिर: नागरिक

नेपालगन्जका व्यवसायीले कुहिएको अवस्थामा पठाएको मासु डोल्पा प्रहरीले बरामद गरी नष्ट गरेको छ। नेपालगन्जबाट जहाजमा डोल्पा पुर्‍याएको तीन सय ९२ केजी मासु कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

नेपालगन्जका व्यवसायी तथा व्यक्तिहरूले डोल्पाका जुफाल, दुनै र त्रिपुराकोटका लागि नेपालगन्जबाट जहाजमा पाँच सय ७७ केजी मासु डोल्पा पुर्‍याएका डोल्पाका डिएसपी निरञ्जन थापाले जनाए। ‘विमानस्थलमा आएको मासु गनाउन (दुर्गन्ध) थालेपछि चेकजाँच गरेका थियौं’, उनले भने, ‘चेकजाँचका क्रममा तीन सय ९२ केजी मासु खान नमिल्ने गरी कुहिएको अवस्थामा भेटियो।’ उक्त मासु बरामद गरेर नष्ट गरिएको उनले जनाए।  खसीको ३४, बोइलर कुखुराको मासु दुई १८ र माछा एक सय ४० केजी कुहिएको अवस्थामा भेटिएको डिएसपी थापाले बताए। गाडीमा कुहिएको मासु भित्रिने सम्भावना भएपछि डोल्पा प्रहरीले गाडीबाट मासु ओसारपसार पूर्णरूपमा बन्द गरेको छ। ‘स्वच्छ मासु ढुवानी होला भनेर गाडीबाट पूर्णरूपमा रोकेर जहाजबाट मात्र ढुवानी गर्न पाइने व्यवस्था गरेका थियौं’, उनले भने, ‘तर जहाजबाट पनि कुहिएको मासु भित्रिएको भेटियो।’

डोल्पा प्रहरीका अनुसार नेपालगन्जको रिदम प्रेस हाउस, इन्द्र खत्री र गणेश रेग्मीले नेपालगन्जबाट डोल्पाका लागि मासु पठाएका थिए। रिदम प्रेस हाउसका सञ्चालक पूर्णबहादुर कठायतले भने कुहिएको मासु आफ्नो नभएको दाबी गरेका छन्। ‘मैले डोल्पा मासु त पठाउँछु’, उनले भने, ‘तर कुहिएको भनिएको मासु भने मेरो होइन। अर्कै व्यापारी पठाएका थिए। उनैको हो कुहिएको मासु।’

प्रकाशित: १९ माघ २०७९ ००:५३ बिहीबार